नेताहरुको निवासमा दिनहुँ चौतर्फी भेटघाट

नेताहरुको निवासमा दिनहुँ चौतर्फी भेटघाट

स्थानीय तहको निर्वाचनको परिणामपछि राजनीतिक दलका नेताहरुबीच भेटघाटको क्रम ह्वात्तै बढेको छ । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा अर्थमन्त्री जनार्दन शर्मा सबेरै पुग्नुभएको हो ।

उहाँहरुबीच बिहान पौने ७ बजेदेखि झण्डै एक घण्टा भेटवार्ता भएको हो । त्यसपछि यता बालुवाटारमा बिहान पौने १० बजे मन्त्रीमण्डलको बैठक बोलाइएको थियो । अधिकांश मन्त्री बैठकमा भाग लिन बालुवाटार पुगेका हुन् ।

उता भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा पनि बिहानैदेखि भेट गर्न जानेको बाक्लै उपस्थिति थियो । बिहान नेता रघुवीर माहासेठ त्यहाँ पुग्नुभएको हो । उहाँहरुबीच बिहान १० बजेदेखि साढे १२ बजेसम्म छलफल भएको एमाले स्रोतले बताएको छ ।

साँझ पनि बालकोटमा लामो भेटघाट र छलफल भएको हो । अध्यक्ष ओलीसँग उपाध्यक्ष विष्णु पौडेलले सवा ५ बजेदेखि पौने ९ बजेसम्म कुराकानी गरेर पौडेल भैंसेपाटी फर्कनुभएको हो ।

टिप्पणीहरू