निर्वाचित हुने जनप्रतिनिधिलाई यो निवेदन

निर्वाचित हुने जनप्रतिनिधिलाई यो निवेदन

महाभारतमा यक्षले युधिष्ठिरलाई एउटा प्रश्न गरेका थिए, ‘श्रेष्ठ दान कुन हो ?’ जवाफमा युधिष्ठिरले भने, ‘जुन दान असल पात्रलाई दिइन्छ । जसले प्राप्त दानलाई असल कार्यमा लगाउन सक्छ । त्यो नै श्रेष्ठ दान हो ।’ जर्नालिस्ट अन्जन कुमारको स्थानीय निर्वाचनकै सन्दर्भमा केही दिनअघि पोष्ट भएको स्टाटस हो यो । भर्खरै जनताले स्थानीय तह निर्वाचन २०७९ का उम्मेदवारहरूलाई आ–आफ्नो मत दान गरेका छन् ।

मत गणना हुँदै मतपरिणाम आउने क्रम जारी छ । जनताले आफ्नो अमूल्य मत कत्तिको असल पात्रलाई दान गरे वा निर्वाचित प्रधिनिधिहरूले प्राप्त जनमतको कत्तिको सदुपयोग गर्ने हुन् ? त्यो त भोलिको दिनले देखाउने नै छ । धेरै जनताको मत पाएर अहिलेसम्म ज–जसले जिते, जित्दैछन् र जित्नेछन् सबैलाई हार्दिक बधाई र शुभकामना ! हार्नेहरूले पनि मन सानो नबनाउनुस् । चुनावी प्रतिस्पर्धा हो, हारजित त भइहाल्छ । राम्रो काम गर्दै गए भोलि फेरि पालो नआउने होइन ! अहिले चुनाव जितेर आउने जुनसुकै पार्टी र उम्मेदवारले आफ्नो गाउँ–ठाउँको आवश्यकता र सम्पूर्ण जनताको अपेक्षालाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ ।

पालिका र वडामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरू जो–जो जुनसुकै पार्टी वा समूहबाट विजयी भए पनि मिलेर काम गर्नुस् । आपसमा झगडा नगर्नुस् । जनतालाई पनि दलगत चश्माले नहेर्नुस् । आफ्नो र अर्काको मतदाता भनेर विभेद नगर्नुस् । समान व्यवहार गर्नुस् सबैलाई । आफ्ना मतदाता भए पनि, नभए पनि सबैतिर समान विकास गर्नुस् । तपाईं कुनै पार्टी वा समूहको नेता कार्यकर्ता मात्रै होइन अब चुनाव जितेर जिम्मेवार जनप्रतिनिधि भइसकेपछि कसैलाई काखापाखा गर्न मिल्दैन । ‘हाम्रो मान्छे’को होइन, सम्पूर्ण जनताको अभिभावक बन्न सक्नुस् । जनतासामु गरेका वाचा, प्रतिबद्धता इमानदारीसाथ पूरा गर्न लागिपर्नुस् ।

यतिबेला सबै ठाउँका जनता महँगीले हायलकायल छन् । कालोबजारी र विचौलिया नियन्त्रण गरी जनतालाई महँगीबाट राहत दिलाउन सबै जनप्रतिनिधिहरू तत्काल लागिपरिहाल्न आवश्यक छ । बेरोजगारी समस्याले घरपरिवार र देश छोडेर हाम्रा हजारौं–लाखौं युवा विदेशी भूमिमा श्रम बेच्न जान विवश छन् । देभभित्रै रोजगारीको अवसर सिर्जना गरेर युवाशक्तिलाई विदेशिनुपर्ने बाध्यताबाट बचाउनुस् । आशा गरौं, अबका दिनमा रोजगारीका लागि विदेशिने लस्कर पातलिँदै जानेछ ।

शिक्षा र स्वास्थ्यलाई सबै जनताको सहज पहुँचमा पु¥याउनुस् । यिनमा भइरहेको चर्काे व्यापारीकरणलाई रोक्नुस्, छेक्नुस् । पैसा नभएकै कारण कोही पनि जनता स्वास्थ्य सेवा नपाएर अकालमा मर्न नपरोस् । शिक्षाबाट कसैका छोराछोरी पनि वञ्चित नहोउन् । सामुदायिक विद्यालयको शिक्षालाई नै गुणस्तरीय बनाएर उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था मिलाउनुस् । प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिनुस् ।

