पाँच वर्षमै किन गयो रविन्द्र मिश्रको पार्टीमा पहिरो ? « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

पाँच वर्षमै किन गयो रविन्द्र मिश्रको पार्टीमा पहिरो ?

प्रकाशित मिति :  १० जेष्ठ २०७९, मंगलवार १२:००


वैकल्पिक शक्तिको रुपमा स्थापित हुन सकिन्छ भन्ने महत्वाकांक्षी उध्देश्यसहित साझा पार्टीको नाममा आशा देखाउने एजेण्डा बोकेर एउटा समूह राजनीतिमा देखाप¥यो जसको नेतृत्व बीबीसीका पूर्व कर्मचारी रविन्द्र मिश्रले गरेका थिए । लामो समय पत्रकारितामा रहेका मिश्रले यी राजनीतिक दलहरुबाट मुलुक अघि बढ्न सक्दैन, अब हामी केही गर्न सक्छौं भन्ने युवाहरुको नेतृत्वमा साझा पार्टी दर्ता गरे ।

धेरै युवा अब देशमा केही गर्न सक्ने शक्तिको जन्म भएको छ भन्दै उनको पार्टीमा संगठित पनि भए । रविन्द्र राजनीतिमा आउँदा अहिले बालेनको हकमा जस्तै जनताको आशा देखिन्थ्यो । काठमाण्डौ–१ बाट ०७४ को चुनावमा सोहिबमोजिम भोट पनि गएकै हो । निश्चय नै पुराना दल र नेताहरुले गफ धेरै, काम कम गरेको कारण छिमेकी भारतको नयाँ दिल्ली राज्यमा आम आदमी पार्टी र अरविन्द केजरीवालकै शैलीमा वैकल्पिक शक्ति जन्मियोस् भन्ने नेपाली जनताले चाहेकै हुन् ।

त्यहीबेला विवेकशील नाम राखेर साझा पार्टी जस्तै अर्को दलको पनि जन्म भयो । यी दुवै पार्टीले आफूलाई वैकल्पिक शक्ति ठानेर २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिए । अपेक्षा गरिएभन्दा धेरै मत ल्याएर जनतामाझ जबर्जस्त आफूलाई स्थापित गर्न कोसिस पनि गरे । उज्वल थापाको नेतृत्वमा रहेको विवेकशीलले काठमाडौं महानगरको मेयरमा रञ्जु दर्शनालाई उठायो । उनले २३ हजारभन्दा बढी लोकप्रिय मत प्राप्त गरिन् भने मिश्रको साझा पार्टीले ईञ्जिनियर किशोर थापालाई उठाउँदा १९ हजार मत झ¥यो ।

एजेण्डा, नीति र सिद्दान्त मिल्ने भएपछि अन्ततः यी दुवै पार्टी एकता गरेर विवेकशील साझा पार्टी नामाकरण गरी राजनीतिमा होमिए । एकीकरणपश्चात यो पार्टी पनि अरु राजनीतिक दलभन्दा फरक हुन सकेन । नेकपाजस्तै टुटफुटको शिकार बन्न पुग्यो । जनता र युवा शक्तिले भरोसा गरेको पार्टी एमाले, कांग्रेस, माओवादी र मदेशवादी दलहरु भन्दा कहिँ कतै, कुनै हिसाबले पनि फरक हुन सकेन । तत्कालीन अध्यक्ष उज्वल थापाको कोभिडका कारण निधन भएपश्चात त यो दल झनै छिन्नभिन्न हुने अवस्थामा पुग्यो । मिलन पाण्डेहरु कार्वाहीमा परे, रञ्जुले बिहेवारी गरिवरी राजनीतिबाटै सन्यास लिइन् ।

एउटा समूहले अर्कोलाई कारबाही गर्दै आफू–आफू झगडामा तल्लिन बने । नाम विवेकशील, काम भद्रगोलपूर्ण हुन गयो । यो पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । यही सेरोफेरोमा रविन्द्र खेमाले काठमाडौं महानगरको मेयरनिम्ति समीक्षा बाँस्कोटालाई उम्मेदवार बनायो । अहिले मतगणना भैरहेको छ तर मतको चाहिँ नामनिशाना कहीँ, कतै देखिँदैन । अघिल्लो स्थानीय निर्वाचनबाट आशालाग्दो शक्तिको रुपमा उदाएको पार्टी ५ बर्ष नपुग्दै किन गुमनाम स्थितिमा पुग्यो होला ? प्रश्न गम्भीर छ । यसको जवाफ रविन्द्र मिश्रले अध्यक्ष हुनुको नाताले मतदान गर्ने जनतालाई र उनको पार्टीप्रति आस्था र विश्वास राख्ने आम जनसमुदायलाई दिनु पर्छ कि पर्दैन ?

मिश्रले आफ्नो पार्टीको नीति, सिद्दान्त नै राजसंस्था पुनस्र्थापना गर्ने रहेको प्रतिवेदन पेश गर्नु र यता हिन्दूत्वको नारा भजाउने राप्रपामा उपाध्यक्षको जिम्मेवारीसहित प्रवेश गर्न वार्ता चलाउनुले उनी राजनीतिमा आउनुको खास मक्सद छर्लङ्ग हुन्छ कि हुन्न ?

गणतन्त्रात्मक राज्यव्यवस्था स्थापना भैसकेको अवस्थामा जन–आन्दोलनको बलले फालिएको राजतन्त्र फर्काउने सुर कस्दा न पार्टी सग्लो रहयो न त जनताको साथ नै । राजनीति पत्रकारिता गरेजस्तो हुँदैन भन्ने कुरा मिश्रले राम्रोसंग बुझेको हुनु पर्दछ । लाखौँको जागिर छोडेर राजनीतितिर लाग्नु र राजा फर्काउने कुरा गर्नु भनेको कतै न कतैबाट भरथेग हुनु हो भन्न कुनै गाह्रो छैन । साँच्चै देश विकास गर्छु र जनतालाई मूर्ख बनाउँदै आएका दलहरुलाई विस्थापित गरी जनताको सेवामा समर्पित हुन्छु भन्ने पवित्र सोच हुन्थ्यो भने मरिसकेको संस्थालाई फेरि पनि काँध हालेर हिंड्ने काम सायद गरिन्नथ्यो ।

अघिल्लो निर्वाचनमा प्राप्त मत परिणाममाथि टेकेर त्यही हिसाबको नेतृत्व र नीति हुन्थ्यो भने यसपटकको निर्वाचनमा परिणाम विवेकशीलको राम्रै आउनसक्थ्यो तर साउन, भदौको भेलजस्तै उर्लिएर आयो र अन्ततः पानीको थोपाजस्तै सुकेर जाने अवस्था बन्यो ।


प्रतिक्रिया दिनुहोस !