चीनले नयाँ आशा जगायो चितवनमा

चीनले नयाँ आशा जगायो चितवनमा

चितवनको भरतपुर–१५, मंगलपुरनिर देवीचोकको बाटो छेउमै छ,करिब सात एकड जमिनमा फैलिएको न्यू होप एग्रो बिजनेश नेपाल प्रा। लि। । चाइनिजहरुले चलाएको कम्पनी हो यो । विश्वका १७ भन्दा बढी देशमा न्यू होपका उद्योग सञ्चालित छन् । नेपालमा सन् २०१४ मा दर्ता भएर २०१७ बाट दाना उत्पादन थालेको यो कम्पनीले छोटो समयमै राम्रो प्रगति गर्न सफल भएको छ ।

शुरुमा चितवनलाई नै आधार बनाएर कुखुराको दानाबाट उत्पादन थालेको न्यू होपले क्रमशः गाईभैंसी,सुँगुर बंगुर र पछिल्लो समय माछाको दाना पनि उत्पादन गर्दैछ । न्यू होप ब्रान्डका दाना चितवन बाहिर पनि नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न शहर–बजारमा बिक्री–वितरण भइरहेको छ । नेपालमा यस कम्पनीको अहिले २०० भन्दा बढी डिलर रहेको बताइन्छ ।

‘सबैभन्दा बढी बिक्री चितवनमै छ’, कम्पनीकी सिनियर सेल्स अफिसर सुनिता मल्लले भनिन्,‘त्यसपछि काठमाडौं,पोखरा,वीरगञ्ज,सर्लाही, इटहरी,बुटवल,भैरहवा,बर्दिया लगायत पूर्वको झापादेखि पश्चिम नेपालगञ्ज,दाङ्गसम्म हाम्रो उत्पादनले बजार लिएको छ ।’ पूरै नेपालभरि नै बजार विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको एड्मिन अफिसर भवानी चालिसेले बताइन् ।यो कम्पनीले सबैभन्दा बढी ब्रोइलर,लेयर्स र गिरिराजकै दाना उत्पादन गर्दै आएको छ । न्यू होपको दाना खुवाएपछि कुखुरा छिटो बढ्ने, अण्डाको साइज,कलर र पर्सेन्टेज पनि राम्रो भएको प्रतिक्रिया ग्राहकहरुबाट पाइएको उनीहरु बताउँछन् । न्यू होपद्वारा उत्पादित गाईभैंसी र सुंगुर बंगुरको दानामा पनि ग्राहकहरुको आकर्षण बढिरहेको उनीहरुले बताए । माछाको दाना उत्पादन थालेको भर्खर २–३ महिना मात्र भएको कम्पनीले बताएको छ ।

सबै गरेर दुई वटा प्यालेटबाट अहिले दैनिक ३०० टनको हाराहारीमा दाना उत्पादन हुने गरेको प्रोडक्सन अफिसर कमलेश सिंहले बताए । यो कम्पनीले गुणस्तरमा एकदम ध्यान दिएर काम गरिरहेको उनी बताउँछन् । मकै,ब्रोकन राइस,भटमास पिना, तोरी पिना र गहुँ दाना उत्पादनका कच्चा पदार्थ हुन् ।

नेपाल,भारत, चीन र युएसबाट समेत कच्चा पदार्थ ल्याएर चितवनमा दाना उत्पादन गर्दै आएको न्यू होपले आयातित कच्चा पदार्थ कम्पनीको ल्याबमा परीक्षण गर्दा कम्पनीको स्टान्डर्डअनुसार भएन भने त्यसलाई झार्दै नझारी फर्काउने गरेको सिंहले बताए ।

‘हामीले किन्ने कच्चा पदार्थ अरु कम्पनीले पनि किन्छन् । तर हामी जति पनि कच्चा पदार्थ ल्याउँछौं, फरक किसिमले ल्याउँछौं’, कम्पनीका पर्चेज एसिस्टेन्ट म्यानेजर ज्ञानेन्द्र शर्मा पौडेल भन्छन्, ‘जस्तै एउटा ट्रकमा ३०० बोरा छ भने हामी ३०० बोरा नै परीक्षण गरेर मात्र कच्चा पदार्थ प्रयोगमा ल्याउँछौं । खराबी भेटिएका एउटा पनि राख्दैनौं, सबै फर्काइदिन्छौं । उत्पादित माल पनि मिहिन रुपमा गुणस्तर परीक्षण गरेर मात्रै बजारमा पठाउँछौं ।’ आवश्यकता हेरी फिल्डमा पनि कम्पनीका भेटेरिनरी डाक्टरहरुबाट दानाको परीक्षण हुने गरेको उनले बताए । यो दाना कम्पनीमा कतै पनि कुनै किसिमको दुर्गन्ध वा फोहोरमैला देखिँदैन । स्टोर,गोदाम,अफिस, कारखाना सबैतिर सरसफाइ चकाचक छ ।

