यतिबेला शुभकामना शब्दको उपयोग कि दुरुपयोग ?

यतिबेला शुभकामना शब्दको उपयोग कि दुरुपयोग ?

शुभकामना शब्द आफैंमा पवित्र, सुन्दर र ओझिलो छ । विभिन्न चाडपर्व,खुशियाली, जमघट,उत्सव,वा भविष्यमा गर्न लागिएको कुनै पनि योजनाको सफलताको निम्ति यहि शब्दको प्रयोग र साटासाट गरिन्छ । चाहे सामाजिक कार्यमा होस् वा राजनीतिक क्षेत्रमा जताततै यहि शब्दमार्फत् कामना हुने गर्दछ ।

तर पछिल्ला दिनमा यस्तो पवित्र शब्दको अपमान भइरहेका सन्दर्भहरु धेरै पाइन थालेको छ । अहिले जताततै चुनावी माहौलमा विजेतालाई यहि शब्दले बधाई दिइँदै छ ।

राजनीतिक दल र तिनका कार्यकर्ताले दिने दलीय शुभकामनाको पाटो अर्कै छ । चुनावमा उम्मेदवारी दिने चर्चा चलिरहँदा पनि शुभकामनाको ओइरो,उम्मेदवारी छनौट भएपछि त झनै ताँती लागेर घर घरमै पुगी विजयको निम्ति अग्रिम शुभकामना र बधाई दिने प्रवृत्ति जताततै र जुनसुकै पार्टीका नेता तथा कार्यकर्तामा देखिएकै हो ।

जब उम्मेदवारले चुनाव जिते काँधमै बोकेर दुई चार फन्को घुमाएर शुभकामना दिनेको कुनै सीमा देखिएन । अबिर र माला लगाउने, खादासहित ओछ्यानमै पुगेर भए पनि घाँटीमा भिराइदिने र फोटो खिचेर फेसबुकमा चाप्लुसीको भाषासहित स्ट्याटस पोष्ट गर्नेको कहिँ कतै कमि देखिएन । अनि त्यसमा दाँत देखाएर उभिएको फोटो अनिवार्य शर्त नै हुने भयो ।

कुनै पनि विजयी उम्मेदवारले जिम्मेवारीमा रहेर सिन्को नभाँचेको अवस्था एकातिर छ । तर पनि विकास र समृध्दिको कायापलट नै गरेझैँ,एक राते दही झैँ गोडा मोल्ने गज्जबको राजनीतिक विकृत संस्कार अहिले सबै राजनीतिक दल, नेता र उम्मेदवारमा पाइनु अर्को विडम्बना हो ।

झण्डै ९८ प्रतिशत पालिकामा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । उनीहरुलाई दिनहुँ भेटेरभन्दा सामाजिक सञ्जालमार्फत बधाई र शुभकामना दिनेहरुको ओइरो देखिन्छ । शुभकामना र बधाईमा सचेत गराइएको बारे चाहिँ कहिँ कतै अक्षर खर्च गरेको देखिँदैन । अब सोचौं यी सबै कार्य के लागि भइरहेका छन् ?

कतै जागिर पाइन्छ कि ? मेरो स्वार्थ पूरा हुने काम गर्दिन्छ कि ? ठेक्कापट्टा मिलाई दिन्छ कि ? कारवाहीबाट जोगाइदिन्छ कि ? भन्ने अनेकौं स्वार्थप्रेरित बधाई र शुभकामनाको अर्थ नै के रहन्छ र ? यदि हामीले दिएका शुभकामना सम्बन्धित व्यक्तिले हेर्छन्,पढ्छन् र मनन् गर्छन् भने भावी चुनौती र सम्भावना एवम् गर्नैपर्ने काम र कर्तव्यलाई झक्झकाउने वाक्यसहितका शुभकामना सन्देश दिने हो । त्यसो गर्दा उनीहरु सचेत बनेर जनताको काममा लाग्न सक्छन् कि भन्ने खबरदारी पनि हुन्थ्यो ।

अधिकांश शुभकामनामा घुमाउरो तवरले आफ्ना मत र परिवारसँग निकट रहेर जनप्रतिधिलाई नजिक्याउने र फोटोसहितका विवरणले छिमेकी,इष्टमित्र र साथीभाइलाई ऊ वा उनीसँगको सम्बन्ध देखाउने स्वार्थ लुकेकोमा कसैको दुई मत छैन । निस्वार्थ शुभकामनामा मूल समस्याको चित्रण,समाधानको उपाय र सम्भावनाको बारेमा सल्लाह सुझाव पनि मिसिनुपर्छ । होइन भने त्यो शुभकामना नभएर डिजिटल चाकडी सिवाय अरु केही हुनै सक्दैन ।

समाचारको आशय कसैलाई पनि शुभकामना तथा बधाई दिनै हुन्न, खादा वा माला लगाइदिनु हुन्न भन्न खोजिएको कदापी होइन । तर, सामाजिक सञ्जालमार्फत् दिन थालिएका पछिल्ला शुभकामनामा चाकडी र बिचौलियाको गन्ध किन आउन थालेको होला ? आवश्यकताभन्दा बढी सन्दर्भ र निकटता जोडिएका शुभकामनाले सम्बन्धित व्यक्तिलाई आदर्शमा भन्दा पनि खराब मार्गमा लाग्न प्रेरित गर्ने निश्चित छ ।

मतदाताको प्रत्यक्ष निगरानीमा रहेर जनताको भावनाअनुरुपको काम सफलतापूर्वक सम्पन्न गर्ने जो कोहीलाई उसको कार्य र सफलताबमोजिमको बधाई र शुभकामना दिँदा आमजनताको मन पनि प्रफुल्लित होओस् । त्यो शब्दको ओज कायम रहोस् । त्यस्तो अवस्थामा शुभकामना दिने,लिने र देख्ने सबैलाई एक किसिमको गर्वको अनुभूति होओस् ।

चाडपर्व,विवाह,जन्मदिन वा व्यक्तिगत सफलतामा दिइने शुभकामना तथा राजनीतिक सफलता र जिम्मेवारी बहन गर्दैगर्दा वा सार्वजनिक ओहोदामा पुग्ने व्यक्तिलाई दिने शुभकामनामा धेरै फरक हुनु पर्ने हो । तर,राजनीतिक विकृतिको शुभकामनाले शब्दको ओज नै घटाई दिएको महसुस हुन थालेको छ ।

टिप्पणीहरू