जोशमा गुम्यो होस, अब समीक्षा त होस् !

जोशमा गुम्यो होस, अब समीक्षा त होस् !

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा देशभरबाट पार्टी बढारिएपछि हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हारको जिम्मेवारी लिँदै महासचिवबाट राजीनामा दिनुभयो । राजनीतिमा नैतिकताको खडेरी परेका बेला उहाँले चालेको कदमको धेरैले प्रशंसा पनि गरे । कांग्रेस र माओवादीको विशेष जोडबलमा मनोनीत कोटाबाट संविधानसभा सदस्य बन्नुभएका उहाँ पछि प्रधानमन्त्रीसमेत बन्नुभएको थियो ।

यतिबेला एमाले कार्यकर्ताहरूले त्यस्तै नैतिक प्रश्न आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सोझ्याएका छन् । हुन त दुई–दुई पटक आफैँले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदिँदा पनि प्रधानमन्त्रीको कुर्सी छाड्न नमान्नुभएका ओलीले पार्टी हारको जिम्मेवारी लिएर अध्यक्ष छाड्ने सम्भावना देखिँदैन । तथापि अप्रत्यक्ष र झिनै स्वरमा भए पनि एमालेको एउटा पंक्तिले प्रश्न उठाउन थालेको पाइन्छ ।

ओलीमाथि प्रश्न गर्नेहरूको तर्क छ – शक्तिशाली नेकपा विघटनदेखि एमाले विभाजनसम्मका राजनीतिक घटनाक्रममा मुख्य नेताको हैसियतले तपाईं नै प्रमुख जिम्मेवार हो । जनताले पाँच वर्षका लागि दिएको झण्डै दुई तिहाइ मत जोगाउन नसकेकै कारण अल्पकालमै संघ र प्रदेशका सरकार गुमाउनु परेको पीडा पोख्दै एमालेमा १० बुँदे पक्षधर भनिने एक नेताले अब अरुलाई गाली गरेर ओली उम्किन नपाउने बताए । पार्टी फुटको प्रतिकूल अवस्थालाई सामान्यकृत गरेर दुई तिहाइ सिट जित्ने चुनावी विश्लेषण गर्ने अरु नेताले पनि पराजयको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ओलीलाई खुशी पार्न उहाँको कोर टिमले अवस्तुवादी रिपोर्टिंग गरेको र त्यसैका आधारमा चुनावी रणनीति बनाएकाले पार्टी पहिलोबाट दोस्रोमा खुम्चिनुपरेको उनको गुनासो छ । हुन पनि ओलीले चुनावअघि ७० प्रतिशत सिट सहजै जितिने दाबीका साथ देशव्यापी दौडाहा गर्नुभएको थियो । नवप्रवेशीहरूलाई हाताहाती टिकट दिएर माहोल आफ्नो पक्षमा पार्न भरमग्दुर प्रयास भएकै हो । आन्तरिक रणनीति बनाएर बलियो हुनुभन्दा बाहिरी तामझाममा बढी समय दिएकाले परिणामबारे वस्तुवादी आकलन हुन नसकेको र अहिले नसोचेको नतिजा भोग्नुपरेको एमालेका अरु नेता पनि बताउने गर्छन् ।

‘चुनावका बेला बाहिर भन्ने कुरा एउटा हो तर भित्री आकलन तथ्यसंगत हुनुपथ्र्यो तर त्यसो भएन । अध्यक्षलाई खुशी बनाउन असम्भव तथ्यांक देखाएर ६०÷७० प्रतिशत जित्ने हावादारी विश्लेषण गरियो । कार्की ब्यांक्वेटको केन्द्रीय कमिटी बैठकमा त गण्डकीबाहेकका प्रदेश इञ्चार्जले ८० प्रतिशतसम्म जितिने गफै लगाए । मुख्य कमजोरी नै यही हो,’ ती नेता भन्छन् । उनका अनुसार ओलीको कोर टिमले घटीमा पनि ५० प्रतिशत जित्ने विश्वास दिलाएको थियो । तर, परिणाम भने त्यसअनुकूल आएको छैन । सात सयभन्दा बढी स्थानीय तहको परिणाम आइसक्दा विगतमा जितेका पालिकासमेत गुमाएर ऊ दोस्रो स्थानमा खुम्चिएको छ ।

अघिल्लो पटक जितेका झण्डै एक सय हाराहारी पालिका गुमाएको एमालेले राजनीतिक र रणनीतिक महत्वका महानगर र उपमहानगरमा पनि विरासत जोगाउन सकेन । ०४८ पछिका सबै स्थानीय चुनावमा एकछत्र जितेको बुटवल उपमहानगरको नेतृत्व हातबाट फुत्किएको छ भने उपनिर्वाचनमै गुमाएको धरान पनि फर्काउन सकेन । जितपुर सिमरा माओवादीले खोसेको छ भने इटहरी कांग्रेसले र हेटौँडा एमालेबाटै बिद्रोह गरेर निस्किएको एकीकृत समाजवादीको पोल्टामा पुगेको छ । अघिल्लो चुनावमा सात उपमहानगर जितेको एमालेले अहिले घोराही र कलैया जितेको छ ।

