इन्धनको मूल्यवृद्धिविरुद्ध काठमाडौंमा जताततै प्रदर्शन

इन्धनको मूल्यवृद्धिविरुद्ध काठमाडौंमा जताततै प्रदर्शन

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिका विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले आज काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । सत्तापक्षीय पाँच दल सम्बद्ध संयुक्त विद्यार्थी संगठन र प्रतिपक्ष एमाले निकट अनेरास्ववियुले अलग–अलग विरोधका कार्यक्रम आयोजना गरेका हुन् ।

आज दिउँसो सत्तापक्षीय विद्यार्थी संगठनहरुले आयल निगमको कार्यालय घेराउ गर्दै महानिर्देशकको राजीनामा मागेका थिए । निगमले तत्काल मूल्यवृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलका कार्यक्रम घोषणा गरेका उनीहरुले देशव्यापी चक्काजाम गर्ने तयारीसमेत गरेका छन् ।

यता, बिहानैदेखि उपत्यकाका विभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेका अनेरास्वियुका विद्यार्थीहरुले साँझ प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । अध्यक्ष सुनिता बरालको नेतृत्वमा आरआर क्याम्पस अगाडि अखिलका कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् ।

सरकारविरुद्ध उग्र नारावाजी गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएपछि आरआर अगाडि केहीबेर प्रहरी र विद्यार्थीबीच सामान्य झडप भएको थियो । प्रहरीले पुत्ला नियन्त्रण लिएपछि आक्रोशित विद्यार्थी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको हो ।

अनेरास्ववियुले साँझ सिट्ठी जुलुस पनि निकालेको छ । त्रिभुवन विश्वविद्यालय कमिटीले घडी भवन अगाडिबाट जुलुस निकालेको थियो भने आरआरबाट पनि जुलुस निस्केको थियो । सो क्रममा एमालेका विद्यार्थीहरुले ’गठबन्धनको उपहार महगी र भ्रष्टाचार’, ’नाफा घाटा मान्दैनन्, मूल्यवृद्धि मान्दैनौं’, ’अनेरास्ववियु जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

अनेरास्ववियुले भोलि सरकारी गाडी चल्न नदिने घोषणा गरेको छ । आफूहरुको घोषणा अटेर गरेर जर्बजस्ती चलाए तोडफोड हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उसको चेतावनी दिएको छ । मूल्यवृद्धिविरुद्ध सडकमा उत्रिएका नेकपा क्रान्तिकारी पार्टीका कार्यकर्ताले बिहानै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको गाडी तोडफोड गरेका थिए ।

टिप्पणीहरू