९ कक्षाकी विद्यार्थीलाई बलात्कार गर्ने अर्का प्रिन्सिपल समातिए

९ कक्षाकी विद्यार्थीलाई बलात्कार गर्ने अर्का प्रिन्सिपल समातिए

पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । इटहरीको ब्लूमिङ लोटस इङ्लिस स्कूलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले टोखास्थित डेराबाट पक्राउ गरेको हो ।

ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा खड्काले होटलमा लगेर बलात्कार गरेको पीडितको आरोप छ । स्कुलबाट निकालिदिने भन्दै धम्क्याएर पटक–पटक बलात्कार गरेको पीडित विद्यार्थीले समाजिक सञ्जालमार्फत खुलासा गरेपछि प्रहरीले खड्कालाई समातेको हो । उनलाई थप अनुसन्धानका लागि सुनसरी पठाइने सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए ।

२६ साउन २०७४ मा धरान उपमहानगरपालिका–१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा लगेर प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए । त्यसपछि उनले मानसिक तनाव दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए । त्यसपछि पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन् ।

लामो समयसम्म पनि प्रहरीले खड्कालाई पक्राउ गर्न सकेको थिएन । काठमाडौंमा सौन्दर्य प्रतियोगिता आयोजना गरेर सहभागीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि पीडितले यो घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

होस्टलमा बसेका बेला उनको छातीमा समस्या देखिएको थियो । उपचार गराउन विदेशबाट उनका बुबाले प्रिन्सिपलको खातामा पैसा पठाइदिएका थिए । पैसा पठाइदिएर उनलाई प्रिन्सिपलसँग अस्पताल जानु भनेका थिए ।

प्रिन्सिपल खड्काले उनलाई अस्पताल नलगी सिधै होटलमा लगेर बलात्कार गरेको भन्दै केही दिन अगाडि मात्रै पीडित युवतीले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी हुन् ।

बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपल खड्काले घर परिवारको पनि विश्वास जितेका थिए । तर, त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर होटलमा लगेर उनको स्कूलको पोशाक च्यातेर बलात्कार गरेका थिए ।

त्यतिबेला उनी १५ वर्षकी थिइन् । बलात्कार गरेपछि उनले भिडियो बनाएका थिए र पछि त्यो भिडियो देखाएर ब्ल्याकमेल गर्दै पटक पटक बलात्कार गर्दै आएको पीडितको भनाइ छ ।

टिप्पणीहरू