अब एमालेले श्रृंखलाबद्ध क्षति व्यहोर्न तयार हुनुपर्छ

अब एमालेले श्रृंखलाबद्ध क्षति व्यहोर्न तयार हुनुपर्छ

– डा. सुरेन्द्र मानन्धर, एमाले नेता

दश भाइनिकट भएकै कारण बालकोटले कोही कार्यकर्तालाई कसरी भित्तैसम्म पु¥याउँछ भन्ने एउटा उदाहरण हुन् डा.सुरेन्द्र मानन्धर । एमालेको दशौं महाधिवेशनमा कोमल ओली, मोतीलाल दुगड, दुर्गा प्रसाईंजस्ता नवप्रवेशी केन्द्रीय कमिटीमा अटाइँदा सुरेन्द्रजस्ता बौद्धिक र संगठकहरू केन्द्रीय कमिटीबाट फालिए । तलैसम्म भिजेका नेताको रूपमा परिचित सुरेन्द्रले छैमलेदेखि नाङ्लेभारे, तारकेश्वरदेखि नागढुंगासम्म चाहारेर एमालेको संगठन विस्तार गरेका छन् । चाकडी होइन, आलोचनामा विश्वास गर्छन् । नेतृत्वका गलत प्रवृत्तिको खुलेरै आलोचना गर्ने सुरेन्द्र ०४३ सालमा पद्मरत्न तुलाधरको चुनावी अभियानसँगै राजनीतिमा होमिएका कीर्तिपुरका रैथाने हुन् । ०५७ का बीएलका नेपाल टपर उनले संवैधानिक कानुनमा पिचडी उपाधि हासिल गरेका छन् । कानुन व्यवसाय, प्राध्यापन पेशा र राजनीति एकै साथ अघि बढाइरहेका उनी ०७० सालमा संविधानसभाको उम्मेदवार थिए कीर्तिपुरबाट । प्रचण्ड तेस्रो हुँदा सुरेन्द्र दोस्रो भए । कांग्रेसका राजन केसीले जितेको ठाउँ हो त्यो । कुनै समय एमालेको लालकिल्ला मानिएको यो ठाउँ अहिले कांग्रेसकै पोल्टामा गएको छ । अध्यक्ष केपी ओलीले आफ्ना पिए राजेश बज्राचार्यको नातेदार केशरत्न बज्राचार्यलाई टिकट दिएसँगै कीर्तिपुर नगरपालिका गुमाउनुपरेको बताइन्छ । बालकोटले मनलाग्दी उम्मेदवार पठाएर भोटचाहिँ पठाउन नसक्दा स्थानीय तहको निर्वाचनमा एमाले खुम्चनुपरेको खरो टिप्पणी गर्छन् सुरेन्द्र । हिजो सत्तामा रहँदा गरिएका कतिपय गलत प्रवृत्तिको मतदाताले ब्यालेटमार्फत सबक सिकाएको उनी बताउँछन् ।

– हरि गजुरेल

तपाईंका लागि यो निर्वाचन परिणाम अपेक्षित थियो त ?

– हाम्रो व्यवहार, पार्टी नेतृत्वबाट भएका गतिविधि, उम्मेदवार छनोटसम्बन्धी काम–कुरा हेर्दा परिणाम यस्तै आउला भन्ने डर थियो । एमालेले अब जित्ने भनेको डेढ सयदेखि २ सय स्थानीय तहमात्र हो भन्ने मेरो अनुमान थियो । त्यो मिल्न आयो, यसमा साथीहरू आत्तिने वा डराउने गर्छन् तर मैले यसलाई अनौठो मानेको छैन ।

लालकिल्ला मानिने कीर्तिपुर गुमाउनुपर्दा कस्तो लाग्दैछ ?

– एकदमै पीडादायी । बालकोटले मनलाग्दी उम्मेदवार त दियो तर सँगसँगै भोट पठाउन सकेन । जथाभावी उम्मेदवार तोकेपछि भोट पनि पठाउन सक्नुप¥यो, कि जनतामा भिजेको उम्मेदवारलाई कायम गर्नुपथ्र्यो । काठमाडौंका जनताले यहाँका एमाले मेयर उम्मेदवारलाई चिनेको चार/पाँच दशक भइसक्यो तर बालकोटमा बस्ने नेताहरूले अझैसम्म उहाँलाई चिन्नुभएको रहेनछ ।

नेतृत्वले जनताको साइकोलोजी बुझ्न छाडिसकेको छ । भुइँ तहमा रहेका जनता र नेतृत्वबीचको सम्बन्ध जीवित रहेनछ भन्ने प्रमाण हो यो । नेतृत्व र जनताबीचको सम्बन्ध टुटेपछि यस्तै ठुल्ठूला दुर्घटनाको सामना गर्नुबाहेक अरू विकल्प हुँदैन ।

काठमाडौंसहित ६ वटै महानगरपालिकामा एमाले निल हुनुपर्ने स्थिति किन आयो ?

