खेलाडीलाई रुवाएर लाखौंको यार्सागुम्बा खरिद

खेलाडीलाई रुवाएर लाखौंको यार्सागुम्बा खरिद

२१ औं साधारण सभाको संघारमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा यतिबेला खेल र खेलाडीका विषयभन्दा यार्सागुम्बाको चर्चा चुलिएको छ ।

हालै मात्र स्पोर्ट क्षेत्रबाटै सन्चालित ‘चेन्ज एन्फा’ नामको फेसबुक पेजमा वर्तमान अध्यक्ष तथा आसन्न निर्वाचनबाट दोहोरिन खोजेका कर्मा छिरिङ शेर्पाविरुद्ध एउटा चोटिलो पोष्ट सार्वजनिक भएको छ । ‘राष्ट्रका लागि दिन रात रगत पसिना बगाउने खेलाडीहरुले राम्रो खान पान र बस्ने ठाउँको व्यवस्था गरिदिनुस् भन्दा अपमानित गरेर टिमबाट निकाल्ने,तर पदाधिकारीका लागि ८० हजार रुपैयाँको यार्सागुम्बा किनेर भुक्तानी दिने कर्मा प्यानलका वरिष्ठ उपाध्यक्ष उम्मेदवार शिक्षित पराजुली, आर्थिक समितिका प्रदेशसिंह राठौर उम्मेदवार अनि एन्फाको आजीवन महासचिव हो जस्तो गर्ने इन्द्रमान तुलाधरले यसको जवाफ दिने कि ? “सुशासनसहित भ्रष्टाचारको नमूना’ लेख्दै यार्सागुम्बा किनिएको एउटा बिल सार्वजनिक गरिएको छ ।

प्राप्त बीलमा एस.एन.एम. इन्टरनेशनल प्रालि, ज्याठासँग प्रतिग्राम एक हजार रुपैयाँका दरले ८० ग्राम यार्सागुम्बा खरीद गरी ८० हजार रुपैयाँ भुक्तानी गरेको प्रमाण सार्वजनिक भएपछि खेल र खेलाडी क्षेत्र मात्र नभई सारा खेलप्रेमी र सरोकारवालाहरुले प्रश्न उठाएका छन् । एकातिर खेलाडीहरुले आधारभूत आवश्यकता शुध्द खाने पानी,पोषणयुक्त खाना र स्तरीय आवासको माग गर्दा कार्वाहीको शिकार भएका छन् भने अर्कोतिर लाखौंको यार्चागुम्वा खरीद प्रकरण र त्यसको प्रयोग कहाँ,कसले र कसरी गर्दैछ भन्ने चर्चा चुलिएको छ ।

विशेष सूत्रका अनुसार यार्सागुम्बा खरिद कार्य यो पहिलो पटक नभएर पटक पटक भएको छ । यस सवालमा जानकारी लिन खोज्दा अध्यक्ष र महासचिवले एक आपसमा टाउको हालाहाल गरेर एकले अर्कोलाई देखाई पन्छिने गरेका छन् ।
पछिल्लो पटक गत कात्तिक ५ गते ८० ग्राम यार्चागुम्बा खरिद गरेको बील र एन्फाबाट पास भएको भुक्तानी पत्र सार्वजनिक भएपछि नेपाली खेल जगतमा एन्फाभित्रको पछिल्लो बेथिति छरपष्ट भएको हो । एन्फाका फाइनान्स डाइरेक्टर निरञ्जन शाह अध्यक्ष शेर्पाका ज्वाईं नाता पर्ने भएकोले पनि एन्फाभित्रको अनियमिततामा अध्यक्षको पक्षमा सहयोग भएको देखिन्छ ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरसँग जिज्ञाशा राख्दा उनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

यौनवर्धक औषधि मानिने बहुमूल्य यार्सागुम्बा एन्फाले कसका लागि किनेको हो भन्ने कौतुहलता अहिले सामाजिक सञ्जालमा व्याप्त छ ।

एन्फाका अध्यक्ष शेर्पा, एन्फाको आजीवन महासचिव हो जस्तो गर्ने इन्द्रमान तुलाधर र वर्तमान कार्यसमितिले यसको जवाफ दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

विदेशीहरूलाई उपहार दिनको लागि खरिद गरेको भन्ने हल्का जवाफ दिएर शेर्पाले आफ्नो पक्षको बचाउ गर्न खोजे पनि सिंगो खेल र खेलाडीहरु त्यसबाट सन्तुष्ट नभएको बताउँछन् । उनीहरु भन्छन्-कुन विदेशी पाहुनालाई कति परिणाममा,कति पटक दिईयो त्यसको जवाफ चाहियो ।

फिफा र एएफसीले आर्थिक अनियमितताको प्रश्न उठाउँदै आर्थिक प्रतिवन्ध लगाईएको एन्फामा नेशनल क्लबहरुले न त पुरस्कार राशी पाएका छन् न खेलाडीले सेवा सुविधा नै । उता जिल्ला संघहरुले बार्षिक रुपमा पाउने घरभाडा र जिल्ला लिग प्रतियोगितावापतको रकमसमेत प्राप्त गर्न सकिराखेका छैनन् भने एन्फाले करिव १३ करोड बराबरको रकम बजारमा भुक्तानी गर्नपर्ने देखिन्छ । यस्तो अवस्थामा लाखौं मूल्यको यार्चागुम्बा खरिद गरी अध्यक्ष लगायत पदाधिकारीले सिंगो खेल क्षेत्रको बद्नाम गरेको भन्दै यसको सत्य तथ्य छानविन हुनुपर्ने माग सर्वत्र शुरु भएको छ ।

आसन्न साधारणसभाको लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फा कार्यसमितिभित्रकै दुई परस्पर विरोधी प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

टिप्पणीहरू