राजाका सैनिक सचिवको यो रोदन

‘धनले मात्रै मनलाई सुख दिँदैन’ भन्ने कुरा कुनै बेलाका एकजना शक्तिशाली जर्नेलको आजको जीवन हेर्दा प्रमाणित हुन्छ । जीवनभर सैनिक सेवामा रहेर भरपूर शक्तिको अभ्यास गर्दै अकूत सम्पत्ति जोडेका एकजना भूपू जर्नेल यतिबेला धनकै पीरले बेलाबखत अस्पतालको शैयामा छन् ।

जसका लागि सम्पत्ति कमाए, अन्ततः उनीहरूसँगै भागेर हिँड्नुपर्ने स्थितिमा पुगेका उनी हुन्, राजाको सक्रिय शासन (पञ्चायत) मा दरबारभित्र हालिमुहाली चलाएका सैनिक सचिव तथा तीन तारे जर्नेल ऋषिकुमार पाँडे । कहिलेकाहीँ मुटुको व्यथा लाग्यो भन्दै भर्ना हुन आउँछन् र वीरेन्द्र सैनिक अस्पताल, छाउनीका डाक्टरले ‘जाऊ–जाऊ’ भन्दा पनि सन्तानसँग त्रसित भएर अस्पतालबाट निस्कनै मान्दैनन् । ९५ वर्षका भए । भिभिआईपी बोर्डका डाक्टरसँग भन्छन्, ‘अस्पतालबाट निस्किएर जाने कहाँ ? स्याहार्ने मान्छे कोही छैनन् !’

पुरानो पुस्ताका जर्नेलहरूले सम्झन्छन्, उनको राइँदाइँ । ती चल्तीफिर्तीको दिनका ऋषिकुमार पाँडेले यो ‘हरिबिजोग’ को दिन भोग्नुपर्ला भनेर शायदै कसैले कल्पना गरेका थिए । अरु मान्छे सकेसम्म अस्पताल जान नपरोस्, गइएछ भने पनि छिटै फर्किन पाए हुन्थ्यो भन्छन् । तर, यी बृद्ध जर्नेल किन डाक्टरलाई समेत अटेर गर्दै त्यहाँ बसे होलान् भन्ने कारण जनआस्थाले पत्ता लगायो, घरायसी झमेला !

उनले अधिकांश सम्पत्ति कान्छी छोरीलाई दिएको भन्दै पत्नी र छोरा क्षेत्रपाटीस्थित घर छोडेर अलग्गै बस्छन् । सम्पत्ति बुझाइएको भनिएकी कान्छी छोरीतिरका ज्वाइँ हुन्, डिल्लीबजारका दीप बस्नेत । पोखरा फूलबारी रिसोर्टमा क्यासिनो सञ्चालन गर्ने क्रममा कहिले साहुजी पियुषबहादुर अमात्यलाई उनले त कहिले उनलाई पियुषबहादुरले प्रहरीबाट पक्राउने, थुनाउने क्रम चल्ने गरेको थियो । अहिले त्यो झगडा साम्य भएको छ ।

अनि, आमासँग बस्ने यी बृद्ध जर्नेलका छोरा विजयको कथा अर्कै छ । सेनाको लप्टन हुँदैमा पजेरो चढ्थे । लगनखेलस्थित राजदल गणमा पोष्टिङ भएका अरु लप्टन त्यहीँ बस्नुपथ्र्यो, उनले भने दिनदिनै घर जान पाउँथे । पछि प्रज्ज्वलसमशेर राणा प्रधानसेनापति हुँदा यिनलाई दुःख दिए । त्यसपछि क्याप्टेनमै जागिर छाडे । अहिले काठमाडौं मेडिकल कलेजका निर्देशक छन् । दरबार हत्याकाण्डमा मारिएपछि राजा घोषित दीपेन्द्रकी अर्की प्रियसी सुप्रिया शाहकी बज्यै र विजयकी बज्यै दिदीबहिनी हुन् ।

ऋषिकुमारले त्रिशुलीको भालुडाँडामा ठूलो क्षेत्रफल भएको जमिन लिएर सिपाहीलाई काम लगाई गाई, भैंसी पालन र तरकारी उत्पादन गरे । ती सामग्री सैनिक तालिम केन्द्रमा बेच्थे । त्रिशुलीको सोमदाङमा सेनाले बाटो बनाउँदा सच्चितसमशेर राणा र उनलाई ठेकेदारले घर दिएका थिए । तर, ८–९ हजार फिटको उचाईमा बनेको घरमा बस्न को जाने ? त्यसैले काठमाडौंमै बसे ।

कतिसम्म हठी भने, ट्राफिकले एकछिन गाडी रोक्दा पनि रोक्नेलाई नै पिटेर हिँड्ने † बाँसबारी, न्युरो अस्पतालपछाडि, गल्फुटारमा आवास क्षेत्र निर्माणको पहल उनैले गरेका हुन् । उनका एकजना ज्वाइँ सेनाको विकास निर्माणका महानिर्देशक थिए नरेश बस्नेत । अर्का ज्वाइँ ०४२ सालमा धनगढी उडेको सेनाको जहाज दुर्घटनामा सपरिवार देहान्त भए । मेजर थिए । ती ज्वाइँ नवलपरासीतिरका कांग्रेस नेता देवेन्द्रराज कँडेलका दाइ हुन् ।

उक्त अस्पतालमा यस्तै विजोग छ, अर्का दुईतारे जर्नेलको । उनी हुन्, गुल्मी, भार्सेका नरबहादुर बुढाथोकी । पत्नी बितिन् । छोराछोरी र ज्वाइँ अमेरिका छन् । एउटा छोराको दिल्लीमा दलदलमा फसेको साथी बचाउँदा ज्यान गयो । अहिले धुम्बाराहीस्थित चप्पल कारखाना छेउछाउ बुढेसकालको बास छ, एक सिपाहीको भरमा ।

टिप्पणीहरू