– ग्रास रुटमा खटेर हिँडेका कार्यकर्ताको यत्तिको उपस्थितिका बाबजुद यो स्थितिमा पुग्नु भनेको हिजोका दिनमा पार्टीले खेल्नुपर्ने भूमिका नखेलेको र नखेल्नुपर्ने भूमिका धेरै खेलेर हो कि ?

नेतृत्व गल्ती सच्याएर हिँड्नेमा अझै पनि आशावादी हुनुहुन्छ ?

– गल्तीबाट नसिक्ने हो भने श्रृंखलाबद्ध क्षति भोग्न तयार हुनुपर्छ । तत्कालै स्थायी र केन्द्रीय कमिटीको बैठक बस्ला भन्ने लाग्छ । यो बैठक राजनीतिक रूपमै अर्थपूर्ण हुनुपर्छ । हुलको केन्द्रीय कमिटी बैठकले अब काम गर्दैन । राजनीतिक रूपमा समीक्षा गर्न चुक्यौं भने अगाडिका दिन अझै चुनौतीपूर्ण छन् भन्ने आमकार्यकर्ताको बुझाइ छ ।

फेरि ठुल्ठूला दुर्घटना निकट भविष्यमा आउँदै छन् । हिजो कहाँ थियौं ? आज कहाँ छौँ ? दुई तिहाइ बहुमतको सरकार थियो तर आज कांग्रेसले धाँधली ग¥यो भन्ने ठाउँमा पुगेका छौं । दोस्रो स्थानको निम्ति हात थाप्नुपर्ने अवस्थामा छौं । दुई–दुई पटक संसद विघटन गर्नु असंवैधानिक कदम थियो ।

मतदाता संख्या त बढेछ नि !

– स्थानीय तहमा कति संख्या जिताउन सक्यौं ? यो महत्वपूर्ण प्रश्न हो । आत्मसन्तुष्टिका लागि सिट घटे पनि मत त बढेकै छ नि भन्ने कुतर्क गर्न सकिन्छ । यसबीच २६ लाख मतदाता पनि त बढेका छन् नि ! यस्ता कुतर्कले मन शान्ति पार्ने मात्रै हो ।

हिजो माधव, झलनाथको साथमा रहेका दश भाइनजिक भनिएकाहरू धेरैले टिकट पाएनन् । केहीले पाएको टिकट पनि खोसियो । दश भाइनिकट भएकै कारण तपाईंहरू एमालेमा कहिलेसम्म पेलिनुपर्ने ?

– एमाले भनेर हिँड्ने सयौं कार्यकर्तालाई यो बीचमा जुन व्यवहार भयो, हुर्मत लिन खोजियो । पार्टी अध्यक्ष जुन जिल्ला–जिल्लामा पुग्नुहुन्छ, त्यहाँ मान्छेको भीड लगाउन, मोटरसाइकल एस्कर्टिङ गरी गरी एमालेमा प्रवेश गराउनमा एमाले सफल त भयो तर सयौं, हजारौंको संख्यामा एमालेका लागि जीवन समर्पण गर्न तयार कार्यकर्ताहरूलाई पाखा लगाइयो ।

केही पाउने आशमा हुल बाँधेर आएकाहरूलाई आफ्नो शक्ति ठान्ने गल्ती एमाले नेतृत्वबाट भएको छ । संकटका समयमा ती हुल देखा पर्दैनन्, जसरी अहिले देखा परेनन् । एक पटक हेरौं त हाम्रो राजनीतिक जीवन, जिउ सिरि¨ हुने खालको छैन ? दशकौं दशक एमालेका लागि रगत, पसिना बगाएर संकटको समयमा समेत बचाएर यहाँसम्म ल्याउने कार्यकर्ताहरू आज कहाँ छन् ? नारद वाग्ले एक जनाबाहेक झापा संघर्षका एकसेएकहस्तीलाई कहाँ पु¥याइएको छ ? काठमाडौंमा एक से एक महिलाहरू थिएनन् ?

