केपी ओलीले ढाँटेको एकै रातमा पुष्टि

केपी ओलीले ढाँटेको एकै रातमा पुष्टि

प्रमुख प्रतिपक्षी नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधन चर्चामा छ । आर्थिक वर्ष ०७९/८० का लागि सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नुभएका ओलीले असान्दर्भिक विषय कोट्याएर आफ्नो आत्मप्रशँसामा तीन घण्टा बोलेपछि चर्चासँगै आलोचना पनि भैरहेको छ ।

शुक्रवार संसद बैठकको प्रारम्भमै सँबोधनका लागि रोष्ट्रममा पुग्नुभएका अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको भन्दै बसेर बोल्न अनुमति माग्नुभएको थियो । सभामुखले अनुमति दिएपछि कुर्सीमा बसेर भाषण गर्न थाल्नुभएका उहाँले तीन घण्टासम्म एकोहोरो आफू र आफ्नो पार्टीको प्रशंसा र अरुको आलोचना गर्नुभयो ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बोल्नुभएका ओली पार्टीको चुनावी सभामा भाषण गरेको शैलीमा प्रस्तुत हुनुभएको थियो । विषयवस्तुबाट मोडिएर उहाँ अन्यत्रै पुगेपछि अगाडि बसेका माननीयहरु कोही हाई काढ्दै जवर्जस्ती सुनिरहेका थिए भने उपमहासचिव प्रदिप ज्ञवालीसहित कोही कुर्सीमै घुरिरहेका थिए ।

एमालेकै केही सांसद पट्यार मानेर बैठक हलमा बाहिर-भित्र गरिरहेको पनि देखिन्थ्यो । केही माननीय मोबाइल चलाइरहेका थिए । आफ्नो तीन घण्टे सँबोधनका क्रममा ओलीले सरकार र सत्ता गठबन्धनका शीर्ष नेताहरुको विरोधमात्रै गर्नुभएन गैरराजनीतिक टिप्पणीसमेत दिनुभयो । आफूलाई सर्वमान्य नेताको रुपमा प्रस्तुत गर्दै उहाँले भारतका अटलबिहारी बाजपेयीसंग तुलना गर्नसमेत भ्याउनुभयो ।

अझ रोचक कुरा चैं आफ्नो सारा सम्पत्ति राज्यको नाममा गरिदिएको भन्दै ओलीले आफूलाई त्यागी नेताका रुपमा चिनाउन प्रयास गर्नुभयो । आफू र श्रीमती राधिका शाक्यको नाममा भएका सबै जायजेथा राज्यको नाममा गरिदिएको ओलीले दावी गरेपनि कुन ठाउँमा रहेको कति जग्गा दिएको हो भन्ने प्रष्ट छैन ।

बरु उहाँको तेह्रथुमस्थित जग्गा हदबन्दीभन्दा धेरै भएकाले राज्यले जफत गरेको पाइएको छ । तेह्रथुम आठराईमा केपी ओली ट्रष्टको नाममा रहेको १४३-१४-१-० क्षेत्रफल जग्गा हदबन्दीभन्दा बढी रहेकाले जिल्ला मालपोत कार्यालयले सरकारको मातहतमा ल्याउने निर्णय गरेको भेटिएको हो ।

‘केपी शर्मा ओली ट्रष्टका नाममा दर्ता भएको तेह्रथुमको साविक आठराई गाविस-४ र ५ स्थित १४३-१४-१-० क्षेत्रफल जग्गा भूमिसम्बन्धी ऐन २०२१ को दफा ७ बमोजिम हदबन्दीभन्दा बढी रहेकोले नेपाल सरकारको स्वामित्वमा आउने ठहर भई निवेदकले फाँटबारीमा नेपाल सरकारमा कायम होस् भनी पेश गरेको तपसिल बमोजिमको जग्गा केपी शर्मा ओली ट्रष्ट नेपालबाट नेपाल सरकारमा कायम गर्नुहुन अनुरोध छ’, गत वर्षको असार २१ गते जिल्ला कार्यालयले मालपोत कार्यालय संक्रान्तिबजारलाई लेखेको पत्रमा उल्लेख छ ।

जमानामै तेह्रथुम छोडेर झापा झर्नुभएका ओलीको अहिले भक्तपुरको बालकोटमा एकै ठाउँ दुईवटा बंगला छ । तेह्रथुमको बाँदर लड्ने भीर राज्यलाई दिनुभएका उहाँले यताको महँगो जग्गामा बनेको घर भने आफैँले उपभोग गरिरहनु भएको छ ।

टिप्पणीहरू