लुम्बिनीमा पनि काँग्रेस दौडियो, माओवादी लम्कियो

लुम्बिनीमा पनि काँग्रेस दौडियो, माओवादी लम्कियो

लुम्बिनी प्रदेशका सबै स्थानीय तहको परिणाम सार्वजनिक हुँदा सत्तारुढ नेपाली काँग्रेस पहिलो पार्टी बनेको छ । प्रदेशका १०९ स्थानीय तहमध्ये ४८ स्थानमा प्रमुख जितेर काँग्रेस पहिलो दल बनेको हो ।

अघिल्लो निर्वाचनमा ३३ पालिका जितेर दोस्रो स्थानमा रहेको काँग्रेसले यसपटक १५ तह थपेको हो । उसले २१ नगरपालिकामा मेयर र २७ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । त्यस्तै, १२ उपमेयर र ३२ उपाध्यक्ष गरि ४४ उपप्रमुख पाएको काँग्रेसले लुम्बिनीमा तीन सय ७५ वडाध्यक्ष पनि जितेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा प्रदेशमै सबैभन्दा बलियो अवस्थामा रहेको एमाले यसपटक खुम्चिएको छ । त्यतिबेला ४३ पालिका प्रमुख जितेर पहिलो दल बनेको एमाले १६ तह गुमाएर यसपटक दोस्रो भएको हो । उसले नौ नगरपालिकामा मेयर र १८ गाउँपालिकामा अध्यक्ष गरि जम्मा २७ स्थानमा प्रमुख पद जितेको छ । उसले १६ उपमेयर र २४ उपाध्यक्ष गरि ४० उपप्रमुख हात पारेको छ । वडामा पनि काँग्रेसभन्दा निकै पछाडि रहँदै उसले तीन सय १४ वडाध्यक्ष प्राप्त गरेको छ ।

देशभर तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको लुम्बिनीमा बलियो उपस्थिति देखिन्छ । एमालेकै हाराहारीमा सिट जितेको उसले तीन नगरपालिकामा मेयर र २२ गाउँपालिका अध्यक्ष गरि २५ पालिकाको नेतृत्व लिएको हो । त्यस्तै, चार नगरमा उपमेयर र ११ पालिकामा उपाध्यक्ष गरि १५ स्थानमा उपप्रमुख जितेको माओवादीले रुख चिन्हमा जितेका बाहेक एक सय ७० वडामा अध्यक्ष पाएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) ले एक प्रमुख र दुई अध्यक्ष गरि तीन स्थानमा प्रमुख तथा दुई उपप्रमुख र एक उपाध्यक्ष गरि तीन तहमा उपप्रमुख जितेको छ । त्यसैगरि ४३ वडाध्यक्ष पाएको छ । अघिल्लो चुनावमा लुम्बिनीमा राम्रै उपस्थिति जनाएको लोसपाले भने दुई उपमेयर र दुई उपाध्यक्षमात्र जितेको छ । उसले १५ वडाध्यक्ष आफ्नो भागमा पारेको छ ।

एक पालिकामा मेयर जितेको राप्रपाले उपमेयर र उपाध्यक्षमा १/१ ठाउँमा पाएको छ । राप्रपाले २१ वडाध्यक्ष पनि जितेको छ । त्यसैगरी, राष्ट्रिय जनमोर्चाले एक मेयर र एक अध्यक्ष गरि दुई प्रमुख तथा त्यति नै संख्यामा उपप्रमुख र १६ वटा वडामा जित निकालेको छ ।

जनता प्रगतिशील पार्टीले अध्यक्ष र उपाध्यक्ष एक–एक ठाउँमा जित्दा चार वडाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादी भने चार वडाध्यक्षमै सीमित बनेको छ । लुम्बिनीमा स्वतन्त्रले १३, सिके राउतको जनमत पार्टीले छ तथा बहुजन शक्ति पार्टी र नेपाल जनता पार्टीले एक–एक वटा वडाध्यक्ष जितेका छन् ।

टिप्पणीहरू