रुकुम पश्चिममा काँग्रेसले आफ्नो ढाडमा टेकेर टाउकोमा हानेको एमालेको बुझाइ

रुकुम पश्चिममा काँग्रेसले आफ्नो ढाडमा टेकेर टाउकोमा हानेको एमालेको बुझाइ

माओवादीले जनयुद्धको आधारभूमि मानेको र लालकिल्ला ठानेको रुकुममा यस पटकको स्थानीय तह निर्वाचनको परिणाम उल्टो देखिएको छ । २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले ‘क्लिन स्विप’ गरेको थियो । तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका गरी छ वटा स्थानीय तह रहेकामा सबै पालिकामा नेकपा माओवादी केन्द्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए ।

जिल्लाका कुल ७३ वटा वडामध्ये ५८ वटा वडामा माओवादीले विजय हासिल गरेको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले वडामा सीमित भएका थिए । काँग्रेसले जम्मा १३ वडामा विजय हासिल गरेकामा एमालेले दुई वटा वडा अध्यक्ष मात्र जितेको थियो ।

तर पाँच वर्षपछि जिल्लामा उक्त नतिजामा केही परिवर्तन देखिएको छ । गत निर्वाचनमा १३ वडामा मात्र खुम्चिएको नेपाली काँग्रेसले यस पटक १९ वटा वडा जितेको छ । दुई वटा पालिकाको नेतृत्व पनि लिएको छ । एमालेसँग मिलेर काँग्रेसले मुसीकोटको नगर प्रमुख माओवादीबाट उछिट्याएको हो । यस पटक नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग गठबन्धन गर्दा पनि माओवादी खुम्चिनु परेको छ ।

कडा प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका महेन्द्र केसीले नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मालाई जम्मा १३ मतको अन्तरले पराजित गर्न सफल भएका छन् । यसलाई काँग्रेसले ठूलो उपलब्धीका रुपमा लिएको छ ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको गृहपालिका समेत रहेकाले यसलाई काँग्रेसले विशेष महत्वका साथ लिएको थियो । अन्ततः काँग्रेसले बाजी मार्न सफल भएको हो । काँग्रेसले प्रभाकरको वडामा समेत रवाफिलो जित निकालेको छ ।

माओवादीले एकछत्र राज गरिरहेको जिल्लामा आफ्ना उम्मेदवार विजयी हुनुलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीको भनाइ छ । अब जिल्लामा काँग्रेसको शक्ति निकै माथि पुगेको उनको भनाइ छ ।

मुसीकोटमा नगर प्रमुख जितेको काँग्रेसले नगर उपप्रमुख र धेरै वटा वडा गुमाएको छ । उपप्रमुखमा माओवादी–नेकपा एकीकृत समाजवादी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन विजयी भएका हुन् । नगरपालिकाका १४ वडामध्ये माओवादीले आठ र काँग्रेसले छ वडामा जितेको छ । माओवादीले धेरै वडा जितेको र नगर उपप्रमुख पनि माओवादी सम्मिलित गठबन्धनले जितेका कारण काँग्रेसबाट निर्वाचित नगर प्रमुख केसीलाई काम गर्न सजिलो नभएको गठबन्धनको बुझाइ छ ।

काँग्रेसले बाँफिकोट गाउँपालिका पनि जितेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा १० वटै वडा गुमाएको काँग्रेसले यो पटक वडा मात्र बढाएन पालिका अध्यक्षमै अविश्वसनीय जित निकालेको हो । अघिल्लो पटक काँग्रेस–एमाले मिल्दा पनि एक जना वडा सदस्य बाहेक अरु कुनैपनि प्रतिनिधिमा जित हासिल गर्न नसकेको काँग्रेसले यो पटक माओवादीकै मत काटेर पालिका अध्यक्ष आफ्नो पक्षमा पारेको छ । दुई वटा वडा मात्र जित्दा पनि काँग्रेसका जनककुमार बाँठा अध्यक्षमा विजयी भएका छन् ।

बाँठाले माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको झिनो मतान्तरले पराजित गरेका हुन् । पालिका उपाध्यक्षसहित १० वडामध्ये आठ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । जनमत कम हुँदा पनि बाँठाले माओवादीको प्रशस्त मत काटेको देखिएको छ । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवारले प्राप्त गरेको मतको अवस्थालाई हेर्दा बाँठाले माओवादीका मत काटेरै जितेको अनुमान गरिएको छ ।

