जागिर छाडेर चुनाव पनि हारियो तर मैदान छाडिन्न

जागिर छाडेर चुनाव पनि हारियो तर मैदान छाडिन्न

– गोपालचन्द्र राई

विगत र भविष्यको साँघु हो वर्तमान । दुईटैको लेखाजोखा गरी वर्तमानमा पाइला चाल्ने हो । यही पाइला चालिरहेको मलाई चिन्ता छ विगतभन्दा बढी भविष्यको । आफ्नोभन्दा बढी जिल्लावासीको । मुहार फेर्न चाहन्छु मुलुकको । हिजो बन्दुकको नाल बोकेर मुलुक परिवर्तनका लागि लडियो, आज जनप्रतिनिधि बनेर परिवर्तनकै लागि लड्न खोजेको हुँ । जुन समयको आवश्यकता पनि थियो ।

जनयुद्धदेखि सरकारी अफिसर हुँदासम्म थुप्रै चुनौतीका घुम्ती र पहाडसँग सिंगौरी खेलियो । हार खाइएन । देश र जनताको सेवामा तल्लीन भएर खटिरह्यो । २०४२ साल असोज १९ गते खोटाङको बतासे गाविस–१, दिनुवामा (साविक दिप्लुङ गाउँपालिका) मा जन्मिएँ । श्री जनता मा.वि. भण्डारी डाँडा, बतासेबाट माध्यमिक एसएलसी (हाल एसईई) छिचोलें । उच्च र स्नातक तहसम्मको अध्ययन सदरमुकाम दिक्तेलबाट पार लगाइयो ।

अध्ययनसँगै राजनीतिक करिअर पनि अगाडि बढाइरहेकै थिएँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्ष चलाएँ । २०६१ मा स्ववियुको सचिव भएँ र २०६३ मा सभापति बने । राजनीतिक पाटो एकातिर थियो तर,मेरा रुची थिए अनेकन् । २०५९ देखि पत्रकारितामा होमिएँ । थुप्रै पत्रिकामा कलम चलाएँ । ‘भावना’ साप्ताहिक, ‘जनविचार’ साप्ताहिक, रूपाकोट एफएम, ‘सप्तकोशी’ एफएम, ‘राजधानी’ दैनिक पत्रिका र एफएममा काम गर्दा थप परिचय र पहिचान बद्लियो । र, २०६५ सालबाट टाढिएँ पत्रकारिताबाट । तर एकखालको नशा रहेछ लेखन पनि । मेरालागि पत्रकारिता सोख थियो, साहित्य र संगीत भोक थियो । सानैदेखि कथा, कविता, गीत र गजल कोर्थें । त्यसो त खोटाङ भन्नेबित्तिकै साहित्य र संगीतको उर्वर भूमिकै रूपमा चिनिन्छ ।

२०६१ मा कलेज पढ्दा सहपाठी विजय राई ‘विरही’ सँग मिलेर कविता संग्रह निकालें । २०६३ मा सिक्किमका पूर्वमुख्यमन्त्री, संगीतकार तथा गीतकार पवन चाम्लिङसँग मिलेर गीत रेकर्डिङ गरें । ०६८ मा साथी नरेन्द्र निर्भिकारसँग मिलेर गीति एल्बम निकालें । जसमा ‘राइ इज किङ’ राजेशपायल राई, पवन चाम्लिङ, शिशिर योगी, मनीषा पाखरेल र विजय राईले स्वर भरिदिए । साहित्य र संगीतमा लागेर बाँच्न कहाँ सक्नु ? त्यसमाथि परिवारको कान्छो छोरो, बुवा आमा पाल्ने अभिभारा आफ्नै काँधमा थियो ! सोचें– ‘जागिर नखाइ भएन ।’ २०६८ सालमा विवाह बन्धनमा बाँधिएसँगै लोकसेवा आयोगको तयारीमा लागें ।

भाग्यले साथ दियो भनौं वा मिहिनेतले काम ग¥यो । पहिलो पटकको प्रयासमै नाम निस्कियो र, २०६९ चैत १ देखि लेखा अधिकृत भएँ । जागिरकै सिलसिलामा पोस्टिङ हुँदै संघीय राजधानी केन्द्र (बबरमहल, काठमाडौं) पुगे । जागिरमा रहँदा पनि कर्मचारीको हकहितका लागि लडिरहेँ निरन्तर । आयल निगममा माओवादीबाट ट्रेड युनियनको अध्यक्ष बनेर काम गरें । सरकारी जागिरमै रहँदा उपन्यास पनि लेखियो– भेटिएको डायरी । जहाँ जनयुद्धमा भोगेका कहालीलाग्दा दृश्यलाई शब्दमा उतारिएको छ । ०६९ चैत १ गते इन्धन डिपो धनुषाबाट जागिर शुरु गरेको थिएँ । सरकारी जागिरमा रहँदा पनि गाउँको सेवामा सदैव सरिक रहेँ । गाउँ, जिल्ला गइरहन्थें । विश्व समाज चन्द्रमामा पुगिरहेका बेला गाउँको आम जनजीवनबाटै परिवर्तनको खोलो बगाउनुपर्छ भन्ठान्थेँ ।

