उपराष्ट्रपतिदेखि भएभरका भीआईपी लैनचौरमा

उपराष्ट्रपतिदेखि भएभरका भीआईपी लैनचौरमा

हिजो साँझ अधिकांश झण्डावाल गाडीहरु झण्डा हल्लाउँदै चारैतिरबाट लैनचौरतर्फ गएका थिए । सबैभन्दा पहिले साइरन बजाउँदै नजिकै रहनुभएका उपराष्ट्रति नन्दबहादुर पुनको गाडी पनि त्यता गएको थियो । तर ती सबै भारतीय राजदूतावासमा नभई सामुन्नेको बेलायती दूतावासमा छिरेका हुन् ।

वनमन्त्री राम सहायप्रसाद यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला, सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, श्रममन्त्री कृष्णकुमार श्रेष्ठलगायतका मन्त्री त्यहाँ पुग्नुभएको हो ।

त्यसैगरी सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, विभिन्न देशका राजदूत, मन्त्रालयका सचिवहरु, केही सहसचिव लगायत पनि त्यहाँ पुगेका थिए ।

यसरी सबैजना साँझको ६ बज्दा नबज्दै त्यहाँ पुग्नुको कारण बेलायती दूतावासमा आयोजित शुभजन्मोत्सव कार्यक्रम हो । हिजो बेलायती महारानी एलिजावेथ द्वितीयाको ९६ औं जन्मोत्सव कार्यक्रममा भाग लिन अधिकांश विशिष्ट व्यक्तिहरु लैनचौर पुग्नुभएको हो ।

कार्यक्रमपछि उहाँहरु रातिको ८ बजेदेखि दूतावासबाट बाहिरिनुभएको थियो ।

टिप्पणीहरू