माधवद्वारा हेटौंडा पुगेर धरानका स्वतन्त्र मेयरको प्रशंसा

माधवद्वारा हेटौंडा पुगेर धरानका स्वतन्त्र मेयरको प्रशंसा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धरानमा स्वतन्त्र उम्मेदवारबाट मेयरमा विजयी हर्क सामपाङको प्रशंसा गर्नुभएको छ । हेटौंडामा पार्टीद्वारा आयोजित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरन्तर जनताको सेवकको रुपमा काम गर्ने व्यक्ति कहिल्यै पछि नपर्ने भन्दै हर्कको उदाहरण दिनु भएको हो ।

‘यहाँ हेटौँडा उपमहानगरमा पनि जनताको सेवक बन्छु भनेर हाम्रो पार्टीकी मेयर मीना लामाले घोषणा गर्नु भएको छ’, अध्यक्ष नेपालको भनाइ थियो । उहाँले उपमहानगरको नेतृत्व गर्ने एकमात्रै महिला भएको र जनजाति समुदायप्रति समेत सम्मान गर्दै लामालाई मेयर बनाइएको बताउनुभयो । ‘गफाडी बन्ने र सिन्को नभाँच्ने प्रवृत्ति पनि हामीले विगतमा भोगेका छौँ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘गफ होइन, काममा लगाव बढाऔँ र जनताको आवश्यकता पूरा गरौँ ।’ उहाँले पटक पटक हर्क सामपाङको प्रशंसा गर्नुभएको थियो ।

 

कार्यक्रममा हेटौँडा उपमहानगरकी मेयर मीना लामा, चितवनको राप्ती नगरपालिकाका मेयर समशेर लामा, हेटौँडा ९ का वडाध्यक्ष सुकराम केसीसहितका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिइएको थियो । सोही कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरी जिल्ला सचिवालय सदस्य हिरालाल स्याङ्तान एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ ।

त्यसैगरी एमाले परित्याग गरेर नामटार गाउँ विकास समितिको पूर्वध्यक्षसमेत रहनु भएका कृष्णबहादुर भोम्जनसहित दर्जनौं व्यक्ति एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवम् पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे,आन्तरिक तथा कानूनमन्त्री कृष्ण खनाल, कृषि तथा पशुपंक्षी मन्त्री वसुन्धरा हुमागाईं, पार्टी उपाध्यक्ष एवम् प्रदेश इञ्चार्ज केदार न्यौपाने, नेताहरु नागेन्द्र चौधरी, मुनु सिग्देल, मधु अधिकारी, गोविन्दराम चेपाङ, यादव गजुरेललगायतको सहभागिता थियो ।

टिप्पणीहरू