निर्वाचन अधिकृतको अभिव्यक्ति, पत्रकारलाई भत्भती

निर्वाचन अधिकृतको अभिव्यक्ति, पत्रकारलाई भत्भती

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीसँग गैंडाकोट, नवलपरासीका पत्रकार रुष्ट छन् । मतगणनास्थलमा पत्रकारलाई सहज प्रवेश तथा सूचना संकलनका लागि खुला वातावरण नभएपछि असन्तुष्ट पत्रकार उनको अभिव्यक्तिबाट झन् आक्रोशित भएका हुन् ।

पत्रकारसँग विवाद बढ्दै गइरहेका बेला उनले आफ्नो फेसबुकमा अंग्रेजीमा यसो भनेर लेखिन्, ‘I don’t bark back at dogs, I have them locked in the kennel i build simple’ (कुकुरले टोक्यो भनेर म कुकुरलाई टोक्दिनँ, बरु खोरमा थुनिदिन्छु । यो सामान्य हो ।)

उनको यो अभिव्यक्तिले पत्रकारको चित्त दुखाएको छ । मुनाकमीले कुकुर भनी आफूहरूलाई नै इंगित गरेको पत्रकारको ठहर छ । यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले प्रेस विज्ञप्ति निकालेर भनेको छ, ‘स्थानीय तहको निर्वाचन २०७९ लाई सफल बनाउन दिनरात नभनी खटिएका पत्रकारलाई यसअघि पनि अभद्र व्यवहार गर्ने र निर्वाचनसम्बन्धी समाचार संकलनमा समेत सहजीकरण नगरेको भनी पटक–पटक आएका गुनासोहरूलाई मौखिक रूपमा अनुरोध गरी केही सहज बनाइएको भए पनि पुनः फेसबुकमार्फत् पत्रकारलाई लक्ष्य गरी तुच्छ शब्दमा गाली गर्नाले निज दीपशिखा मुनाकमी पौडेलको क्रियाकलापबाट सिंगो सञ्चारजगत दुःखी भएको छ । पत्रकारको मानमर्दन हुनेगरी गरिएको उक्त क्रियाकलापको नेपाल पत्रकार महासंघ घोर निन्दा र भत्र्सना गर्दछ । नेपाल सरकारको जिम्मेवार निकायमा कार्यरत सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको यस्तो किसिमको क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ मौन बस्न नसक्ने स्पष्ट पार्दै यस्ता कार्य तत्काल रोक्न अनुरोध गर्दछौं ।’

नाराबाजीमै उत्रिएर मुनाकमीलाई सबक सिकाउनुपर्ने असन्तुष्ट पत्रकार बताउँदैछन् । पत्रकार लेखाराम सापकोटा सोमबार गैंडाकोटका पत्रकारको ग्रुपमा भन्दै थिए, ‘त्यसै नछोडौं । घेराउ गरौं । कान समातेर उठबस गराऔं । साथीहरू, यस्तो बेलामा एकमत हुनुपर्छ । म पनि आउँछु । यत्तिकै छोडियो भने उनलाई यस्तो हर्कत गर्न बल मिलिराख्छ ।’ यस्तो समयमा सबै मिलेर बोल्नुपर्ने, उनलाई साइजमा ल्याउनुपर्ने, चितवनका पत्रकार साथीहरूलाई पनि खबर गरेर उनका विरुद्ध बहिष्कारको नाराबाजी गर्नुपर्ने भन्दै गैंडाकोट, नवलपुरका पत्रकार एकमत हुँदै छन् ।

पत्रकारबाट व्यापक विरोध भइरहे पनि मुनाकमीले आफ्नो फेसबुकबाट उक्त स्टाटस हटाएकी छैनन् । सोमबार भेट्दा नहटाउने बताइन् । ‘मैले कसैलाई तोकेर भनेको छैन, यो मेरो अभिव्यक्ति स्वतन्त्रताको कुरा हो’, सर्वाेच्च अदालतको इजलास अधिकृतबाट यहाँ खटिएकी उनले भनिन्, ‘जसरी चुनावमा भोट केमा हालेको भनी कसैलाई भन्न जरुरी छैन । त्यसैगरी मेरो यो स्टाटस पनि कोप्रति लक्ष्यित हो, त्यो मैले खुलाउन आवश्यक छैन ।’

पत्रकारलाई सजिलो होस् भनेर आफूले ‘फोर्थ अर्गान गैंडाकोट फर इलेक्सन अपडेट’ भन्ने मेसेन्जर ग्रुप नै बनाई सूचना प्रवाह गर्दा पनि सुख नपाएको उनले बताइन् । ‘११ गते खासै मनोनयन दर्ता भएन । १२ गते दुई बजेपछि व्यापक भीड भयो । पत्रकारले साँघुरो प्यासेजमा बसेर ठेलमठेल गर्दै फुटेज लिइरहनुभएको थियो ।

त्यतिखेर मैले भीडभाड नगर्नुस्, टाढाबाट खिच्नुस् चाहिँ भनेको हुँ’, उनले भनिन्, ‘मतगणनाका लागि प्रतिनिधि कर्मचारी राख्ने लिस्टमा प्रमुख पार्टीहरूबाटै पाँचजना पत्रकारको पनि नाम थियो । मैले त्यो हटाइदिएको हुँ ।’ त्यही भएर पनि पत्रकार आफूविरुद्ध खनिएको हुनसक्ने बताउँछिन् । भन्छिन्, ‘नमूना मतदान सञ्चालन गरेको बेला आउने पत्रकारलाई पनि डेमो गराएँ । पत्रकार पनि कन्फ्युज भएका थिए । त्यसपछि हाँसोठट्टामै भनेकी थिएँ– तपाईं–हामीजस्ता मान्छेलाई त यति गाह्रो छ । अरुलाई के होला ? भनेर ।’

पत्रकार नारायण शर्माले आफूविरुद्ध अन्य पत्रकारलाई पनि उचालेको उनको आरोप छ । ‘आफूलाई ठूलो ठान्दै पहिला सूचना आफैंलाई दिइयोस् भन्ने उहाँको चाहना थियो । उहाँले व्यक्तिगत रूपमा सूचना माग्नुहुन्थ्यो । तर मैले सबैलाई एकैचोटि ग्रुपमा राख्थें’, मुनाकमीले भनिन्, ‘त्यसपछि ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्दै तपाईं को हो ? भनी शर्मा मसँग बम्किएका थिए । कावासोतीमा दिने, तपाईंले किन नदिने भन्ने उहाँहरूको भनाइ थियो ।’

कावासोतीका निर्वाचन अधिकृतले ‘पत्रकारले मलाई पनि घाँटी अँठ्याइसके, समातेपछि छोड्दैनन्, उनीहरूलाई जे गर्छन् गर्न दिनुस्, छोडिदिनुस्’ भनेको मुनाकमीले सुनाइन् । यसैगरी सिडिओले पनि छोडिदिनुस् भनेपछि अहिले आफूले कडाइ गर्न छोडिदिएको उनले बताइन् । ‘३१ गते उप्रान्त सहायक निर्वाचन अधिकृतलाई नै पत्रकारसँग डिल गर्न भनेको छु’, उनले भनिन्, ‘मलाई क्यामेरामा देखिने र रेडियोमा सुनिने रहर पनि छैन ।’

– अजय गोर्खाली

टिप्पणीहरू