‘भ्वाइस कप युएसए’ मा झापाका प्रेम

‘भ्वाइस कप युएसए’ मा झापाका प्रेम

-लक्ष्मी काफ्ले

अमेरिकामा छायाङ्कन भइरहेको ‘मेरो भ्वाइस कप युएसए’ मा झापाली युवा प्रेम आङ्देम्बेले उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । झापाको शिवसतासी–६, हवल्दार चोक घर भएका प्रेम अमेरिकाको दोस्रो संस्करणको गायन रियालिटी शो ‘भ्वाइस कप’ मा छनौट भएका हुन् ।

अडिसन राउण्डमा प्रेमले कर्ण दासको गीत ‘त्यो प्रेमको बलिदान म कसरी भुल्न सक्छु’ गाएर निर्णायकहरुको मन जितेका थिए । दोस्रो राउण्डको ‘ब्लाइण्ड अडिसन’ पार गर्ने क्रममा उनले जगदीश समालको गीत ‘अलि अलि भन्दाभन्दै धेरै पिउने भइसकेछु’ गाए । अहिले तेस्रो राउण्डसमेत पार गर्दै अन्तिम १६ मा स्थान बनाइसकेका छन् । शनिवारको श्रृंखलामा चलचित्र कबड्डी–४ को गीत ‘आँखामा सपना केशरी’ प्रस्तुत गरे ।

कार्यक्रमका निर्णायकहरुले प्रेमको स्वर सशक्त रहेको र उनी धेरै अगाडि बढ्न सक्ने बताएका छन् । अब आउने राउण्ड पनि पार गर्न सके उत्कृष्ट १२ मा छनौट हुनेछन् । यो कार्यक्रमको उत्कृष्ट १२ मा छनोट हुनेलाई आयोजकले अमेरिकाबाट नेपाल ल्याउने छन् । उत्कृष्ट १२ जना प्रतिस्पर्धीलाई ल्याएर नेपालमै कार्यक्रम छायाङ्कन गरिनेछ । त्यसबाट आठ जनालाई बिदा गर्दै उत्कृष्ट चार जनालाई मात्र अमेरिका लगिने बताइएको छ । प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ भने अमेरिकामा नै हुनेछ ।

टप–१२ मा परेर नेपालसम्मको यात्रा गर्न सफल हुनेमा आफू ढुक्क रहेको प्रेमले बताएका छन् । बाल्यकालदेखि नै सांगीतिक क्षेत्रमा सक्रिय रहेका प्रेम केही वर्षयता श्रीमती सीता थुलुङसँग अमेरिकामा बस्दै आएका छन् । खासगरी उनी राष्ट्रभक्तिका भावनाले भरिएका शब्द गाउन रुचाउँछन् । नेपालमा छँदा प्रेमले तीन वर्षअघि ‘चाउचाउ’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतको म्युजिक भिडियोमा प्रेमसँग नायिका केकी अधिकारीले अभिनय गरेकी थिइन् ।

‘मेरो भ्वाइस कप युएसए’ सञ्चालन गर्न नेपालबाट अमेरिका पुगेकी रिमा विश्वकर्माले प्रेमलाई कार्यक्रममै सोधेकी थिइन्, ‘तपाईंलाई त पहिले पनि मैले यस्तै एउटा मञ्चमा भेटेकी थिएँ, तपार्इं अझै पनि गीत नै गाउँदै हुनुहुन्छ ?’ प्रेमले हाँस्दै जवाफ दिएका थिए, ‘चलिरहेकै छ ।’ कार्यक्रमका निर्णायकमध्येका एक जगदीश समालले गायनमा प्रेमको धेरै सम्भावना रहेको बताएका थिए ।

प्रतियोगिताको विजेताले र्याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भर कपसँगै नगद तथा उपहार पाउने आयोजक संस्था इन्टरनेसनल वेयलफेयर एन्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए । नेपाल बाहिर बस्ने नेपालीलाई नेपाली कला, संस्कृतिसँग जोडिराख्न यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

टिप्पणीहरू