रौतहटमा नेकपा एकीकृत समाजवादीले एमाले र माओवादीलाई उछिन्यो

रौतहटमा नेकपा एकीकृत समाजवादीले एमाले र माओवादीलाई उछिन्यो

नेकपा एमालेबाट विद्रोह गरेर आठ महिनाअघि गठन भएको एकीकृत समाजवादीले मधेस प्रदेशको रौतहटमा उत्साहजनक उपस्थिति जनाएको छ । पार्टीका अध्यक्ष माधव नेपालको गृह जिल्लासमेत रहेका रौतहटका १८ वटा स्थानीय तहमध्ये चार पालिकाको नेतृत्व जितेर समाजवादीले त्यहाँ जबर्जस्त प्रभाव देखाएको हो ।

दुई वटा स्थानीय तहको मतगणना जारी रहँदा समाजवादीले एमाले, माओवादी केन्द्र र जसपालाई पछि पारिसकेको छ । घोषित परिणामअनुसार काँग्र्रेसले चार, समाजवादीले चार, एमाले र लोसपाले दुई–दुई पालिका जितेका छन् । अघिल्लो चुनावमा बलियो रहेका जसपा र माओवादी केन्द्र भने एक–एक पालिकामा खुम्चिएका छन् ।

काँग्रेसले राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधवनारायण नगरपालिकाको प्रमुख जितेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको काँग्रेसले रौतहटमा यो पटक छ स्थानमा जित हासिल गरेको हो । यसअघि काँग्रेसले जित हासिल गरेको बृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।

यस्तै, एकीकृत समाजवादीले बृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिका जितेको छ भने एमालेले देवाही गोनाही र मौलापुर नगरपालिकाको नेतृत्व पाएको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक भने दुई पालिका जित्न सकेको हो । यसअघि माओवादी केन्द्रले जितेको मौलापुर र तत्कालीन संघीय समाजवादी फोरमले जितेको देवाही गोनाही एमालेले खोसेको हो ।

यसपटक पूरै मधेशमा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको (लोसपा) इशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ । गुजरा नगरपालिका जसपा र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । २०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा मात्रै पालिका जित्न सकेको हो ।

जिल्लाको १८ मध्ये १६ वटा पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । फतुवा विजयपुर र गरुडाको मतगणना भने जारी छ ।

टिप्पणीहरू