कार्की श्रीमानहरु मुद्दा नहेरी कैलाशतिर

कार्की श्रीमानहरु मुद्दा नहेरी कैलाशतिर

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र असोजदेखि न्यायालयको नेतृत्व गर्ने वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की जुम्ला हुँदै तिब्बतस्थित मानसरोवर जाने तयारीमा हुनुहुन्छ । उहाँहरु पर्सि सोमवार जुम्लास्थित उच्च अदालतको नवनिर्मित भवन उद्घाटनमा सहभागी हुने योजना हो ।

तर त्यसको भोलिपल्ट मंगलवार सर्वोच्च अदालतमा नेपाल प्रहरीका आइजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाईको पेशी छ । देउवा सरकारले गरेको उक्त नियुक्तिबारे पक्ष वा विपक्ष जता ढल्केपनि सुख नहुने भएपछि श्रीमानहरुले अघिल्लै दिन जुम्ला जाने कार्यक्रम बनाउनुभएको वकिल बृत्तमा चर्चा छ ।

न्याय दिनु मात्रै होइन, बेलैमा नदिनु पनि न्यायिक धर्म नहुने मान्यता श्रीमानहरुले विभिन्न कार्यक्रममा व्यक्त गर्दै आउनुभएको छ । तर, बेलाबखत उत्पन्न हुने विवादास्पद विषयमा परेको मुद्दाको पालो आउँदा न्यायाधीशहरुले विभिन्न हिसाबले छल्ने क्रम पनि यसवीच धेरै पटक देखिएको छ ।

यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा उहाँनिकट तत्कालीन १४ जना सांसदको पद खुस्काउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको मुद्दाको पेशी होस् या ललिता निवास जग्गा प्रकरणको पेशी चढ्ने बेला पनि श्रीमानहरु काज,बिदा लिएर घर बस्ने, अनुगमनमा निस्कने या सामान्य आदेश दिएर पन्छने गरेको सुन्नमा आउने गर्दछ ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा निलम्बनमा पर्नुभएको,कायममुकायम प्रधानन्यायाधीश कार्की र त्यसपछिका वरिष्ठ न्यायाधीश कार्की पनि काजमा लामो समय बाहिरिने भएपछि प्रशासनिक हिसाबले वरिष्ठ हुन आउने न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उहाँभन्दा मुनितिरका श्रीमानहरुले ठ्याक्कै छिनालेर आदेश दिनुपर्ने बाध्यता चाहिँ किन भन्ने गाईंगुईं पनि सुनिन थालेको छ ।

टिप्पणीहरू