निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मिल्दैन : सर्वोच्च अदालत

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मिल्दैन : सर्वोच्च अदालत

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिलेसम्म भएका सबै निर्णय र कामकारवाही बदर गरिदिएको छ । वातावरणीय दृष्टिकोणले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नमिल्ने भन्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।

न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा परेको रिटमा सुनुवाई गर्दै काम अघि नबढाउन भनेको हो ।

विमानस्थल निर्माण गर्ने क्रममा रुख काट्ने विषयलाई लिएर विवाद सुरु भएको थियो । पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पंकजकुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले सर्वोच्चमा २०७६ मंसिर १७ गते रिट हालेका थिए । रिटमा निजगढ विमानस्थलका लागि पुराना रुख रहेको जंगल विनाश गर्ने भएकाले निर्माण रोक्न माग गरिएको थियो ।

उक्त रिटमा न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले २०७६ मंसिर २० गते तत्कालका लागि निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गरेको थियो । सोही अन्तरिम आदेशलाई निरन्तरता दिँदै विपक्षीलाई लिखित जवाफ पेस गर्न पनि भनिएको थियो । सबै पक्षको सुनुवाइपछि आज अदालतले उक्त विमानस्थल निर्माण कार्य रोक्ने फैसला सुनाएको हो ।

टिप्पणीहरू