कांग्रेसले यो पटक जिल्लाका अन्य स्थानीय तहमा भने वडा थपेको छ । एउटा वडा जितेको सानीभेरीमा यो पटक काँग्रेसले दुई वडामा जितेको छ । त्रिवेणीमा कांग्रेसले चार वडा जित्यो । अघिल्लो पटक दुई वडामा सीमित थियो । अघिल्लो पटक जितेका वडा गुमाएर पनि काँग्रेसले माओवादीले जितेका वडामा बर्चश्व कायम राखेको छ ।

आठबीसकोट नगरपालिकामा भने काँग्रेसले यो पटक पनि दुई वडामा जित्यो । अघिल्लो पटक कांग्रेसको उपस्थिति आठबीसकोटमा ती वडा मात्र थिए । चौरजहारीमा कांग्रेस अघिल्लो पटककै स्थितिमा देखियो । अघिल्लो पटक जितेका र महत्वपूर्ण मानिएका वडा नम्बर १ र २ गुमाउँदा पनि काँग्रेसले यसअघि माओवादीले जितेका वडा जित्दै वडागत नतिजामा अघिल्लो पटककै स्थितिमा उभ्याउन सफल भएको हो ।

यद्यपि काँग्रेसले चौरजहारीमा एमालेसँग गठबन्धन गरेको थियो । काँग्रेसले यो पटक जिल्लाका मुसीकोट, चौरजहारी, आठबीसकोट र सानीभेरी गाउँपालिकामा पूर्णगठबन्धन गरेको थियो भने त्रिवेणी र बाँफिकोटका केही पालिकामा आंशिक गठबन्धन गरेको थियो ।

जिल्लामा यो पटक काँग्रेससँग मिल्दा पनि नेकपा एमालेलाई कुनै फाइदा भएन । अघिल्लो चुनावमा एक्लै लड्दा पनि दुई वडामा जीत हासिल गरेको एमालेले अहिले काँग्रेससँग मिल्दा पनि वडा थप्न सकेन ।

एमालेले चौरजहारीमा अघिल्लो पटक जितेको वडा गुमायो भने आठबीसकोटमा दुई वडामा जितेको छ । काँग्रेसले इमान्दारीता नदेखाउदा अपेक्षित परिणाम हासिल हुन नसकेको एमालेका नेता, कार्यकर्ताहरु बताउँछन् । आफूहरुले इमान्दारीपूर्वक भोट हाले पनि काँग्रेसले धोका दिएको एमालेका नेताहरुको ठहर छ ।

माओवादीले भने जनमत नघटेको तर प्राविधिक कुरा नमिलेको भन्दै चित्त बुझाउन खोजेको छ । रुकुम पश्चिमलाई माओवादीले गढ ठान्दै आएको छ । तर अहिलेको नतिजालाई लिएर माओवादीको किल्ला भत्कियो भन्ने किसिमले चर्चा हुन थालेको छ । माओवादीले उक्त प्रचारमा कुनै सत्यता नभएको बताएको छ ।

‘जनमत केही भएको छैन, बरु अघिल्लो निर्वाचनको तुलनामा बढेको छ, केही ठाउँमा प्राविधिक कुराहरु नमिल्दा अप्रत्यासित हार व्यहोर्नुपर्यो । यसले हामीलाई थप सुधृढ भएर जाने मौका दिएको छ । जिल्लामा माओवादी आन्दोलन थप सशक्त भएर अगाडि बढ्छ,’ माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाको भनाइ हो यो ।

माओवादी रुकुम पश्चिममा कमजोर नभएको उनको दाबी छ । मुसीकोटमा षड्यन्त्र गरेर हराइएको र उक्त नतिजा स्वीकार नभएको अधिकांश माओवादीको एउटै बोली छ । यसबारे कानुनी उपचार खोज्ने उनीहरुको भनाइ छ । तर, परिणाम घोषणा भएर जनप्रतिनिधिले पद बहाली गरिसकेका छन् ।

टिप्पणीहरू