महानगरतर्फ पनि परिणाम एमालेका पक्षमा देखिएको छैन । ६ वटै महानगरमा एमालेले प्रमुख जित्ने सम्भावना लगभग समाप्त भैसकेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौँका अधिकांश पालिका जितेको एमाले अहिले दुई ठाउँमा सीमित भएको छ । महानगरको नेतृत्व पनि उसको हातबाट फुत्किने अवस्था छ । ०७४ मा लोकप्रिय मतका साथ मेयर र उपमेयर जितेको पोखरा जोगाउन अब संभवै छैन ।

केपी ओलीले राजनीतिक प्रतिष्ठाको विषय बनाएर सम्पूर्ण शक्ति खन्याउँदा पनि भरतपुर महानगरमा माओवादीको जित रोकिएन । परिणाम हेर्दा विगतको मत जोगाउनसमेत चुकेको छ । पोखरा महानगरमा कृष्ण थापालाई हराएर मेयर जित्ने दौडमा समाजवादीका धनराज आचार्य छन् । काठमाडौँमा केशव स्थापितले भन्दा दोब्बर बढी भोट ल्याएका बालेन साहले एमालेको विरासत भत्काउने संकेत आइसकेको छ । ललितपुरमा हरिकृष्ण व्यञ्जनकारको हारको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।

दैलोमै ओलीको हार

एमालेले सञ्चालन गरेको देशव्यापी चुनावी अभियान हेर्दा यस्तो लाग्थ्यो– यो देशमा केपी ओली जत्तिको बलियो नेता अरु कोही छैन । देशव्यापी दौडाहाको क्रममा ओली पुगेका हरेक ठाउँमा जनलहर पनि देखिएको हो । एकै दिनमा चार वटासम्म कार्यक्रममा पुगेर भाषण गर्नुभएका ओलीले झापादेखि कञ्चनपुरसम्मका सभा छुटाउनु भएन ।

ओली पुग्ने गरेका चुनावी सभामा उल्लेख्य मात्रामा जनसहभागिता पनि देखिन्थ्यो । उपस्थिति देखेर हौसिंदै ओली विपक्षीमाथि खनिएर एमालेलाई जिताउन आग्रह गर्नुहुन्थ्यो । तर, चुनावी परिणाम ठ्याक्कै उल्टो भएको छ । ओली भाषण गर्न पुगेका अधिकांश ठाउँमा एमालेले नमीठो हार ब्यहोर्नुपरेको छ ।

एमाले अध्यक्ष ओलीलाई आफ्नै गृहपालिका दमकमा सबैभन्दा ठूलो धक्का लागेको छ । ०७४ को संसदीय चुनावमा माओवादी र राप्रपासँग तालमेल गरेर चुनाव जित्नुभएका ओलीले दमक जोगाउन हरप्रयास गर्नुभएको थियो । तर, ’लैनो बाच्छो’ भनेर आफैँले सार्वजनिक कार्यक्रमबाटै कमजोर आँकेको राजेन्द्र लिङदेनले दमक जितेर ओलीलाई नै कमजोर सावित गरिदिए । यो पराजयले आगामी मंसिरमा हुने संघ तथा प्रदेशको चुनावमा ओलीलाई अर्को धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।

त्यसो त, हरेको चुनावी सभामा ओली भन्ने गर्नुहुन्थ्यो– पाँचदलीय गठबन्धनविरुद्ध एमाले एक्लै भिडेर पहिलो पार्टी बन्छ । हौवा यसरी पिटिएको थियो कि पाँच पार्टीको गठबन्धनसँग एमाले एक्लै चुनाव लड्दै छ । तर, वास्तविकता भने एमालेले पनि ठाउँ र आवश्यकताअनुसार गठबन्धन गरेर प्रतिष्पर्धामा उत्रिएको थियो । उसले कट्टर हिन्दुवादी राप्रपा नेपालदेखि होलिवाइनवाला एकनाथ ढकालको परिवार दलसँग सम्म गठबन्धन गरेको थियो ।

कमल थापालाई पार्टी कार्यालयमा बोलाएर सूर्य चिह्नमा चुनाव लड्ने सहमति पत्रमा सही धस्काएको एमालेले परिवारदलसँग पनि त्यस्तै सम्झौता गरेको थियो । माओवादी हराउन रोल्पा, रुकुममा कांग्रेससँग मिलेको एमाले डडेलधुरा र तनहुँमा कांग्रेसका बागीलाई भोट हाल्न तयार भएकै हो । मतदाताले अस्वीकार गरे पनि वीरगञ्जमा महन्थ ठाकुरहरूसँग पनि लेनदेनको सहमति भएको थियो ।