अघिल्लो दिनसम्म एमालेलाई हराउन स्वतन्त्र उठ्छु भनेको मान्छेलाई भोलिपल्टै उपमेयरमा उठाउने ? यो कस्तो राजनीति ? कसको के स्वार्थ ? नेतृत्वको अराजनीतिक व्यवहार, अदूरदर्शिता हो यो र निर्वाचन हार्नुको पहिलो कारण पनि हो । चुनाव हारेपछि नेतृत्वले टोल टोलमा बोक्सी खोज्दै हिँड्न सक्छ तर एक पटक आफैंमा गम्भीरतापूर्वक समीक्षा गर्न आवश्यक छ । हामीले के–के कुराको प्रभावमा परेर कस्ता–कस्ता नौरंगी व्यक्तिलाई उम्मेदवार बनायौं ?

माधव, झलनाथ, प्रचण्डहरूबाट छुटेपछिको क्षतिलाई नयाँ मान्छेहरू भिœयाएर पुर्ताल गर्ने कुरा आफैँमा कति व्यावहारिक देखियो ?

– ती मान्छेलाई राजनीतिकरण गर्न जरुरी थियो तर एमाले आफैं हुलमा रूपान्तरण भयो । वीरगञ्जमा हेरौं, नेपालगञ्ज, रंगेली र काठमाडौंमा हेरौं ! कति बिडम्बना ! एमालेजस्तो राजनीतिक पार्टीले यस प्रकारको अराजनीतिक व्यवहार गरेर राजनीतिक परिणाम खोज्नु गलत कुरा हो । विषवृक्ष रोपेर अमृत फल्दैन ।

यही परिणामका आधारमा भन्नुपर्दा अब प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमालेको हालत के होला ?

– एकातिर गठबन्धनको माहोल । त्यो साइकोलोजीले भूमिका खेल्यो । अर्काेतिर हाम्रा कमजोरी त्यत्तिकै बराबरीमा भए । त्यसलाई समीक्षा गर्ने मौकाका रूपमा जनताले लिए । प्रदेश र संघीय निर्वाचनमा कम्युनिष्ट पार्टी र देशभक्तहरूलाई एकैठाउँ गोलबद्ध गरेर अघि बढ्न सकेन भने परिणाम अझै दर्दनाक हुन्छ भन्ने आममान्छेको बुझाइ छ ।

मान्छेहरू भन्छन्– एमाले यो स्थितिमा आउनुको पछाडि १० बुँदे पक्षधर भनिने तपाईंहरूको पनि ठूलो हात छ । किनभने, माधव नेपालहरूलाई पुस ५ पछि चम्काउनुसम्म चम्काएर, अन्तिममा छोडेर हिँड्नुभयो । तपाईंहरूले शुरुमै माधव नेपाललाई नचम्काएको भए उनी पार्टी फुटाउने ठाउँमै पुग्दैनथे । फुटाएपछि तपाईंहरू माधव नेपालसँगै भएको भए आधा एमाले नै त्यता हुने रहेछ । यसबारे के भन्नुहुन्छ ?

– पार्टीभित्र नेतृत्वको जुन प्रकारको व्यवहार देखा प¥यो, त्यसविरुद्ध लड्न व्यक्तिगत र स्वयंसेवी ढंगबाटै अगाडि बढेका हौं । नवौं महाधिवेशनमा दुईवटा प्यानल थिए । संयोगले केपी कमरेडले जित्नुभयो, माधव कमरेडले सोचेजति मत ल्याउनुभएन । हामी पार्टीलाई महाधिवेशनले गाइड गरेअनुसार अघि बढाउनुपर्छ भनेर लडिरहेका थियौं । नेकपा गठन हुँदा पनि त्यही महाधिवेशनले गाइड गरेअनुसार बढ्नुपर्छ भनेर लड्दै आयौं ।

बीचमै पार्टी तीन टुक्रा बन्यो । घनश्याम भुसाललगायत हामी पार्टी विभाजनको पक्षमा थिएनौं । विसंगति र विकृतिविरुद्ध पार्टीभित्रै अन्तरसंघर्ष गर्ने हो भनेर डे वानदेखि लागिप¥यौँ । फागुन ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला हामीले नै डाकेका हौं सानेपामा । त्यहीं पनि नेताहरू पार्टी विभाजनको मुडमा हुनुहुन्थ्यो, हामीले विभाजन गर्न दिएनौं ।

