किताब छाप्न नसक्ने सरकारलाई समितिले सचेत गरायो

किताब छाप्न नसक्ने सरकारलाई समितिले सचेत गरायो

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।

जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । यस विषयमा छलफल गर्न बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीलाई बोलाएको थियो । उनीहरुसँगको छलफलपछि समितिले छापिसकेका पुस्तक तत्काल वितरण गर्न पनि निर्देशन दिएको छ ।

समितिले ३५ लाख बाँकी पुस्तक छपाईको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।

सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाईको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घर्तीले बताइन् ।

टिप्पणीहरू