स्वतन्त्रले लौरो उज्याएर भाषण गर्नबाहेक के छ उपाय ?

स्वतन्त्रले लौरो उज्याएर भाषण गर्नबाहेक के छ उपाय ?

वैशाख ३० गते सम्पन्न निर्वाचनको घोषित परिणामअनुसार अहिलेसम्म ४ जना स्वतन्त्र उम्मेदवारले दल र दलीय गठबन्धनका उम्मेदवारहरूलाई चित खेलाएका छन् । यसरी चित खेलाउनेमा धरानमा हर्कराज राई साम्पाङ, धनगढीमा गोपाल हमाल, महोत्तरीको बर्दिवासमा प्रल्हादकुमार क्षेत्री मेयर र उपमेयर तारातदेवीलगायत ५ वडाध्यक्ष छन् भने अन्य धेरै स्वतन्त्र वडाध्यक्षले पनि जित्ने देखिएको छ ।

त्यसैगरी देशकै राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र मधेस प्रदेशको राजधानी जनकपुरमा मनोजकुमार साह सुडीले जित्दै या जितिरहेका छन् । यसले गर्दा दलहरूले आफ्नो नीति र चुनावी रणनीतिबारे गम्भीर हुनुपर्ने बेला भएको छ ।

देशका प्रमुख शहरमा स्वतन्त्र उम्मेदवारहरूतर्फ मतदाता आकर्षित हुनुपर्ने विभिन्न कारणमध्ये पहिलो कुरा स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारी दिने र दल गठबन्धन गर्ने अनि केन्द्रीय तहबाट फलानो चिलानोलाई भोट दे भनेर आदेश गर्ने परिपाटीविरुद्ध कार्यकर्ताहरूले विमति प्रकट गर्दै मेरा खुशीले भोट हाल्छु भनेका हुन् ।

आफ्नो पार्टीको उम्मेदवार नै नभएको ठाउँमा किन भोट हाल्ने ? जहाँ मनले खान्छ त्यहीँ खसाल्ने भन्ने सोच कार्यकर्तामा हुर्केकाले गर्दा पनि यस्तो अवस्था आएको दाबी विज्ञहरूले राखेका छन् । दोस्रो, उम्मेदवार नै असल नभएकोले गर्दा पनि अहिलेको परिणाम आएको धारणा केही विज्ञले गरेका छन् । उनीहरूका अनुसार काठमाडौंमा ठूला दलका उम्मेदवारलाई नै जनताले नरुचाएको अवस्था हो ।

धरानमा ७० प्रतिशत राई लिम्बू भएको ठाउँमा खस आर्य मञ्जु भण्डारीजस्ता उपमेयर हुँदै राम्रो काम देखाउन नसकेकालाई उठाएपछि एमालेसँग जनता रुष्ट भएका हुन् । भरतपुरको प्रमुखमा खाली बाँकी सबै सूर्य, काठमाडौंको प्रमुखमा लौरो र बाँकी रहेको सूर्यमा छाप हानेको हजारौं मतपत्र भेटिएकोले यो कुरालाई पुष्टि गरेको छ ।

स्वतन्त्र रूपमा धरानदेखि धनगढीसम्म प्रमुख पदमा जितेकाहरू यतिखेर सेनाबिनाको प्रधानसेनापति वा मन्त्रीबिनाको प्रधानमन्त्रीजस्ता बनेका छन् । अहिलेकै व्यवस्थाअनुसार अन्य ठूला राजनीतिक दलको सहयोगबिना उनीहरूले कुनै काम गर्न सक्ने अवस्था छैन । त्यसैले उनीहरूसँग कुनै एक दल नसमातिकन काम गर्ने वातावरण नै नभएको विश्लेषक बताउँछन् ।

स्थानीय तह भनेको सहमतीय प्रणाली हो । प्रधानमन्त्रीले त पेलेर लान सक्छन । तर स्थानीय निकायमा जितेका स्वतन्त्रहरूले पेल्न सक्दैनन् । यसले स्वतन्त्रले जितेका पालिकामा निकै ठूलो समस्या ल्याउन सक्ने खतरा बढेर गएको छ । यदि, दलहरूका प्रतिनिधिले स्वतन्त्र उम्मेदवारहरूलाई सघाएनन् भने पद छाडेर हिँड्नुपर्ने अवस्थासम्म सिर्जना हुन्छ । किनभने प्रमुखहरूले चाहेजस्तो बजेट पास हुँदैन ।

त्यसैले दलहरूसँग सम्झौता गर्नुपर्छ अथवा बजेट तथा कार्यक्रम पास गर्नका लागि भए पनि कुनै ठूला दलमा प्रवेश गर्नुपर्ने अवस्था रहन्छ । अथवा कांग्रेसको सरकारले बनाएकोे नीति तथा कार्यक्रम एमालेको राष्ट्रपतिले वाचन गरेजस्तो गर्नुपर्ने हुन्छ । जस्तैः अघिल्लो पटक ललितपुर महानगरपालिकाको मेयर बनेका चिरीबाबु महर्जनले नगर सभासमेत बोलाउन सकेनन, कार्यसम्पादन आफुले चाहेजस्तो ढङ्गले गर्न सकेनन् । किनभने विपक्षी दलका केही वडा सदस्य, वडाध्यक्ष र कार्यपालिकाका सदस्य उनी र उनको दलविरुद्ध उभिएका थिए ।

त्यसैले स्वतन्त्र रुपमा मेयर जितेर ठूलै उपलब्धि हात लाग्ने अवस्था भने छैन । किनभने उपमेयरदेखि सदस्यसम्म सबै अरु दलकै छन् । त्यसैले तत्कालका लागि स्वतन्त्र रुपमा जितेका मेयरहरूले लौरो उज्याएर भाषण ठोक्नुभन्दा अर्थोक केही गर्न सक्ने अवस्था देखिँदैन । भाषणमा पनि मैले गर्न चाहेको थिएँ । तर दलका प्रतिनिधिले काम गर्न दिएनन् भनेर गुनासो गर्ने कामबाहेक स्वतन्त्र रुपमा जितेकाहरूलाई प्रमुख प्रशासकीय अधिकृतहरूले पनि सघाउ गरेनन्, उनी पनि पार्टीकै रहेछन् भन्ने गुनासोसम्म थप्न सक्नेछन् ।

टिप्पणीहरू