मोदीको कार्यक्रममा ८३१ जनालाई प्रवेश निषेध

मोदीको कार्यक्रममा ८३१ जनालाई प्रवेश निषेध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा सम्बोधन गरेको लुम्बिनीस्थित ध्यान केन्द्रको कार्यक्रममा रुपन्देही र कपिलवस्तुका केही पत्रकारलाई समाचार कभरेजमा रोक लगाइएको छ । २ गतेको उक्त कार्यक्रममा मोदी दिउँसो २ बजे आए पनि नेपाली पत्रकारलाई हलभित्र जानसमेत प्रहरीले रोकेको थियो ।

यद्यपि, केही पत्रकार लुकिछिपी पसेका थिए । लुम्बिनी विकास कोषले केही दिनपहिले कार्यक्रममा आउन भनी निमन्त्रणा पत्र व्यक्तिगत नाममै कम्प्युटर टाइप गरेर पठाएको थियो । त्यस अतिरिक्त सेनाका कर्णेल दीपेन्द्र गुरुङको हस्ताक्षर रहेको सेक्युरिटी पाससमेत दिइएको थियो । पास र निम्ता पत्र लिएर गएका पत्रकारलाई हलभित्र प्रवेश नदिइएपछि केहीबेर विवाद भयो ।

पछि प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलको समूहले पत्रकारलाई धकेल्यो । पत्रकारले त धर्ना बसेर विरोध गर्ने तयारी गरेका पनि हुन्, पछि लुम्बिनीको अन्तर्राष्ट्रिय बदनाम हुनसक्ने भन्दै त्यहाँबाट निस्किए । डिएसपी पौडेलले हेलिप्याड नजिकबाट बाहिर निस्कनै लागेका पत्रकार दामोदर शर्मा, सत्यनारायण मानन्धरहरूलाई दुव्र्यवहार नै गरे ।

बुद्धजयन्तीको हलमा जान नट अलाउडेट भनेर कम्प्युटर टाइप गरिएको ८३१ जनाको नाम लिस्ट प्रहरी अधिकारीले बोकी हिँडिरहेका थिए । निम्ता दिएर पनि प्रवेशमा रोक लगाइएको लिष्टमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठ, भैरहवा नागरिक समाजका अध्यक्ष ओमकार गौचन, होटल एसोसिएशन लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवाली, निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, प्रेस चौतारीका केन्द्रीय सचिव प्रदीप आचार्य, गौतमबुद्ध सन्देशका सम्पादक कुलमणि ज्ञवाली लगायत थिए ।

त्यस्तै पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष निरु गौतम, एभिन्युजका लुम्बिनी प्रदेश प्रमुख दामोदर खनाल, कारोबार दैनिकका प्रदेश प्रमुख मनोरञ्जन शर्मा, नयाँ पत्रिकाका प्रमुख दिपेश पछाई, अन्नपूर्ण पोष्ट्का जिल्ला प्रमुख सलमान खान, न्युज २४ का प्रदेश प्रमुख प्रकाश न्यौपाने, माउन्टेन टिभीका प्रदेश प्रमुख सत्यनारायण मानन्धर, नेपाल टिभिका मिलन गाहा, एभिन्युज टिभिकी शारदा मल्ल, सिद्धार्थ एफएमका अरुण ज्ञवालीलगायत पत्रकार तथा विभिन्न संघसंस्थाका प्रमुखको नाम छ। यद्यपि, केही पत्रकारपछि प्रहरीसँग झगडा नै गरेर भित्र गएका थिए ।

मोदी र देउवा सहभागी कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैया र कोषाध्यक्ष ढुण्डीराज भट्टराईलाई पनि प्रवेशमा रोक लगाउने तयारी भएको थियो तर कोषका मुख्य मान्छेलाई रोक्न नहुने भन्दै पछि जान दिइयो । यद्यपि, उपाध्यक्षका गाडी चालक र फोटो ग्राफरलाई पनि हलमा जान दिइएन । यद्यपि, प्रहरीले भारतीय चर्चित हिरोइन मनीषा कोइरालालाई पनि छिर्न दिएन ।

लिस्ट नै तयार गरेर हलमा जान किन रोकियो भनी धेरैले सोधीखोजी गर्न थालेका छन् । कसैले भने भारतविरुद्ध आवाज उठाउने, समाचार लेख्नेलाई रोकिएको हुन सक्ने बताएका छन्् । यो कार्य होटल पवनमा बसेको रअको टिमले गरेको केहीको आकलन छ । भैरहवा क्षेत्रकै एक जना पत्रकार र एक जना थप अर्को व्यक्तिले नै फलानो फलानो पत्रकार तथा व्यक्ति भारतविरोधी भएकाले हलमा जानबाट जसरी पनि रोक्नुपर्ने भन्दै म्यासेज गरेको बताइएको छ ।

अर्कोतिर भारतीय अधिकारीले कार्यक्रममा आउन रोक लगाइएको प्रति अनभिज्ञता प्रकट गरेका छन्् । उनीहरूले यो गृह मन्त्रालयको काम हुन सक्ने बताए । कार्यक्रममा भारतीय मिडियाकर्मीलाई बिनारोकतोक प्रवेश दिइएको थियो ।

टिप्पणीहरू