बालेन सर, मत बाँडिएको हैन मन भाँडिएको हो

बालेन सर, मत बाँडिएको हैन मन भाँडिएको हो

– दीपक खनाल

अहिले काठमाडौँ शहरमा मात्र होइन देशभर बालेन्द्र साह(बालेन)कै चर्चा छ । कार्यालय, पानीपँधेरा, गाईगोठ, गोठाला, चियापसल, स्कुल, क्याम्पसमा बालेनकै कुरा हुन्छ । दुई चार जना मानिस जम्मा भयो कि बालेनकै बारेमा बहस चल्छ । सामाजिक सञ्जाल त स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ, गोपी हमाल र बालेनकै विषयले भरिने भइहाल्यो ।

बालेनको कुरा नराखे मानिसले समाचार माध्यमसमेत हेर्न छाड्लान् भन्ने डर छ । भारतका कतिपय समाचार माध्यमले समेत बालेनको समाचारलाई पछ्याउन थालेका छन् । काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा बालेनका डाइहार्ड फ्यानहरूले माहौल तताएर समाचार माध्यम र सामाजिक सञ्जाललाई मसला थपिरहेकै छन् ।

देश, विदेशमा रहेका युवाको माझमा झन् उनी हाइ हाइ बालेन दाइ भइरहेका छन् । बुबाको पृष्ठभूमिलाई लिएर कसैले उनलाई राजाको मान्छे त कसैले माओवादीको पूर्वकार्यकर्ता भनेका छन् । जसले जे भने पनि, ज–जसको मान्छे भए पनि सबैलाई उनीबारे नबोली, नलेखी नहुने स्थिति बनेको छ । त्यसैले यहाँ पनि उनका बारे विभिन्न कोणबाट विश्लेषण गर्र्नैपर्ने भएको छ ।

राजनीतिक आँखीझ्याल

काठमाडौँ महानगरपालिका काठमाडौँको मुटु हो । यो विश्वलाई चिनाउने, राष्ट्रको गरिमा राख्ने, बढाउने, घटाउने सुन्दर नगरी हो । त्यही भएर त भानुभक्तले उहीले नै लेखेका हुन् नि अलाकापुरी कान्तिपुरी नगरी भनेर । सिंगो देश हाँक्ने काठमाडौँको दुर्दशै दुर्दशा छ । फोहोरै फोहोर अनि राजनीतिक फोहोरको शहरको रूपमा चित्रित छ ।

कति विदेशीले त यसरी नै खिसिट्युरी गरेर आफ्नो देशमा प्रचार गरिसके होलान् । टाफिक जाम, शहरी अव्यवस्था अर्काे समस्या हो काठमाडौँको । यस्तै फुटपाथ व्यापारको नाममा हुने अस्तव्यस्तताले काठमाडौँलाई सधैँ कुरूप बनाइरहेको छ । यतिसम्म हुँदा पनि हाम्रो राजनीतिक नेतृत्वको ध्यान सिंहदरबार, बालुवाटार र दलका पार्टीलयबाहेक अन्त गएको देखिँदैन ।

काठमाडौँको मेयर बनाएर पठाइएकाहरूको ध्यान पार्टीलाई कमिसन र फाइदा बुझाउँदैमा ठिक्क छ । यस्तो व्यवहारले काठमाडौँ महानगरपालिकाका जनता वाक्कदिक्क भए । यस्ता प्रतिनिधिका कारण पार्टी र तिनका नेताप्रति नै वितृष्णा बढ्यो । मन भाँचियो । यस्तो वितृष्णा हुँदाहुँदै पार्टीहरूले पुरानै अनुहार, उमेर पाकेका र नेताका आफन्तलाई उम्मेदवार बनाए । त्यही भएर सधैँ अन्तिम आन्दोलन, संघर्षमा निर्णायक भूमिका खेल्ने काठमाडौँ महानगरका परिपक्व र ०७४ पछि बालिग बनेका मतदाताले बालेनलाई नै रोजे ।

