एमालेलाई हराएका माओवादी मेयरले भने ‘घाम नलाग्ने कोठामा बस्छु’
जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले हिजोदेखि कार्यभार सम्हालेका छन् । उनले ज्योतिषलाई हेराएर साइत जुराएर नयाँ कार्यकक्ष बनाएको एमालेजनको आरोप छ ।
यसअघिकी उपमेयर तथा हाल उनैसँग मेयरमा प्रतिस्पर्धा गरेकी सरस्वतीदेवी चौधरीको कार्यकक्ष भत्काउन लगाएर मेयरको कार्यकक्ष बनाउन लगाएका हुन् । उपमेयरमा निर्वाचित एमालेका भोला अधिकारीलाई समेत थाहा नदिई पौडेलले कार्यकक्ष परिवर्तन गरेको बताइन्छ ।
उपमेयरमा निर्वाचित भए पनि अधिकारीले यसअघि मेयरले प्रयोग गरेको कार्यकक्ष पाएका छन् । त्यतिबेला उक्त कोठा मेयर डा. कृष्ण पौडेलले पाँच वर्ष प्रयोग गरेका हुन् । यसअघि न्याय सम्पादनको कामसमेत हुने उपप्रमुखको कार्यकक्ष र इजलाशकक्ष भत्काएर अहिले मेयरको कार्यकक्ष बनाइएको हो । उपमहानगरपालिकाको दोस्रो तल्लामा रहेको इजलाशकक्ष भत्काएर पौडेल त्यहाँ स्थानान्तरण भएका हुन् ।
रातारात तयार पारिएको कार्यकक्षमा हिजो बिहान पौडेलले पदभार ग्रहण गरेका हुन् । न्यायिक कक्षलाई मेयरको कार्यकक्ष बनाएपछि इजलासका फर्निचर सभाहलमा अलपत्र अवस्थामा राखिएको बताइन्छ । नगर कार्यपालिकाको बैठकलगायत विभिन्न कार्यक्रम हुने हलको टेबल र कुर्सीमाथी खात लगाएर इजलाशकक्षको फर्निचर र कार्पेट जम्मा पारिएको हो ।नेपालको संविधान २०७२ धारा २१७ ले प्रत्येक स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्ष संयोजक हुने गरी न्यायिक समितिको व्यवस्था गरेको छ । न्यायिक समितिले नगर क्षेत्र भित्रबाट परेका उजुरी र विवादमा छलफल गरी न्याय सम्पादनको काम गर्ने गर्छ ।
निवर्तमान उपप्रमुख सरस्वतीदेवी चौधरीले उपप्रमुखको कार्यकक्षसँगै रहेको कोठामा न्यायिक ईजलाश बनाएर न्याय सम्पादनको काम गरेकी थिइन् । अब तत्काल न्याय सम्पादनको काम प्रभावित हुने देखिएको छ । इजलाशलाई कार्यकक्ष बनाएका पौडेलले निवर्तमान उपप्रमुखको कक्षलाई आगन्तुक कुर्ने वेटिङ रुम बनाएका छन् ।कार्यकक्ष परिवर्तन गर्नुपर्नाको कारणबारे मेयर पौडेलले पहिलेको कोठामा चर्को घाम लाग्ने भएकाले शीतल कोठा रोजेको बताएका हुन् । तर, सिमराका एमालेजनले भने पौडेललाई सूर्य चिन्हप्रति नै रोष भएकाले सूर्यको किरण नपर्ने कोठा रोजेको दाबी गरेका छन् । उपप्रमुख सूर्य चिन्हबाट जितेकाले उनलाई बिहानदेखि बेलुकीसम्म घाम लाग्ने कोठा दिएर कुनै गल्ति नगरेको माओवादीहरुको भनाइ छ ।
टिप्पणीहरू