नाम जुधेपछि सीईओ भुवन दाहालझैँ अप्ठेरोमा परे पत्रकार मनोज पाण्डे पनि

नाम जुधेपछि सीईओ भुवन दाहालझैँ अप्ठेरोमा परे पत्रकार मनोज पाण्डे पनि

नाम र थर जुध्दा फाइदा भन्दा बेफाइदा नै बढी हुन्छ । त्यो पनि राम्रो काममा भन्दा नराम्रो काममा । केही वर्ष पहिले सानिमा बैंकका सीईओ भुवन दाहाललाई त्यस्तै झ्याउलो आइलागेको थियो । यही हप्ता पत्रकार मनोज पाण्डेलाई पनि त्यस्तै आपत आइपरेको हो ।

कुमारी बैंकका तत्कालीन सीईओ उदयकृष्ण उपाध्याय कोटेश्वरको एउटा क्याबिन रेष्टुरेण्टमा युवतीसँग दिउँसो रंगेहात पक्राउ परे । तीनकुने चौकीका प्रहरीले पक्रेर लगेपछि उनले फ्याट्ट नाम भने ‘भुवन शर्मा’ । त्यसपछि के चाहियो निमेषभरमा राजधानी मात्रै होइन, देशभर फैलियो ‘सीईओ भुवन केटीसँगै समातिए’ भन्ने खबर ।

तर सीईओ भुवन भनिएका भुवन दाहाल सानिमा बैंकमा काम गरिरहेका थिए । दुई दिनपछि कुरो खुल्यो उपाध्यायले नाम ढाँटेर प्रहरीलाई भुवन टिपाएका रहेछन् ।

गत साता सुन्दरी प्रतियोगितापछि राजधानीको पाँच तारे होटलमा आयोजकका एक जना सञ्चालकले किशोरीलाई बलात्कार गरेको कुरो बाहिरियो । आठ वर्षअघिको उक्त घटनामा मुछिएका व्यक्तिको नाम थियो मनोज पाण्डे । तर,केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जगजगी मच्चाएका व्यक्तिको नाम पनि मनोज पाण्डे नै थियो । सबैले उनीमाथि शंका गरे ।

मनोज पाण्डे को हुन् भन्नेबारे विस्तृत जानकारी सार्वजनिक नहुँदै उनलाई फोन थिच्नेहरु बग्रेल्ती भए । बाघ कराउनु र बाख्रा हराउनुको संयोगझैँ पत्रकार पाण्डेको मोबाइल फोन पनि अफ गरिएको पाइएपछि सबैले झन् खासखुस गर्न थाले ।

ती पाण्डे उक्त घटनामा मुछिएका थिएनन् । उनी देखापढी अनलाइन पोर्टलका प्रकाशक, सञ्चालक तथा सम्पादक हुन् । ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका भानिज हुन् ।

त्यही नाताको फेरो समातेर मनोजले नेपाल टेलिभिजनमा रवि लामिछानेले सञ्चालन गर्दै आएको सीधा कुरा प्रधानमन्त्रीको ठाउँमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाएका थिए । बालुवाटारसँग सोझो सम्बन्धको आडमा उनले बैंक तथा विभिन्न कम्पनीसँग करोडौं रुपैयाँको विज्ञापन उठाएको विषयले त्यतिबेलै चर्चा पाएको थियो । त्यस हिसाबले पनि उनीमाथि धेरैले शंका गरे ।

तर,उक्त काण्डमा संलग्न व्यक्ति इभेण्ट म्यानेज गर्ने मनोज पाण्डे भन्ने कुरो बाहिर आयो । त्यसपछि भने कुनै समय बालुवाटारमा जगजगी मच्चाएका पत्रकार मनोज पाण्डे नरहेको कुरोले उनी निकट सबैलाई राहत मिलेको बताइन्छ ।

हुन पनि आरोप नलागेका अर्का मनोज पाण्डेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनमा डेढ लाख पर्ने बुद्धको मूर्ति उपहार दिएका थिए । त्यसपछि उनले राम्रै कमाउन थाले । बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयको विज्ञापनबाट झण्डै पाँच करोड नकमाएसम्म पछाडि फर्केर हेर्नु परेको थिएन ।

उता रमेश सिलवाल सदस्य सचिव रहेको राष्ट्रिय खेलकुद परिषद्बाट मात्रै मनोज पाण्डेको कम्पनीले पाँच करोड लिएको खबर पनि त्यतिबेला छताछुल्ल भएको थियो । उनले अडियोभिजुअल डकुमेन्टेशन भनेर दक्षिण एसियाको सातै देशको खिचिएको व्यहोरामा त्यो रकम असुलेको भन्नेहरु बग्रेल्ती भेटिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली सत्तामा रहँदा उनले २० देखि २५ करोड कमाएको आकलन गरिएको थियो ।

टिप्पणीहरू