मिडिया, सामाजिक सञ्जाल र बालेन

नयाँ नयाँ विषय, समाचार पस्कनु समाचार माध्यमको विशेषता हो । समाचार माध्यमले बालेनका भनाइलाई बढी प्राथमिकता दिए ठूला पार्टीका उम्मेदवारकै बराबर । सामाजिक सञ्जाललाई त बालेन एण्ड सहयोगी समूहले योजनावद्ध रूपमा प्रयोग र परिचालन गरे भने समाचार माध्यमले पनि उनलाई ठाउँ दिनु बाध्यता भयो, छ ।

महानगरपालिकाका मतदाताले मात्र होइन, देश, विदेशमा रहेका उनका फ्यानहरूले यस्तो माहौल बनाउन सामाजिक सञ्जालबाट ठूलो भूमिका खेले । उनले पाँच वर्षदेखि नै सामाजिक सञ्जालमार्फत यस्तो जनमत बनाउँदै आए । उनले समाचार माध्यम र सामाजिक सञ्जालमा आफूलाई एकदमै सन्तुलित रूपमा प्रस्तुत गर्नसके । पत्रकारका प्र्रश्नको जवाफ एकदम छोटकरीमा, तार्किक ढंगले, गणितीय रणनीतिक शैलीमा दिए ।

उनले अरु दल वा उम्मेदवारको आलोचना, गालीभन्दा पनि आफ्ना भनाइ र योजना राखे । अरुको आलोचना गर्नुपरेकै अवस्थामा पनि घुमाउरो पाराले रचनात्मक रूपमा गरे । उनको अभिव्यक्ति परिपक्व, शालीन र रणनीतिक देखियो ।

आफू कसैको प्रतिस्पर्धी भएको समेत भनेनन् । जनसेवा गर्न उठेको भनेर झन् मतदाताको मन जित्ने काम गरे । यसले गर्दा सधैँ हेट स्पिचलाई मुख्य र स्कुप समाचार ठानेर प्रस्तुत गर्दै आएको मूलप्रवाहका समाचार माध्यमबाटै मतदाता तथा आम अडियन्सले नयाँ स्वादको सामग्री पाएको महसुस गरे ।

 र्‍याप क्रेजी फ्यान र बालेन

भनाइ छ बैँसमा बेद कसैले पढ्दैन । अर्थात् युवावयमा लोकसंगीत, संवेदनशील गीतभन्दा पप, ¥याप गीतमा मन जान्छ । त्यसले अधिकांश युवायुवतीलाई क्रेजी बनाउँछ । कुकुरको पुच्छर बाँगो देख्दा पनि हाँस्ने यो उमेरका केटाकेटी ¥यापजस्ता आधुनिक गीततिर आकर्षित हुन्छन् ।

बालेनले ¥यापमा देशका विकृति, विसंगतिलाई उठाएको देखिन्छ । उनले राजनीतिक तहबाट भएका गल्ती, बेथिति, झैझगडा जस्ता विषयलाई पनि ¥याप गीत बनाएर प्रस्तुत गरेका रहेछन् । त्यसैले यो उमेर समूहका युवायुवती गहिरो अर्थ दिने गरी लेखिने साहित्य, साहित्यिक गीत, कविताभन्दा सरल शैलीमा गाइने ¥यापतिर आकर्षित भएर बालेनको फ्यान बने ।

कतिपय ससाना बाबुनानीले बालिग नभए पनि आफ्ना बा–आमा, दाजुदिदी, हजुरबा, हजुरआमा र नातागोताका मानिसलाई एक भोट बालेनलाई दिन आग्रह गरे । यसले पनि उनीहरूको मन बालेनतिर आकर्षित भयो ।

ओलीको बोली, स्थापितको प्रस्तुति

नेकपा (एमाले)ले विभिन्न पार्टी चहारेर एमालेमै थिग्रिएका पूर्वमेयर केशव स्थापितलाई नै उम्मेदवार बनायो । काम गर्ने आँट भएर स्थापित महिलामाथि दुव्र्यवहार गरेको आरोपमा मुछिए । उम्मेदवार घोषणा भएलगत्तै उनका पुराना यस्ता सन्दर्भ उछालिए ।

