अन्तर्जातीय विवाह गर्ने जोडीलाई ३ लाख पुरस्कारको माग

अन्तर्जातीय विवाह गर्ने जोडीलाई ३ लाख पुरस्कारको माग

शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले अन्तर्जातीय विवाह गर्ने जोडीलाई तीन लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिन प्रदेश १ का मुख्यमन्त्री र अर्थमन्त्रीसँग माग गरेको छ ।

जनता समाजबादी पार्टी निकट शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला मन्त्री ईन्द्रबहादुर आङ्बोलाई ज्ञापनत्र बुझाउँदै अन्तर्जातीय विवाह गर्ने जोडीहरुलाई प्रोत्साहन र व्यवस्थापनको निम्ति तीन लाख रुपैयाँ पुरस्कार दिन माग गरेको हो ।

शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राई र आर्थिक मामिला मन्त्री आङ्बोलाई भेटेर प्रदेश सरकारमा दलितलाई सहभागी गराउन र प्रदेशस्तरीय दलित विकास समिति गठन गर्न पनि विशेष माग गरेको छ ।

यसैगरि प्रदेश १ का दलितलाई सबै निकायमा समानुपातिक समावेशी आधारमा नियुक्ती गरिनुपर्ने, भूमिहीन दलितलाई भूमि र बेरोजगारहरुलाई प्राविधिक तालिमको व्यवस्था गरिनुपर्ने, दलित विद्यार्थीहरुलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिनुपर्ने माग पनि शिल्पी राष्ट्रिय समितिको छ ।

अध्यक्ष दलमर्दन कामीका अनुसार प्रदेशमा दलित संग्रहालय र साँस्कृतिक विद्यालय स्थापना गर्न तथा दलितहरुको परम्परागत पेशाको संरक्षण गराउन र वैदेशिक रोजगारमा जाने दलितहरुलाई बिनाधितो ऋण उपलब्ध गराउन पनि माग गरिएको छ ।

यसैगरि संसदबाट देश छुवाछुत मुक्त घोषणा भएको दिन २१ जेठलाई छुवाछुतविरुद्धको राष्ट्रिय दिवस घोषणा गरेर सार्वजनिक बिदा दिन पनि प्रदेश सरकारलाई शिल्पी समितिले विशेष आग्रह गरेको छ ।

टिप्पणीहरू