०६९ सालमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत बनेर ९ वर्ष, ८ महिना, १ दिन सरकारी सेवामा रहियो । बीचमा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश सदस्य रहें । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा होमिनुअघि वा उम्मेदवार बन्नुअघि धेरैपटक सोचें– ‘उम्मेदवार बनौँ कि नबनौँ ?’ अन्तिममा फैसला गरेँ– ‘जहाँ गए पनि जनताकै सेवा गर्ने हो, उठ्छु ।’ नभन्दै पार्टीले पनि मेरो क्षमता, योगदान र ऊर्जा देखेर सहजै टिकट दियो । २०७९ वैशाख ९ गते राजीनामा दिएर होमिएँ चुनावी प्रचार प्रसारमा ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलो पटक ०७४ मा भएको स्थानीय तह निर्वाचनले त्यस्तो कुनै मुहार फेर्ने चेष्टा गरेन । व्यवस्था फेरियो तर व्यवस्थापन हुँदै भएन । स्थानीय निर्वाचनको ५ वर्षे अवधिलाई समीक्षा गर्दा खासै जनताको जीवन फेर्ने परिवर्तन भएको देखिएन र त मैले अठोट लिएको थिएँ अब सही भिजन भएको नेतृत्वको खाँचो छ । नत्र सधैँ पछुताउनुभन्दा अरु हुनेवाला केही छैन ।

त्यसैले खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएको थिएँ । भलै परिणाम मेरो पक्षमा आएन, २ हजार ९३ मत प्राप्त गरेर तेश्रो बनें । मेरो पालिकाबाट नेपाल कम्युनिष्ट पार्टी एमालेका लोकेन्द्र राई २ हजार ८०३ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका नइन्द्र राई २ हजार १६२ मतसहित उपविजेता बनेका छन् । गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्तिमात्रै धनी तर समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एकजना व्यक्ति मात्र धनी हुन सक्दिनँ र चाहिन पनि ।

समाज परिवर्तन गर्ने मुख्य बाटो नै राजनीति भएकाले सरकारी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको थिएँ । फुत्तै आएर फुत्तै अस्ताउनु छैन मलाई किनकि खसेको कूल मत ७१५७ मध्ये मैले पाएको पालिका भरिको २०९३ मतदाताको संरक्षण गर्नु छ । मेरो पालिकामा माओवादीको नाम सुनेका तर गोपालचन्द्र राईको नाम नसुनेका थुप्रै मतदाता थिए । त्यही कारण मेरो पराजयलाई स्वाभाविक रूपमा लिएको छु । गोपालचन्द्र राईलाई चिन्नेले पनि माओवादी केन्द्र नचिन्दा सायद संगठन कमजोर रहेछ कि भन्ने मेरो बुझाई छ ।

कार्यकर्ता भनेको बलिरहेको मैनबत्ती रहेछ, जो आफू जलेर पनि सदैव अरुलाई उज्यालो दिइरहन्छ । यस्ता कार्यकर्ताको रक्षाको निम्ति मतदाताहरूकै घर र दैलोमा रहिरहनेछु । भोट नदिने तर यत्तिको बिद्वानले जित्नु पर्छ भन्ने सोच बोकेका दिप्रुङवासीको विश्वास जित्न पनि मैले सकारात्मक तथा रचनात्मक काम गर्नै पर्छ । एउटा अधिकृत स्तरको जागिर खाँदै ट्रेड युनियनमा काम गरेको सामान्य ठिटोलाई मुलुक परिवर्तन गर्ने गौरवशाली पार्टी माओवादी केन्द्रको तर्फबाट टिकट दिनु नै आफ्नो ठूलो उपलब्धि मानेको छु मैले ।

यस पटकको स्थानीय निर्वाचनमा कम्प्युटर अपरेटरबाट राजीनामा दिएकी समिता श्रेष्ठ काठमाडौं, शंखरापुर नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभयो । अधिकृतबाट राजीनामा दिएर बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कञ्चनराज गिरी १५८ मत ल्याएर पराजित हुनुभयो । उहाँले फेरि अधिकृतमै नाम निकालिसक्नुभएछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विष्णुप्रसाद भुषालले राजीनामा दिनुभएको हल्ला चल्यो ।

उहाँले नवलपुरको देवचुली नगरपालिकाबाट मेयरमा लड्ने बताउनुभएको थियो तर कांग्रेसले नपत्याएका कारण जागिरमै फर्कनुभयो । उहाँले राजीनामा दिनुभएको भनिए पनि सचिव सुरेश अधिकारीसमक्ष राजीनामाको पत्रै पुगेको थिएन । अर्का उपसचिव डोलराज पाण्डे पनि जागिरबाट स्वेच्छिक अवकाश लिएर पालिकामा लड्न लाग्नुभएको हल्ला चल्यो तर पार्टीले पत्याएन । पार्टीले पत्याएर टिकट पाए उम्मेदवार, नपाए जागिर भनेर लागेका पनि पनि देखियो कतिपय साथीहरूमा । तर म स्थायी जागिर छोडेर राजनीतिमा होमिएको हुँ ।

यसरी अधिकृतको जागिर छाडेर राजनीतिमा मोडिँदा कतिपयले अनेकन कुरा काटे तर मैले सुनिनँ दुनियाँको कुरा, सुनें त आफ्नै अन्तरमनको आवाज । हिँड्ने मान्छे नै लड्ने हो । नहिँड्ने मान्छे कहाँ लड्छ र ? अहिले पराजित भइयो त के भयो ? निर्वाचनमा लडेपछि जित–हार स्वाभाविक हुन्छ । हामी हारेर के भयो ? एजेण्डा किमार्थ हारेको छैन । हाम्रो एजेण्डालाई सदैव जनतामाझ लगिरहन्छौं । अर्काे स्थानीय तह निर्वाचनमा विजयी हुनेगरी आफ्नै गाउँ ठाउँमा काम गर्नु छ । हामी चाहन्छौं दुनिँया बदलियोस् तर होइन संसार बदल्न त सुरुवात आफैंबाट गर्नुपर्छ । पहिला आफू बदलिए पो बदल्न सकिन्छ दुनियाँ ।

टिप्पणीहरू