१४ वर्षे बालक भिक्षुपथ छाडेर विद्रोही पथमा

१४ वर्षे बालक भिक्षुपथ छाडेर विद्रोही पथमा

दक्षिण–पूर्वी एसियाली मुलुक म्यान्मार गृहयुद्धको चक्रव्युहमा फसेको छ । प्रजातान्त्रिक सरकारमाथि जुन्ता परिषद्ले अघिल्लो वर्ष सैन्य ‘कू’ गरेपछि देशभर लडाइँ जारी छ ।

बर्मेली युवा–युवतीहरू सैनिक तानाशाहीविरुद्ध विद्रोह गर्न जंगल पसेका छन् । उनीहरूले ठाउँ–ठाउँमा सशस्त्र सैन्य समूह निर्माण गरिरहेका छन् । जुन्ता शासनको अन्त्यका लागि पिपुल्स डिफेन्स फोर्सले गाउँदेखि शहरसम्म युवा जमातलाई तालिम दिइरहेको छ ।

स्वास्थ्यकर्मीदेखि कलाकार र शिक्षकदेखि भिक्षुसम्म सैनिकविरूद्ध युद्धमैदानमा उत्रिएका छन् । विद्रोही सैन्य समूहमा दिनहुँ सयौं युवा समावेश भइरहेको मिलिसिया समूहका संयोजकले जनाएका छन् । म्यान्मारका युवा बौद्ध भिक्षु शीन सरिटा पनि जुन्ताविरोधी प्रदर्शनमा सामेल छन् ।

उनी शान्तिको यात्रा थन्काएर युद्धको बिगुल फुक्दै जनविद्रोहका लागि जंगल छिरेका हुन् । बर्मेलीहरू पिपल्स् डिफेन्स फोर्समा भित्रिएको देखेपछि उनले पनि मन थाम्नै सकेनन् । १४ वर्षे भिक्षुपथमा हिँडिरहेका शीन सरिटा आफ्नो शान्तिदूतको नाम त्याग्दै विद्रोही लडाकू फीनिक्स बनेका छन् । आफ्नो नयाँ यात्राबारे उनी चुनौतीपूर्ण संघर्ष गरिरहेको बताउँछन् ।

अधिकांश समय म्यान्मारको बौद्ध बिहारमा बिताएका लडाकू फीनिक्स जंगली जीवनमा बाँच्दा निकै दुःख भोगेको दुखेसो गर्छन् । तर उनी प्रजातन्त्रको पक्षमा डटेर लड्ने दाबी गर्छन् । ‘मैले शान्तिको वकालत गर्न छाडिसकेँ । म अहिले युद्धमोर्चामा होमिएको छु । हामीहरू अवश्य जित्ने छौँ । तानाशाही सेनाले एकदिन हार्ने छ, हामीहरू नै हराउने छौँ,’ उनले भने ।

टिप्पणीहरू