विपन्न र जेहेन्दार विद्यार्थीको सम्पूर्ण शिक्षाको जिम्मा लिनुस् । स्वच्छ खानेपानी र विद्युत् सेवा सबैतिर पु¥याउनुस् । जल, जमिन र जङ्गलको संरक्षणमा ध्यान दिनुस् । कृषि, पर्यटन, सिञ्चाइ, सडक, यातायातजस्ता विकासका पूर्वाधारहरूको योजनाबद्ध विकास गर्नुस् । निकासविनाको विकास कतै नहोस् । वातावरणमैत्री विकासमा लाग्नुस् । सम्भावित विपद्को जोखिम र महामारीबाट जनतालाई बचाउन पूर्वतयारी र भरपर्दाे योजनाकासाथ काम गर्नुस् ।

भूमिहीन, सुकुमवासीहरूलाई यसपालि सबै तहमा लालपुर्जा वितरण गरेर सक्नुस् । ता कि आगामी चुनावमा ‘सुकुमवासीलाई जग्गा र लालपुर्जा’ भन्ने नारा नै नहोस् । पुराना काम पूरा गरेर हरेक चुनावमा नयाँ–नयाँ एजेण्डा लिएर आउनुस् । गएको पाँच वर्षमा केही ठाउँमा सुकुम्वासीहरूलाई जग्गाधनी पुर्जा वितरण गर्ने कामको शुरुवात भइसकेको छ । अबको कार्यकालमा सबैतिर यो काम सम्पन्न गर्नुस् । भूमिहीन, सुकुमवासीहरूको वर्षाैंदेखिको आशा पूरा गर्नुपर्छ । भोका नांगाको रोटी, कपडा बन्नुपर्छ तपाईंहरू । श्रमजीवी र मजदुर वर्गको हितमा काम गर्नुस् । उद्योग, व्यवसायको विकासमा लाग्नुस्, उद्योगी, व्यवसायीको समस्या बुझ्नुस्, लगानीमैत्री वातावरण सिर्जना गर्नुस् ।

व्यक्तिगत र पार्टीगत स्वार्थमा नअल्झिनुस्, नातावाद–कृपावादमा नभुल्नुस् । लोभलालचमा नफस्नुस् । दलाल पुँजीपतिको मतियार नबन्नुस् । भ्रष्टाचार नगर्नुस्, हुन नदिनुस् । ढोका थुनेर काम गर्ने होइन अब स्थानीय तहलाई पारदर्शी बनाउनुस् । विकास–निर्माणलगायत हरेक काममा हुने घुसखोरी र कमिसनको खेललाई रोक्ने ल्याकत राख्नुस् । स्थानीय स्रोत–साधनको कुनै हालतमा दुरूपयोग हुन नदिनुस् ।

विकृति–विसंगति, चोरी–तस्करी नियन्त्रण गर्नुस् । सुशासन कायम राख्नुस् । जनतालाई दिने हरेक, सेवा–सुविधालाई छिटोछरितो बनाउनुस् । आफ्नो पार्टी, मतदाता वा नजिकको मान्छे भनेर अपराधीलाई जोगाउनपट्टि नलाग्नुस् । अन्यायमा परेका हरकोहीलाई न्यायको अनुभूति दिलाउनुस् । छलकपट गर्दै नगर्नुस्, सत्यको बाटो हिँड्नुस्, असत्यका विरुद्ध खुलेर लड्नुस् । अराजकता र दण्डहीनताको तपाईंहरूले अन्त्य गर्नुपर्छ । बङ्ग्याउन नमिल्ने हिसाबले कानुनलाई सीधा र मजबुत बनाउनुस् । ‘सानालाई ऐन, ठूलालाई चैन’ अब कतै पनि नहोस् ।

शासकभन्दा पनि जनताको सेवक भएर काम गर्नुस् । चुनाव नभएपनि जनताको समस्या बुझ्न बेलाबेला घरदैलोमा जाने गर्नुस् । जनताको चाहना, आवश्यकता, सल्लाह र सुझावलाई सदा शिरोपर गरेर अगाडि बढ्नुस् । पार्टी अनि जात, धर्म, लिंगको आधारमा कहीँकतै भेदभाव हुन नदिनुस् । सामाजिक सद्भाव, सुरक्षा र एकता बढाउनुस् । कला, साहित्य, धर्म, संस्कृतिको जगेर्ना गर्नुस् ।

अन्तको राम्रा–नमूना कामको अनुशरण गर्नुस् तर बेतुकको देखासिकी गरी अनुत्पादक क्षेत्रमा लगानी नगर्नुस् । भ्युटावरले होइन, तपाईंको भिजनपावरले तपाईंको ठाउँ सुन्दर बन्नुपर्छ । यो पाँच वर्षमा गर्ने कामले नै तपाईंको आगामी दिनको राजनीतिक भविष्य निर्धारण गर्ने हुँदा असल, इमानदार भएर यसलाई सफल बनाउनतिर लाग्नुस् ।

– अजय गोर्खाली

टिप्पणीहरू