अहिले यहाँ डेढ सयभन्दा बढी नेपालीले रोजगारी पाएका छन् । झण्डै २०० जना कामदार–कर्मचारी रहेकामा १० जना चिनियाँ र अरु सबै नेपाली रहेको एड्मिन अफिसर भवानीले बताइन् । चिनियाँहरुको आत्मीय व्यवहार र कम्पनीको सेवा–सुविधाबाट कामदार–कर्मचारीहरु सन्तुष्ट रहेको बताउँदै पर्चेज अफिसर गंगा तिमिल्सिनाले भनिन्,‘अन्य फिड मिलको तुलनामा हामी सन्तुष्ट छौं, खुशी नै छौं ।’ सम्पूर्ण कामदार–कर्मचारीहरुको स्वास्थ्य बीमा र सञ्चयकोषको समेत व्यवस्था गरेको यस कम्पनीले बिरामी पर्दा वा आफन्त मर्दा छुट्टी दिने तर तलब नकाट्ने बताउँदै कर्मचारी भन्छन्, ‘तलब दिन पनि कहिल्यै ढिलाइ गर्दैन,नियमित रुपमा हरेक महिनाको ७ तारिखमा तलब पाउने गरेका छौं ।’

नजिकै घाँस फ्याक्ट्री,क्यान्सर अस्पतालमा चिकित्सकीय सेवा,दाना उध्योग,दायाँबायाँ मकवानपुर,धादिङ्ग र नवलपुरमा ठुल्ठूला सिमेन्ट कारखाना र वीरगन्जमा मासु उत्पादन९यो क्षेत्रमा क्रमशः व्यापक चिनियाँ लगानी भित्रँदो छ । निश्चित हो,यसले राजश्व र रोजगारीमा नेपाललाई सकारात्मक योगदान दिनेछ ।

पोल्ट्रीको राजधानी चितवन ‘एग बास्केट’को रुपमा पनि कहलिएको जिल्ला हो । पोल्ट्री फर्म र दाना कम्पनीहरु यहाँ धेरै छन् । मध्य भागमा रहेको चितवनबाट देशका अन्य ठाउँमा पुग्न पनि सजिलो छ । त्यसैले नेपालमा चितवनलाई नै छनौट गरेर उद्योग स्थापना गरिएको न्यू होपले जनाएको छ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै माथिल्लो श्रेणीमा छ हाम्रो कम्पनी ।’ चितवनस्थित यस कम्पनीको सञ्चालक समितिमा नौ जना चिनियाँ छन् । चाइनिज टिमको कामप्रतिको निरन्तरको लगाव र मेहनत नै यसको सफलताको कारण रहेको शर्मा बताउँछन् ।सुरुवात भएपछि कम्पनीले धेरै कठिनाइहरु,जस्तै गम्भीर कोरोनाको महामारी,कच्चा पदार्थको अभाव,आर्थिक दबाब खेप्नुपरेको म्यानेजिङ डाइरेक्टर चौउ कोयुले बताए । स्थिर गुणस्तरीय उत्पादन हाम्रो मुख्य जड हो , हामीले कच्चा पदार्थको स्रोतबाट सुरुवात भएर निरन्तर चुस्त र उच्च स्तरीय व्यवस्थापनबाट गुणस्तरीय उत्पादन जारी राखेका छौं ।

प्राविधिक सेवाहरुलाई बलियो बनाई हाम्रा ग्राहक र किसानहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्दै उनीहरुसँग साझेदारीको रुपमा काम गरी जीत हासिल गर्न अगाडि बढेका छौं’,उनले भने,‘कम्पनीको नयाँ विकास योजना पहिलो,दानालाई गुनासोरहित एक नम्बरको उत्पादन बनाउने हाम्रो मुख्य रणनीति हो । दोस्रो,हामीसँग कुखुराको चल्ला हुनु आवश्यक छ,हामीलाई आफ्नै चार लाख प्रजनन कुखुरा र ३० मिलियन सेतो फेदर कुखुराको वार्षिक आपूर्ति चाहिन्छ । त्यसपछि यसको प्रजनन् विकास,जसले निश्चित लगानी नगरी भण्डारण प्रतिस्थापनको विकास गर्न सक्छ ।

वार्षिक एक करोड ब्रोईलर उत्पादन गर्ने योजना छ । अन्तमा हाम्रो आफ्नै बधशाला र चिस्यान उद्योग हुनेछ । यसरी नेपालमा यस कम्पनीले नेपालको सबैभन्दा ठूलो पूर्ण औद्योगिक शृंखलाको सिर्जना गर्नेछ ।’ १० मिलियन डलर लगानीमा सञ्चालित यस कम्पनीको अहिले एक लाख २० हजार टनको वार्षिक उत्पादन र ३० मिलियन डलरको वार्षिक राजस्व रहेको एमडी चौउ बताउँछन् ।

उनी कोरोना कहरवीच नेपाल आएको डेढ बर्ष मात्रै भयो । आउनासाथ यस्तो एग्रीसिभ मार्केटिङ गरे कि कम्पनी घाटाबाट क्रमशः उक्सिन लाग्दैछ । यहाँका चिनियाँ हाकिमजस्ता लाग्दैनन् । आम मजदुरसरह फिल्डमा आफै खटिएर काम गर्नु उनीहरुको प्रगतिको निशानी हो । त्यसो त कम्पनीको मूल मन्त्र नै छ: १.सेनाको जस्तो अनुशासन २.स्कूलको जस्तो सिकाइ र ३.परिवारको जस्तो मेलजोल ।

टिप्पणीहरू