बलात्कारमा हदम्याद नलगाउन निर्देशन
प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिको बैठकले बालबालिका तथा महिलामाथि हुने यौन हिंसा,जबरजस्ती करणीजस्ता जघन्य अपराधहरुका घटनामा विद्यमान हदम्यादको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको औंल्याएको छ ।
गृहसचिवको उपस्थितिमा बसेको बैठकले हदम्याद संशोधन गर्न आवश्यक रहेको निश्कर्ष निकालेको हो । बैठकले संशोधन गर्ने सरकारी विधेयकहरु तयार गरी संसदमा यथाशीघ्र दर्ता गराउन नेपाल सरकारअन्तर्गत विभिन्न मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यसैगरी,सुन्दरी प्रतियोगिता, मोडलिङलगायत क्षेत्रमा विस्तृत छलफल गरी तत्कालै नीतिगत स्पष्टता कायम गराएर मात्र सन्चालन गर्न दिन समितिले भनेको छ ।
‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ,सम्बद्ध प्रतियोगिता र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर,जात,योग्यता)मा आधारित कुनै पनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र सञ्चालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ’ समितिको निर्णयमा भनिएको छ ।
महिला हिंसाविरुध्दको उजुरी–मुद्दाहरुलाई उच्च प्राथमिकता दिई द्रुत गतिमा न्याय दिने अवस्था श्रृजना गर्न,पीडितलाई संरक्षण एवं मनोपरामर्श उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिइएको छ ।
यौन हिंसाको घटनामा मतियारको भूमिका निर्वाह गर्नेहरुलाई कानुनको दायरामा ल्याउने जिम्मा भने गृह मन्त्रालयलाई सुम्पिएको छ । ‘सुन्दरी प्रतियोगिता’ का नाममा आयोजकबाट आठ वर्षअघि एक किशोरीमाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि समितिले ध्यानाकर्षण भएको जनाएको हो ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/samsadiya-samittee-nirnaya-92-ff.pdf”]
टिप्पणीहरू