त्यो समाचार माध्यम र सामाजिक सञ्जालमा भाइरल भयो । मानौँ, यतिसम्म त ठीकै थियो रे । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नै उनको बचाउमा अभिव्यक्ति दिए । स्थापित फेरि आफैँ सार्वजनिक कार्यक्रममा महिलाप्रति नै आक्रोशित भए । त्यस्तो अभिव्यक्तिले आम महिलाप्रति आक्रोश मात्र जन्माएन, उनीप्रति विगतमा लागेका आरोप सही हो कि जस्तो बनायो ।

सायद त्यसैले काठमाडौँ महानगरबासी धेरै महिला मतदाताले उनलाई भोट दिएनन् । बालेन उनीप्रति सभ्य, शालीन र सानै व्यक्तिका रूपमा प्रस्तुत भए भने उनले अन्तर्राष्ट्रिय ठग भनेर बालेनप्रति नकारात्मक अभिव्यक्ति दिए । यस्तै उनले विगतका चुनावमा आफूले गरेका षड्यन्त्रको कहानी आफैँले बताए चुनावको सन्मुखमा आएर । यस्ता शैलीले झन् मतदाताको मन कुँडियो, चिडियो ।

असन्तुष्ट र निराशहरूको प्रतिबिम्ब

राणाशासनको अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म पटक पटक संघर्ष, जनआन्दोलन, जनयुद्ध भए पनि मुलुकको मुहार फेरिन सकेको छैन । विगतमा भन्दा केही भौतिक विकास भए पनि मानिसका जीवनचर्यामा कुनै नयाँपन आउन सकेको छैन । युवावर्ग विदेशिने क्रम रोकिएको छैन ।

स्वदेशमा नै रहेकाहरूले रोजगार पाउन सकेका छैनन् । हल्काफुल्का रोजगारी भएकालाई परिवार पाल्न, छोराछोरी पढाएर टिक्न र बिक्न धौधौ छ । नेकपा एकीकृत भएर फुटकै अवस्थामा पुग्यो । दुई तिहाइको सरकार कायम राख्न सकेन । राजनीतिक पार्टीको ट्याग लागेकाबाहेक अरू स्वतन्त्र, सक्षम बुद्धिजीवीहरूले कहीँ–कुनै अवसर पाउने गरेका छैनन् ।

सिनियर र सक्षम भएर पनि कुनै ठाउँमा चिनिन पार्टीकै कार्यकर्ता हुनुपर्ने अवस्था बनिसकेको छ । विभिन्न बौद्धिक व्यक्ति एक किसिमले आइसोलेसन र ब्वाइकटमा परेका छन् । आज पनि जनताले काम गर्न चाकडी, चाप्लुसी, घुसखोरी, कमिसन, भनसुन नै नभई हुँदैन ।

काम गर्दाका कानुनी उल्झन विगतका जस्तै छन् । कर्मचारीले सेवाग्रहीलाई गर्ने व्यवहार सेवकभन्दा शासकको जस्तो छ । पार्टीमै आबद्धहरू पार्टी र नेताका व्यवहार शैलीबाट सन्तुष्ट छैनन् । मुलुकभरका जनताको यस्तो अवस्था र असन्तुष्टि, निराशा छ । हो, यसैको प्रतिबिम्ब हो बालेन । यस्ता मानिसले बालेनजस्तै उच्च हाइ¥यार्की नभएका र लो प्रोफाइलका स्वतन्त्र प्रतिनिधि खोजेका हुन् ।

राजनीतिक पार्टी, नेतालाई दह्रो दनक, चुनौती

बालेनले हारे पनि, जिते पनि उनको उपस्थिति र चर्चा बहुदलीय व्यवस्था र त्यसमा विश्वास गर्नेहरू र यस मैदानका खेलाडीका लागि दह्रो दनक हो । चुनौती हो । उनैको जस्तै स्वतन्त्र उम्मेदवारी दिएका अन्य केही व्यक्तिले काठमाडौँबाहिर पनि जितेका छन् । पोखरा र भरतपुर महानगरपालिकामा बालेनजस्तै व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएको भए सायद दलका उम्मेदवार हार्ने सम्भावना रहेछ ।

