त्रियुगामा मतगणना जारी, पुनः मतदानको माग गर्दै परेको रिट ‘हेर्न नभ्याइने’ मा

त्रियुगामा मतगणना जारी, पुनः मतदानको माग गर्दै परेको रिट ‘हेर्न नभ्याइने’ मा

उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट ‘हेर्न नभ्याइने’ मा थन्किएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा पेशी चढेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो ।

त्रियुगा नगरपालिकाका निवर्तमान मेयर बलदेव चौधरीले पुनः मतदानको माग गर्दै मुद्दा हालेका हुन् । निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर रिटमा वर्षाका कारण रोकिएको जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरिएको छ ।

‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर ३० वैशाखमा मतदान स्थगित गरिएको थियो । मतदानको समय बाँकी हुँदै स्थगित गरिएकाले फेरि मतदान गर्नुपर्ने चौधरीको जिकिर छ ।

रिटमा भनिएको छ, ‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ । तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’

फेरि मतदानको माग गर्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् र रिटमा कारण देखाउ आदेश जारी भइसकेको छ । यद्यपि त्रियुगामा अहिले मतगणना भइरहेको छ ।

टिप्पणीहरू