केपी ओलीले ४० प्रतिशत पु¥याएर विभाजन गर्न खोज्दा माधव नेपाल र हामीले विरोध ग¥यौँ, पछि माधव नेपाललाई चाहियो भन्दैमा २० प्रतिशतले पार्टी विभाजन गर्न सकिने बनाइयो । आफूलाई चाहियो भन्दैमा कानुन नै संशोधन गर्नु राजनीतिक, संवैधानिक र कानुनी रूपमै गलत हो । जसको परिणाम साथीहरूले भोगिरहनुभएको छ ।

उसो हो भने माधव नेपाल लगायतकाले भोगेको परिणामप्रति खुशी हुनुहुन्छ ?

– होइन, असाध्यै दुःख लागेको छ । सबै कम्युनिष्टको एकताबद्ध प्रयासबाटै अबको चुनौती सामना गर्न सकिन्छ ।

अब के गर्दा एकता हुनसक्ने देख्नुहुन्छ ?

– सबैले अहं त्याग्नुपर्छ । नाङ्लो पसल थापेपछि साहुजी भन्छन् मलाई भन्ने भ्रमबाट सबै हट्नुपर्छ । आजसम्म भएका राजनीतिक व्यवहार खासगरी संसद् विघटनसम्बन्धी मुद्दालगायतबारे टेबुलमा बसेर खुल्ला कुरा गर्नुपर्छ ।

अरु कम्युनिष्ट पार्टी खिइँदै छन् भनेर एमाले मख्ख पर्न आवश्यक छैन । माओवादीले साइज बढाएन र ! बरु एमालेको अस्तित्वचाहिँ असाध्य ठूलो संकटमा पर्दै गएको कुरा जनताले बुझ्दै गएका छन् । यो कुरा नेतृत्वले त झन् बुझ्न ढिला गर्नुहुन्न ।

दशौं महाधिवेशनमा दुर्गा प्रसाई, कोमल वलीहरू नेतृत्वको प्यारा भए । टंक कार्की, नरेश खरेल र तपाईंजस्ता संगठक, बुद्धिजीवीहरूले त्यहाँ ठाउँ पाउनुभएन । कसरी लिनुभएको छ यसलाई ?

– उहाँहरू जस्तो महान् मान्छे अटाइरहेको समयमा मजस्तो यो पार्टी भनेरै जीवन–जवानी लगाएको मान्छे अटिएन । पार्टी अध्यक्ष केपी ओलीलाई मैले भनेको हुँ, अहिले पनि चुनौती छ, विद्यमान केन्द्रीय कमिटीका सबै साथी रहने, नयाँ सदस्य थप्ने गरौं तर उहाँलाई आफ्नै कमिटीप्रति घात गर्न केही सोध्न परेन । गोजीका मान्छेले भरेर पार्टी आफ्नो ढंगले लान खोज्नुभयो ।

उहाँलाई मेरो सोधाइ छ, उहाँ ७० कटेर पनि रहने, सुरेन्द्र मानन्धर र अरू साथी नअटाउने किन ? उहाँ महाधिवेशनभन्दा माथिको मान्छे हो ? आज ती अराजनीतिक गतिविधि, संविधानमाथि गरिएको खेलाँचीको शिकार विस्तारै हामी बनिरहेका छौं । हिजो कष्ट गरेका, जेल नेल भोगेका साथीहरूको अपमान गर्दै नयाँ दलाल, व्यापारी (जसको आयस्रोत पारदर्शी छैन) भर्दै लगिएको छ । लेनदेनकै नाममा हो वा अरु नाममा ? पार्टी संकटमा पर्दा केपी ओलीसँग रहन्छन् कि रहँदैनन् ती ! हामी त केपी ओलीलाई संकटमा पर्दा पनि साथमा छौं ।

आन्दोलनप्रति असाध्य प्रेम, स्नेह छ । यो आन्दोलन जोगाउन चाहन्छौं हामी । पछि घुसपैठ भएका तथाकथित नेतृत्वप्रति यो आन्दोलनको कुनै माया छैन । उनीहरू आन्दोलन बिगार्न भनेर आएका हुन् । हामी तिनीहरूबाट जोगाएर साँच्चै जनताको एमाले बनाउन चाहन्छौं ।

टिप्पणीहरू