काठमाडौँ महानगरपालिकाको निर्वाचन परिणाम गजबको स्याम्पलिंग हो । यसले देशभरका जनताको भावनाको प्रतिनिधित्व गरेको छ । यस्तै धरानमा स्वतन्त्र हर्क सांगपांग विजयी भएका छन् । नेकपा (एमाले) बाटै टिकट पाए पनि युवा भएकाले सुनिता डंगोललाई नै अहिलेसम्म बढीले रुचाएका छन् । यसबाट सधैँ जुधिरहने पाकेका नेताप्रति अरुचि र युवाको विकल्प नभएर नै ठूला पार्टीका पाका नेता, प्रतिनिधि छानेका रहेछन् भन्ने देखिएको छ ।

यदि दलहरू मिलेर अब पनि सुशासन, समृद्धि र विकासमा नलाग्ने हो भने खतराका दिन शुरु भएका छन् । बालेनहरू जन्मँदै जानेछन् । यो दलहरूलाई सच्चिने कि सक्किने भन्ने ठूलो शिक्षा हो । यदि बालेनले दीर्घकालीन रूपमा राजनीति नै गर्न खोजेका हुन् र उनले आफ्नो लोकप्रियतालाई क्यास गरेर भोलि प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्री निर्वाचनको पक्षमा आफूलाई उभ्याउँदै लैजान सके र जनदबाब पैदा हुँदै गयो भने त्यतिबेला नेता र दलहरूको अवस्था अनि मुलुकको राजनीतिक खेलमा कायापलट हुनेछ । दलहरूले जति ठाउँमा जितेँ भनेर मक्ख परे पनि त्यसको कुनै अर्थ रहने छैन ।

बालेनको गन्तव्य

काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि पहिलेभन्दा बढी चिनिएका ¥यापर बालेनलाई धेरैले धेरै उपमा दिन थालेका छन् । भविष्यवाणी गर्न माहिर कतिपयले त उनलाई मुलुकको भावी प्रधानमन्त्री बनाइसकेका छन् भने कतिले बालेनले पार्टी खोलेर राजनीति गर्छ भन्न थालिसकेका छन् । तर, बालेनले अहिलेसम्म आफ्ना पछिल्ला यात्राबारे केही भनेका छैनन् । राजनीतिक प्रकियाबाट चुनावमा भाग लिएको र उनका गीतमा राजनीतिक विषयवस्तु पाइए पनि उनले आपूmलाई राजनीतिक व्यक्तिसमेत भनेका छैनन् । अहिलसम्म उनले आफूलाई काठमाडौँको मेयरका रूपमा मात्र उभ्याएका छन् । र, त्यसलाई पनि एउटा सिइओ भन्दा बढी ठानेका छैनन्, मानेका छैनन् ।

बालेन एक त गायक हुन् । अर्काे इञ्जिनियर । उनले गायन क्षेत्रको लोकप्रियतालाई काठमाडौँको मेयरमा सदुपयोग गरे । इञ्जिनियर पढेकाले योजना बनाएर काम गर्ने व्यक्ति हुन् भन्ने पनि देखिन्छ । दलका उम्मेदवारले भन्दा नयाँ र फरक एजेण्डा अघि सारेकाले पनि विश्वास प्राप्त गरेका हुन् । यस्तै उनले अहिले मेयरमा उठ्न पाँच वर्षदेखि नै तयारी गरेका रहेछन् भन्ने कुरा पाँच वर्षअघि नै राखेको फेसबुक स्टाटसबाट देखिन्छ ।

