घरमा मारेर सडकमा श्रीमती पोल्ने डिआईजीको मुद्दा उल्टियो, पूर्ववत जन्मकैदको सजाय सदर

घरमा मारेर सडकमा श्रीमती पोल्ने डिआईजीको मुद्दा उल्टियो, पूर्ववत जन्मकैदको सजाय सदर

सशस्त्र प्रहरी बल नेपालका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले गरेको निर्णय बदर गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले जन्मकैदको सजाय सदर गरेको हो ।

महाअभियोगपछि निलम्बनमा रहेका चोलेन्द्र र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले यसअघि जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो ।

उक्त फैसलालाई उल्टाउँदै आजको इजलासले कोइरालालाई जन्मकैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको हो । १५ असारमा कोइरालालाई सजायमा सहुलियत दिँदै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाउने फैसला चोलेन्द्रको इजलासले गरेको थियो ।

२०६८ सालमा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको आरोपमा तत्कालीन डीआईजी कोइरालालाई ७ वैशाख २०७१ मा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो । पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो ।

सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए । अहिले कोइराला अमेरिकामा बसोबास गर्छन् ।

टिप्पणीहरू