बुझ्नेलाई त यही कुरा गहिरो छ

बुझ्नेलाई त यही कुरा गहिरो छ

– वैकुण्ठ ढकाल

रूपचन्द्र बिष्टलाई सम्मान गर्दै मकवानपुर जिल्लाको उत्तरी क्षेत्रस्थित एउटा स्थानीय तहको नाम थाहा नगरपालिका राखिएको छ । देश संघीयतामा गइसकेपछि दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरू चुनिने क्रम जारी छ । बुद्ध पूर्णिमाको अघिल्लो दिन थाहा नगरपालिकामा एक चरमअवसरवादी मनुवा बुद्ध र माक्र्सको सिद्धान्त एकै हुन् भनेर भाषण गरिरहेका थिए । बुद्धको पञ्चशीलको सिद्धान्त औला भाँचिभाँची पढाइरहेका थिए । लोभ गर्न हुन्न भनिरहेका थिए ।

एक अवसरवादीले लोभ गर्न हुन्न भनेर मुखले भनिरहँदा अनुहार बडो हेर्न लायकको देखिएको थियो । हुन त कमै मानिसले मात्रै सक्छन् मुहारको भावभंगीमा बुझ्न । मुखले एउटा, व्यवहारले अर्को गर्ने मानिस भित्रभित्रै कति जल्दो हो ! माक्र्सवादको दर्शन छाँट्ने श्रमिकको रगत चुस्नेलाई निद्रा पर्दो होला र ? बौद्ध धर्मका पाँच शील वा पञ्चशील भन्नाले सत्य, अस्तेय, परस्त्री गमन र मद्यपान निषेध गरिएको छ ।

राजनीतिमा जे भनिन्छ, त्यो गरिन्न भन्ने उनले पनि पुष्टि गरिरहेका छन् । एउटा पार्टीमा बस्ने अवसर पाइएन भनेर अनेकौं तिकडम गर्ने अनि अर्को पार्टीमा जाने । जे होस् राजनीतिमा यस्तैको हालीमुहाली हुने हो । शक्तिमा जो आउँछ उसैको दैलो ढुकेर जुठोपुरो खाने हो ।

स्थानीय तह निर्वाचनको एक चौथाई पनि नतिजा नआउँदै एकथरी उत्पातै हौसिएका छन् । अर्कोथरी बर्वादै भयो भनेर पुर्पुरोमा हात लगाउन थालिसकेका छन् । कुरा त्यो हैन । २०६४ सालमा तत्कालिन माओवादी पहिलो दल भएको थियो । ०७० सालको संविधानसभा निर्वाचनमा हालत के भयो ? चुनाव बहिष्कारको धम्की दिने माओवादी मतपरिणाम अस्वीकार गर्ने तहमा ओर्लियो । २०६४ सालमा तेस्रो भएको एमाले २०७४ मा पहिलो दल भयो ।

२०६४ सालमा पहिलो भएको माओवादी २०७४ मा तेस्रो भयो । १० वर्षमा पासा पल्टियो नि ! अहिले एमालेलाई किन हतार भएको होला– निर्वाचनमा धाँधली भएको भन्न ? ७५३ मध्ये ३० स्थानको नतिजा आउँदा नै मतगणनामा सत्तागठबन्धनले धाँधली गरेको भन्ने । एमालेले सत्ता गठबन्धनबाट मोर्चाबन्दीले नपुगेर धाँधली गरेको आरोप लगाएको छ ।

दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभ्रेको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनियालगायत दर्जनौं स्थानमा बुथ कब्जा गर्ने कार्य भएको आरोप लगाइएको छ । धाँधली भयो भनेर अरुको नियतमा खोट देख्ने तर आफू नसुध्रिने हो भने यसले दललाई कहीँ पनि पु¥याउँदैन ।

स्थानीय तहको निर्वाचन आउनु केही दिनअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग केहीबेर अनौपचारिक कुराकानी गर्ने मौका मिलेको थियो । उनका कुरा सुन्ने हो भने प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल के चाहन्थे भन्ने कुराको पुष्टि हुन्छ । चुनाव नगराउनमा कसको बढी जोड थियो भन्ने थपलियाले बेलिबिस्तार लगाएका थिए । अफ दि रेकर्ड भनेका कुराहरू सार्वजनिक गर्नु नैतिक ठहरिँदैन । नेपाल, दाहाल, देउवाको चाहना के थियो भन्ने थपलियाले समयक्रममा सार्वजनिक गर्लान् नै । धारणा थपलियाकै मुख वा कलमबाट व्यक्त हुँदा राम्रै होला । यो कुरा थाहा पाउन अलि लामै समय पर्खनु पर्नेछ ।

एमाले महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनअघि के भन्थे– के सोच्थे भन्ने अघिल्ला आलेखहरूमा पंक्तिकारले उल्लेख गरिसकेको छ । पोखरेल अरु कुनै महानगरपालिका नजिते पनि वीरगञ्ज ढुक्कले जितिन्छ भन्थे । प्रारम्भिक नतिजाले त्यसो भनिरहेको छैन । विराटनगर महानगरपालिकामा एमालेले चमत्कार गर्छ भन्थे, शुरुवाती नतिजाले त्यसो भनिरहेको छैन । पोखरेलले ललितपुरचाहिँ एमालेले जित्दैन भन्थे– शुरुवाती रुझानले त्यसै भन्दैछ । पाँच महानगरमा एमालेले चमत्कार गर्ने कुरा पुष्टि होला–नहोला अबको एक हप्तामा त पक्कै पनि छिनोफानो भइहाल्ला । उनै पोखरेलले आइतबार नै चुनावमा धाँधली भयो, मतगणनामा धाँधली भयो भनेर विज्ञप्ती निकाल्नुुचाहिँ एमालेले अव महानगरपालिकामा चमत्कार गर्दैन भन्ने संकेत पक्कै हो । एमालेले गरेको पूर्वानुमान फेल खाँदै छ भन्ने हो ।

