‘भगौडा सैनिक’ लाई सेनाको परमाधिपतिबाट आममाफी

‘भगौडा सैनिक’ लाई सेनाको परमाधिपतिबाट आममाफी

सशस्त्र जनयुद्धमा सामेल हुन हतियारसहित नेपाली सेनाको क्याम्पबाट भागेर विद्रोह गरेको आरोपमा जन्मकैद सजाय भुक्तान गरिरहेका पूर्वजनमुक्ति सेनाका भगत चौधरी (झमक) जेलमुक्त भएका छन् ।

१५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ सय बढी कैदीलाई आममाफी दिँदा जन्मकैद सजाय भोगिरहेका झमक पनि जेलमुक्त भएका हुन् । मोरङको ग्रामथान गाउँपालिका २,रंगटोली घर भएका झमक मकवानपुरको भीमफेदी कारागारमा थिए ।

उनी २०६२ साल साउन ८ गते सँखुवासभाको चैनपुरस्थित नेपाली सेनाको क्याम्पबाट दुई थान हतियारसहित भागेर गणतन्त्रका लागि सशस्त्र जनयुद्ध गरिरहेको माओवादी जनमुक्ति सेनामा सामेल भएका थिए । जनमुक्ति सेनामा रहेर धेरै वटा लडाईं लडे र शान्ति प्रक्रियापछि वाइसीएलमा आवद्ध भएर निरन्तर पार्टीले दिएको कर्तव्य पूरा गरे ।

तर २०७४ मंसिर ८ गते उनलाई प्रहरीले विप्लव समूहमा लागेर सशस्त्र गतिविधि गरेको आरोपमा पक्राउ गर्यो । सुराकीले दिएको सूचनाको आधारमा प्रशासनले सेनाको भगौडा रहेको अर्थ लगाउँदै शान्ति प्रक्रिया विपरित नेपाली सेनालाई जिम्मा लगाएको माओवादी नेताहरुले बताउँदै आएका छन् । विद्रोह गरेको आरोपमा सैनिक अदालतबाट सर्वश्वसहित जन्मकैदको आदेश भएको हो ।

झमकले सर्वोच्च अदालतमा पुनरावेदनको निम्ति निवेदन हाले । तर सर्वोच्चले पनि सैनिक अदालतकै फैसला सदर गरिदिएको थियो ।

यता झमकका बृद्ध बाबु,आमा दुवै हाड जोर्नीका बिरामी छन् । पत्नी पनि पक्षघातकी बिरामी छन् । सुकुम्वासी परिवार भएकाले जीवन धान्न धौधौ छ । दुई जना दाजुभाइले अर्काको जमिन अँधिया गरेर जीवन गुजारेका छन् । १५ वर्षका छोरा सुशान्त मावली र ६ वर्षका सक्षम फुपुको घरमा बसेर पढिरहेका छन् । सुशान्त ब्लडक्यान्सरका बिरामी हुन् ।

शान्तिप्रक्रिया विपरितको मुद्दामा जन्मकैद सजाय दिनुलाई गैरकानुनी भन्दै झमकका आमा बुबाले पटक पटक छोरालाई आममाफी दिन सरकारसमक्ष अनुरोध गर्दै आएका थिए । अहिले उनै ‘भगौडा सैनिक’ लाई सेनाको परमाधिपति रहनुभएका राष्ट्रपतिबाट सरकारको सिफारिसबमोजिम आममाफी भएको हो ।

टिप्पणीहरू