खत्तम पार्नेहरूबारे ओलीको खुलासा

खत्तम पार्नेहरूबारे ओलीको खुलासा

‘नेपालको कम्युनिष्ट आन्दोलन पहिला अदालतले सिध्याइदियो, अहिले दक्षिणपन्थी शक्ति एक ठाउँमा आएर खत्तम पारे’ सरकारको नीति तथा कार्यक्रम, बजेट, नागरिकता विधेयकलगायत समग्र संसदीय प्रक्रियाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई ब्रिफिङ गर्न आफ्नै निवासमा आएका कानुनमन्त्री गोविन्द बन्दीलाई एमाले अध्यक्ष केपी ओलीको यस्तो प्रतिक्रिया गयो ।

नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षी दलका तर्फबाट सुझाव माग्न शनिबार राति बालकोट जानुभएका कानुनमन्त्रीसँग संक्षिप्त जवाफमा ओलीले भन्नुभयो, ‘हाम्रा सुझाव के समेट्नुहोला र !’ नीति कार्यक्रम र बजेटमा धेरै चासो नदिनुभएका अध्यक्ष ओलीले वाम एकताको सन्दर्भ उठ्दा प्रचण्ड–माधवको भूमिकाको जमेर आलोचना गर्नुभएको बताइन्छ ।

मन्त्रीसँग लामै भलाकुसारी गर्नुभएका ओलीले सरकारले स्थानीय चुनावमा धाँधली गरेको गुनासो पनि पोख्नुभयो । उहाँले राजनीतिक विषयका साथै धर्म, संस्कृति र पूर्वीय दर्शनबारे दिल खोलेर बुद्धिज्म, महाभारत र रामायणका प्रसंग झिकी लामै बातचित गरेको बताइएको छ ।

कानुनमन्त्रीले भने संसदीय प्रक्रियामा सरकारले प्रमुख प्रतिपक्षलाई पनि साथमा लिएर जानुपर्छ भन्ने मान्यताका साथ आफू भेट्न आएको बताउनुभएको थियो । त्यसक्रममा उहाँले नागरिकता विधेयक र संसदको ‘होल प्रोसेस’का सम्बन्धमा ओलीलाई अवगत गराउँदै सहयोगको अपेक्षा राख्नुभएको थियो ।

ओलीलाई भेट्नुअघि गृहमन्त्री बालकृष्ण खाँणसहित बन्दीले अस्ति बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा कुराकानी गरेर माधव नेपाललाई भेट्न जानुभएको थियो । अस्ति बिहान उपेन्द्र यादवलाई भेटेपछि कानुनमन्त्री मात्रै साँझ बालकोट जानुभएको हो । प्रतिनिधिसभाको यही अधिवेशनबाट नागरिकता विधेयक पास गर्ने सरकारको तयारी छ भनिन्छ ।

त्यसैका लागि विभागीय मन्त्रीको हैसियतमा बन्दीले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेतालाई पालैपालो भेटेर सुझाव लिनुभएको हो । यसअघि महन्थ ठाकुर समूहलाई आफू नेतृत्वको सरकारमा सहभागी गराउन ओलीले नै नागरिकता अध्यादेश ल्याएकाले विधेयक पास गर्न पनि प्रतिपक्ष तगारो नबन्ने सरकारको विश्वास छ ।

टिप्पणीहरू