अहिलेसम्मको उनका कुरा सुन्दा उनले आफूलाई काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा मात्र ध्यान दिएको देखिन्छ । समाचार माध्यमसँग जवाफ दिने र अन्य दल वा पार्टीको आलोचना गर्ने सन्दर्भमा उनले दिएका अभिव्यक्तिबाट उनी रणनीतिक छन् भन्ने देखाउँछ । तथापि पर्दामा एक्लै देखिए पनि मुलुकको सबैभन्दा ठूलोे महानगरपालिकाको मेयरको चुनावी तयारी, मतगणनामा जनशक्ति परिचालन, आर्थिकलगायत विभिन्न व्यवस्थापनमा उनी एक्लै भिडेका छन् भनेर बुझ्नु भ्रम हुनेछ । उनका पछि कोही रहेछन् र उनी कसैका रहेछन् भने त्यो खुल्दै जानेछ ।

बालेनको चुनौती

बालेनको सबैभन्दा ठूलो चुनौती काठमाडौँ महानगरबासीलाई मिलाएर अगाडि बढ्नु हो । पृथ्वीनारायण शाहले काठमाडौँका तीनै राज्य जितेर सजिलै आत्मसात् गरेको काठमाडौँको संस्कार, संस्कृतिलाई सायद यहीं जन्मेका बालेनले सहजै स्वीकारेर, भावना बुझेर अगाडि बढ्लान् तर अहिलेसम्म हेर्दा उनमा इञ्जिनियरिङ र व्यवस्थापनको केही योजना भए पनि राजनीतिक विचार, दर्शनको स्पष्टता देखिँदैन ।

उनी स्पेसलिष्ट त हुन् नै आफूलाई जेनरालिष्ट बनाउने नबनाउने उनको कुरा हो । काठमाडौँको फोहोर व्यवस्थापन, जनताका सेवामूलक कार्यको सहजीकरण र सरलीकरण गर्ने क्षमता हुनसक्छ । उनले आफ्ना मतदाताको दबाब समूह खडा गरेर र विज्ञ समूह बनाएर यी काम गर्न सक्लान् । तर महत्वाकांक्षा हेर्दा उनी राजनीति गरेर टाढासम्म नबढ्लान् भन्न सकिन्न ।

उनको त्यो लक्ष्य हो भने उनमा राजनीतिक भिजन अवश्य नै हुनुपर्छ । राणाशासन ढालेदेखि आजसम्म पटक पटक आन्दोलन गरेका बलिया दल र जनताको साथ पाएका नेताले त बदल्न नसकेको मुलुक र संस्कार उनी एक्लै आउँदैमा रातारात बदल्न सकिन्छ भन्नु मृगमरिचिका मात्र हुनेछ । उनी एक मात्र ठीक भएर हुँदैन । समाज नै रूपान्तरित हुनुपर्छ । यसका लागि दीर्घकालीन राजनीतिक दर्शन र शक्ति चाहिन्छ ।

जो बालेनको समूहमा छैन । अहिले उनको पक्षमा आएको मासलाई पत्रकारिता र आमसञ्चारको भाषामा क्रिटिकल मास भनिन्छ । यस्तो मासलाई कर्कलाको पानीसँग तुलना गर्न सकिन्छ । बालेनले कुनै पनि काम गर्न नसकेमा वा चित्त नबुझ्दो काम गरेमा भोलि त्यो मास उनैविरुद्ध नै खनिन सक्छ ।

त्यसैले बालेनले जादूको छडीले झैँ आफ्नो चुनाव चिह्न लौरोले मुलुकका सबै समस्या एक्लै ठीक पार्छु भने भने त्यो परिकल्पना मात्र हुन जानेछ । बुझ्नुपर्छ कि अहिले उनीप्रति देखिएको समर्थन दिक्दारी, असन्तुष्टी र नयाँपनको खोजीको अभिव्यक्ति मात्र हो ।

यदि लामो समय संघर्षबाट खारिएका दल र तिनका नेता सच्चिए भने त्योभन्दा ठूलो शक्ति अरु छैन र हुन पनि सक्दैन । बालेन र उनका फ्यानहरूले सोच्नुपर्छ कि अहिले उनीप्रति मत बाँडिएको होइन, राजनीतिक दल र तिनका नेताहरूसँग भाँडिएको चञ्चले सरुवा मन उनीप्रति सरेको मात्र हो ।

टिप्पणीहरू