अघिल्लोपटक काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो मतान्तरले पराजित गरेको एमाले शुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा निकै पछाडि छ । अर्थात् एमाले उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहको मत जोड्दा पनि साहलाई भेट्न सक्ने अवस्थामा थिएन । हुन त अहिले नै मतको विश्लेषण गर्नु हतार हुन्छ । एमालेले निर्वाचन पूर्वानुमान गरेजस्तो उसको ७० प्रतिशत स्थानीय तहमा जित्ने घोषणा अव दिवा स्वप्न मात्रै भएको छ ।

शुरुवाती नतिजाअनुसार प्रमुख भनिएका दललाई मतदाताले गतिलो झाप्पड हानिसकेका छन् । तर पनि दलहरू सुध्रिँदैनन् । उनीहरू सुध्रिनुभन्दा पनि बबुरा मतदातासँग आएर तैंले किन मत हालिनस् भनी पाखुरा सुर्किनेछन् । दलहरूको मुख्य मन्त्र नै आफूबाहेक अरु सबै गलत भन्ने न छ । चुनावी भाषणमा प्रमुख दल र उनीहरूका उम्मेदवारले कहिल्यै एजेण्डा राखेनन् । अर्को दललाई गाली मात्रै गरिरहे । तर त्यसको ठीक विपरीत काठमाडौंको मतगणनामा शुरुवाती अग्रता लिइरहेका बालेन्द्र साहले आफ्नो कुरा राखिरहे ।

अरु दल र उम्मेदवारलाई गाली गरेनन् । बालेन्द्रको पछि मूलधारका भनिएका मिडिया बेस्सरी लागे । साहका भन्दा राम्रो धारणा र योजना सुनाउने सुमन सायमीलाई मिडियाले त्यत्तिधेरै चासो दिएनन् । वैकल्पिक शक्तिको नाममा अघिल्लो पटक राम्रो मत ल्याएका विवेकशील, साझा पार्टीको नेतृत्वको परिणाम अहिले उसका उम्मेदवार समीक्षा बाँस्कोटालाई महँगो परिरहेको छ । केशव स्थापितको अहं र दुर्मुखापनले उनैलाई हानी पु¥यायो । सिर्जनासिंह प्रकाशमान सिंहकी श्रीमती हुनुले उनलाई नै नोक्सानी पुग्यो । जसरी नेकपा एमालेकी सचिव पद्याकुमारी अर्यालको पति लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ –१ को वडा सदस्य पदमा पराजित भए ।

वडा सदस्यमा जितेर जिल्ला समन्वय समितिको सभापति हुने योजनामा धक्का लाग्यो पद्मा अर्यालका पतिलाई । कांग्रेस सभापति देउवाको पार्टी नेपाली कांग्रेस र एमाले अध्यक्ष केपी ओलीका उम्मेदवार गृह वडामै पराजित भए । यसले कसैलाई प्रताडना दिँदा र नातावादलाई काखी च्यापेर हिंड्दाको परिणाम महंगो पर्ने रहेछ भन्ने प्रष्ट्याएको छ । यसको लाभ हानीको हिसाव तत्कालका लागि कुनै पालिका वा वडा गुमाउनुमा मात्रै देखिएला तर दीर्घकालीन असर दलहरूले सोचेभन्दा निकै भिन्न हुनेछ । उदाहरणका लागि धेरै टाढा जानै पर्दैन १५ वर्षअघि माओवादीको रापताप र अहिलेको हालत हेरे पुग्छ ।

अहिले प्रारम्भिक परिणाम आइरहँदा टिप्पणी गर्नु हतार हुन्छ । तर शुरुवाती चरणमै देखिएको बदर मतको तथ्यांकले पनि अत्यास लगाइसकेको छ । वीरगञ्ज महानगरपालिकाको बदर मत हेर्दा भाउन्न हुने अवस्था छ । उम्मेदवार नै नभएको चिह्नमा मत हालेर दलका कार्यकर्ताले गठबन्धनविरुद्ध चर्को असन्तुष्टि छताछुल्ल पारेका छन् । गठबन्धन भनेको स्वार्थको बन्धन भन्ने नै पुष्टि भयो । बुुझ्नेले विद्रोह गरे भनेर बुझौंला तर नबुझ्नेलाई बुझाउन त सबै लाग्नु प¥यो नि ! लहैलहैको पछि लाग्ने अर्को जमातले पनि हैरान पारेका छन् ।

त्यसको उदाहरण हो लौरोको उम्मेदवार नै नभएको ठाउँमा मत हाल्नु । यसमा दलहरू जत्ति दोषी छन् त्यत्तिकै मात्रामा निर्वाचन आयोग पनि दोषी छ । आयोगले परिपक्व भएर निर्णय गर्न सकेन, विशेषतः मतपत्र छपाइ गर्ने क्रममा । अनि मतदाता शिक्षामा बेवास्ता ग¥यो । जसरी दलहरूले मत हालौं भने तर सिकाएनन् । आयोगले पनि ठ्याक्कै त्यसै ग¥यो । यो समस्या अझै लामो समय रहनेवाला छ किनकि अझै पनि प्रविधिलाई विश्वास नगर्ने र प्रवृत्ति नसच्याउनेको संख्या ठूलो छ ।

टिप्पणीहरू