छात्रा यौन दुर्व्यवहारमा आरोपी शिक्षक ‘पटके’ रहेको खुलासा

छात्रा यौन दुर्व्यवहारमा आरोपी शिक्षक ‘पटके’ रहेको खुलासा

सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि आयोजकले आफूलाई बलात्कार गरेको घटना एक युवतीले बुधवार सामाजिक सञ्जालबाट सार्वजनिक गरेसँगै महिला अधिकारकर्मी, सम्बन्धित निकायलगायतले सामाजिक सञ्जालमार्फत घटनाको उचित छानबिन हुनुपर्ने माग गरे ।

बलात्कार तथा यौन उत्पीडनवारे कानुनमा रहेको हदम्यादउपर पुनर्विचार गर्न संसदमा पनि कुरा उठ्यो । चौतर्फी विरोध र आलोचनापछि आरोपी मनोज पाण्डे शनिवार राजधानीको स्वयम्भूबाट पक्राउ परेका छन् ।

उक्त घटना सार्वजनिक भएको भोलिपल्टै अर्की एउटी युवती (त्यति बेलाकी किशोरी) ले आफू सात वर्षअघि प्रधानाध्यापकबाट दुई वर्षसम्म लगातार बलात्कृत भएको घटना सार्वजनिक गरिन् । काठमाडौंकै एक विद्यालयका प्रधानाध्यापकले आफूलाई ‘ब्ल्याकमेल’ गर्दै दुई वर्षसम्म करणी गरेको ती युवतीले भनेकी छन् ।

उनले प्रहरीमा उजुर गरे पनि आरोपीलाई अझै नियन्त्रणमा नलिएको गुनासो पोखेकी छन् । ती युवतीहरुले घटना सार्वजनिक गरेपछि धमाधम त्यही प्रकृतिका अन्य घटना सार्वजनिक हुन थालेका छन् ।

आफ्नो कलेजमा पनि सोही प्रकृतिको घटना भएको भन्दै आज काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरुले आन्दोलन गरेका छन् । एक जना शिक्षकले कक्षा ११ मा अध्ययनरत विध्यार्थीलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले बिहान कलेज पोशाकमै विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थी आन्दोलनलगत्तै आरोपी शिक्षक जनार्दन अधिकारी पक्राउ परेका हुन् । अधिकारीले यसअघि पनि काभ्रेको एउटा क्याम्पसकी विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको तथ्य खुलेको छ । उनले २०६४ सालमा काभ्रेको कुशादेवी क्याम्पसकी एउटी विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको खुलासा भएको हो ।

दुर्व्यवहार गरेको थाहा पाएपछि शिक्षक, प्रशासन,अभिभावक जम्मा भएर मोसो दल्ने तयारी गर्दै गर्दा अधिकारी त्यहाँबाट भागेका थिए । उक्त घटना सार्वजनिक भए पनि पीडित विद्यार्थी र अविभावकले प्रहरीमा उजुरी नदिँदा अधिकारी पक्राउ पर्न सकेका थिएनन् । तर,उनलाई मोसो दल्ने भनेर गाउँले उत्रिएपछि रातारात कुशादेवी क्याम्पसबाट भागेका हुन् ।

पाँचखालका स्थायी वासिन्दा अधिकारीलाई डेढ दशकअघि यस्तै आरोप लागेपछि राजधानी छिरेका उनले राजनीतिक शक्तिको आडमा अरु धेरै किशोरीलाई बर्बाद पारेको आशंका गरिएको छ । तर पीडित पक्षले प्रहरीमा उजुरी नदिएकाले त्यतिबेला उनी पक्राउ नपरेको प्रहरीले बताएको छ ।

अब अधिकारीविरुद्ध जबरजस्ती करणी वा यौन दुर्व्यवहारको मुद्दा आकर्षित हुने प्रहरी र अधिकारकर्मीहरु बताउँछन् । प्रहरीले उनलाई आजै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइसकेको छ । उजुरीको आधारमा मुद्दा अघि बढ्ने प्रहरीको भनाइ छ ।

पछिल्लो समय सार्वजनिक भएका यस्ता घटनाले मुलुकको कानुन, सम्बन्धित निकाय, सुरक्षा समितिहरुको चौतर्फी आलोचना भइरहेको छ । शिक्षा दिने शैक्षिक संस्थामा गुरुहरुबाट किशोरीहरु सुरक्षित नभएको पनि पछिल्ला घटनाले प्रष्ट पारेको छ ।

सुन्दरीलाई बलात्कार गर्ने पाण्डे काँग्रेस निकट भएको खुलेको छ । अधिकारी भने एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको नाम बेच्ने पात्र भएको बताइन्छ । बाँस्कोटा सञ्चारमन्त्री हुँदा अधिकारी सञ्चारविज्ञ रहेको एकथरिको आरोप छ ।

टिप्पणीहरू