एमालेभित्रको “बा” एण्ड कम्पनी

एमालेभित्रको “बा” एण्ड कम्पनी

एमालेभित्र मौलाउँदै गएको “बा” प्रवृति स्थानीय तहको निर्वाचनमा छताछुल्ल भएर पोखिएको छ ।

आसेपासेबाहेक अन्यलाई नेता, कार्यकर्ता नै अस्वीकार गर्ने “बा” प्रवृति तल वडासम्म नै पुगेको थियो । तर निर्वाचनको हार आफ्नै भित्रकाले नराम्रोसंग चखाएका छन् । आफ्नैलाई हराउन पार्टी भित्रैबाटअन्तरघात भएको कुरा त “बा” ले अस्ति भनि नै सक्नुभयो । अब त सुषुप्त निगरानी र अनुसन्धान गर्ने रे । आफ्नै नेता,कार्यकर्ता पार्टी नेतृत्वसंग सन्तुष्ट छैन भने कसलाई के कारवाही गर्ने होला ? यदि पार्टी जीवन्त तरिकाले चल्थ्यो भने तत्कालिन नेकपा नै फुट्ने थिएन अझ भनौँ असन्तुष्टिका स्वरलाई सम्मान गर्ने समाधानको उपाय खोज्ने नियम हुन्थ्यो भने वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनालले बिद्रोह गरेर अर्को पार्टी निर्माण गर्नु पर्ने अवस्था नै बन्दैनथ्यो ।

पार्टीमा बस्नैपर्ने बाध्यता देखाउँदै आफ्नै पार्टीलाई भोट नदिएर गठबन्धनका उम्मेदवार जिताउन लागिपरेको अडियो,भिडियो छ्याप्छ्याप्ती भाइरल बने । बिभिन्न जिल्लामा त कार्वाही र निश्कासनको फेसन नै चलेको देखिन्थ्यो तर पनि नेतृत्व भने आफ्नो गलत प्रवृतिसंग सधैं गर्व गर्छ र भन्छ,हामी महान छौँ तब न जित्छौँ ! नयाँ पार्टी पुनर्गठन गर्दै गर्दा दोधारमा रहेका हजारौँ नेता कार्यकर्ताले न “बा”
कम्पनीलाई मनदेखि साथ सहयोग गर्न सक्छ न त नवगठित एकीकृत समाजवादीमा जान नै सकिन्छको अवस्थामा छन् ।

“न गरि खाने,न मरि जाने ” उखानसंग ठ्याक्कै मेल खाने रोग अहिले एमाले भित्रको “बा” प्रवृतिको बिरोध गर्नेमा देखिन्छ । बिरोध गरौँ बोलौं भने सिधै घाँटी थिचौँला झैँ गरी आउँछन् नबोलौँ भने भित्रभित्रै कुहिएर ठस ठस गन्हाइसकेको छ । छोडेर जाउँ धेरै ढिला भैसक्यो किनकि अगाडि जानेहरु धेरै टाढा पुगिसके र पार्टीको महत्वपूर्ण नेतृत्वमा छन्,आफू भने उही छि छि र दुरदुरको घिनलाग्दो अवस्थामा देख्दा कतै राजनीतिक डिप्रेसनको अवस्थामा पुग्ने त हैनन् भन्ने गम्भीर आशंका पैदा भएको छ ।

चाप्लुसी र गोडा मोल्नेहरुको बाहुल्यता पार्टीभित्र छ,बालकोटको बार्दली धाउनेहरु पुरस्कृत बन्ने अनि बर्षौसम्म पार्टीको पक्षमा रहेर काम गर्ने चाहिँ सधैं अवसरबाट बन्चित हुनु पर्ने बिडम्वना अहिले एमालेको “बा” प्रवृतिले सिर्जना गरेको छ। एउटा प्यारोडी गीत नै आएको छ नि ” सुभाष काका,शंकर दाइ,कति बस्छौ दासी भै बार्दलीको प्यासी बनेर “वास्तवमा अहिलेको यथार्थ पनि यहि हो।

“बा”को पार्टीभित्र “बा” को प्याराहरुलाई त आहा कति आनन्दित महसुस हुँदो हो ? भ्रष्टाचारी, घुसखोरी,बालुवाटारी,अर्ब अर्ब धारी, पानी ट्यांकी आहा “बा” लाई काण्डै काण्ड कति रमाइलो हुँदो हो ती काण्डधारीहरुसंग दिन रात बिताउँदा ? यो सत्य हो कि ‘बा’ संग अब बचे खुचेका यस्तै मान्छे मात्रै छन् ।

” बा” पनि के कम भन्या आफ्नो सम्पत्ति राज्यलाई बुझाइसकेको कुरा संसदमा बताउँदै हुनुहुन्थ्यो । कहाँ, कति राज्यलाई बुझाइयो त्यसको हिसाबकिताब त हुँदो होला नि !

पटक पटक संसद बिघटन गर्दै सरकारमा राज गर्ने ” बा ” ले त्यहि संसदबाट अरुलाई तीन घण्टा गाली गर्दै संसदको शोभा नै घटाइदिनुभयो । अरुको कुरै सुन्न नचाहने प्रवृतिले पछिल्लो पुस्तालाई कस्तो राजनीतिक संस्कार सिकाउने होला ?

टिप्पणीहरू