जावलाखेलनेर टाउकोमा चोट लागेपछि भरतपुरकी मेयर रेणु दाहाल डा.प्रकाशको निगरानीमा

जावलाखेलनेर टाउकोमा चोट लागेपछि भरतपुरकी मेयर रेणु दाहाल डा.प्रकाशको निगरानीमा

मेयरमा निर्वाचित भएलगत्तै काठमाडौंमा बिमार आमालाई भेट्न अस्ति बुधवार दिउँसो भरतपुरबाट आउनुभएकी रेणु दाहाल अहिले अस्पताल भर्ना हुनुभएको छ । दाहाल सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरकाे गाडीको टायर पञ्चर भएपछि सडक किनार बिजुलीको खम्बामा ठोक्किएका कारण उहाँलाई अस्पताल भर्ना गरिएको हो ।

अहिले उहाँलाई दुर्घटनास्थल नजिकै पुल्चोकस्थित सुमेरु अस्पतालको प्राइभेट वार्डमा राखिएको छ । टाउकोमा चोट लागेको आशंकामा अब्जर्भेसनको लागि आज एक दिन अस्पताल भर्ना गरिएको हो । चिकित्सकले खतरामुक्त भने पनि २४ घण्टा निगरानीमा राखिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

वीर अस्पतालका डा. प्रकाशबहादुर बिष्टले दाहालको अवस्था हेरिरहनुभएको बताइन्छ । बिष्ट पहिले वीर अस्पतालको न्युरो डिपार्टमेन्ट प्रमुख हुनुहुन्थ्यो । उहाँ अहिले सुमेरु अस्पतालको उक्त विभागमा प्रमुख हुनुहुन्छ ।

डा. बिष्टलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यस्तो ठूलो समस्या देखिएको छैन । टाउको ठोक्किएकाले आज एक रात अब्जर्भेसनमा राख्न लागिएको मात्र हो ।’

टिप्पणीहरू