चुनावअघि यस्तो न्यारेटिभ बनाइएको थियो कि एमाले यसै जित्दैछ । ओलीका देशदौडाहा त माओवादी र एकीकृत समाजवादीलाई हराउनका लागि मात्रै हो । कतिसम्म भने काठमाडौँलगायत कतिपय ठाउँमा एमालेले बाँडेको नमूना मतपत्रमा समाजवादीको कलम चिह्न नै थिएन । कतिपय ‘मै हुँ’ भन्ने राजनीतिक विश्लेषकहरूले समेत माओवादी र समाजवादी निकै कमजोर हुने र एमाले नै पहिलो राजनीतिक शक्तिका रूपमा चुनावबाट अनुमोदित भएर आउने विश्लेषण गरेका थिए ।

तर, त्यस्ता दाबी र अनुमानलाई चुनावी परिणामले गलत सावित गरिदिएको छ । कमजोर भनिएको माओवादी अघिल्लो चुनावमा भन्दा थप बलियो भएर आएको छ भने समाजवादीले कतिपय ठाउँमा एक्लै लडेर एमालेलाई नै हराइदिएको छ । सबै पार्टी मिलेर आए पनि एमालेले पत्तासाफ बनाइदिने दाबी गरेका एकथरी एमाले नेताहरूले भने अहिले लाज छोप्न पाँचदलीय गठबन्धनविरुद्ध एक्लै लडेकाले परिणाम सोचेजस्तो नआएको तर्क गर्न थालेका छन् ।

तर, पाँच दलबीच जम्माजम्मी २५ प्रतिशत पालिकामा मात्रै तालमेल भएको हो । तालमेल भएका ठाउँमा पनि कांग्रेसले इमान्दारीपूर्वक कम्युनिष्ट पार्टीका उम्मेदवारलाई भोट नहालेको गुनासो छ । एमालेले विराटनगर, बुटवल, बनेपा, काठमाडौं, इटहरीलगायतका ठाउँमा उपप्रमुख जित्नुको कारण पनि त्यही हो । घोराही, धनगढी, पनौती, धुलिखेललगायतका स्थानमा पनि गठबन्धनको भोट ५० प्रतिशतमात्रै गठबन्धनका पार्टीलाई गएको भए परिणाम अर्कै आउने अवस्था जानकारहरू बताउँछन् ।

हारको छटपटी र अन्तर्घातको आरोप

चुनावमा पराजित भएपछि एमालेमा एकले अर्कालाई अन्तर्घातको आरोप लगाउन थालिएको छ । पोखरामा आफ्नै उम्मेदवार हराउन बनाइएका गोप्य रणनीतिका शृंखलाबद्ध अडियो संवाद बाहिरिएपछि चर्किएको लफडा शान्त नहुँदै भक्तपुरका नेता महेश बस्नेतले उम्मेदवार गतिलो नभएका कारण मध्यपुर थिमिमा हार्नुपरेको सार्वजनिक अभिव्यक्ति दिए ।

थिमीको अन्तिम परिणाम आएलगत्तै बस्नेतले मेयरमा दोहोरिन चाहेका मदनसुन्दर श्रेष्ठ अलोकप्रिय भएका कारण चुनाव हार्नुपरेको बताएका थिए । त्यसको खण्डन गर्दै श्रेष्ठले पनि जिते जस लिने तर हार्दा अरुलाई दोष दिने पारा ठीक नभएको जवाफ फर्काइदिए ।

खासगरी एमालेमा अध्यक्ष ओली निकटको समूह र आलोचनात्मक टिप्पणी गर्न रुचाउने नेताबीचको आशंकाले अन्तर्घातका आरोप बाहिरिएको बताइन्छ । बताइएअनुसार संस्थापनतिरकाले ‘१० बुँदे’ पक्षधर भनिएकाहरूलाई आशंका गर्ने र १० बुँदेवालाहरूले हिजोको तुष फेर्न असहयोग गरेको भन्ने गरेका छन् ।
हारको दोष एकले अर्कालाई लगाउने होडबाजीकै कारण लमजुङको विजय सभामा कुनै केन्द्रीय नेता सहभागी भएनन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको टसलले लमजुङको जितको खुशीयालीमा केन्द्रीय नेता सहभागी नभएको त्यहाँका स्थानीय नेता–कार्यकर्ताको बुझाइ छ ।

यता, पार्टीमा फरक बिचार राख्नेलाई देखिनसहने पूर्वमन्त्री गोकुल बाँस्कोटालाई चुनावको परिणामले सोच्दै नसोचेको धक्का दिएको छ । उनले रौँ बराबर नठानेको एकीकृत समाजवादीले आफ्नै गृहनगरमा विजयको झण्डा गाढेपछि बाँस्कोटा धुलिखेलको विजय जुलुसमा झुल्किनुबाहेक अन्त देखिएका छैनन् ।

टिप्पणीहरू