तीर्थाटनमा छोपिँदै नेपाल–भारत राजनीतिक सम्बन्ध

तीर्थाटनमा छोपिँदै नेपाल–भारत राजनीतिक सम्बन्ध

– श्याम रिमाल

नरेन्द्र दामोदरदास मोदी पहिलो पटक भारतीय प्रधानमन्त्रीका हैसियतले २०७१ साउनमा नेपाल आउँदा नेपालको व्यवस्थापिका–संसद्मा गौतम बुद्ध नेपालमै जन्मेको भनेर स्पष्ट बोलेको कुराले निकै ठूलो स्वागत पाएको थियो । ‘नेपाल यस्तो देश हो, जहाँ शान्तिका प्रचारक बुद्धको जन्म भएको थियो’ उनले भनेका थिए । यही भनाइलाई भारतको आधिकारिक भनाइ मानी नेपाल–भारत दुवैले अब सिद्धार्थ जन्मस्थल विवाद सधैँका लागि अन्त्य भएको मानेका थिए । तथापि भारतीय पुस्तक, पत्रिका तथा दस्तावेजहरूमा शाक्यमुनि बुद्ध भारतमै जन्मेको भनेर लेखिएको छ र अझै पनि सो जिकिर गरिँदै छ । अझ उनले त्यसको केही समयपछि अष्ट्रेलिया पुगी फेरि भारत नै जन्मस्थल भन्न पुगे । यसले नेपाली जनजीवनलाई पुनः अचम्भित र खिन्न तुल्याएको थियो ।

सिद्धार्थको बुद्धत्व भारतमै भएकाले भारतले जन्मको कुरालाई पनि सँगसँगै यससँग जोडेर प्रचार गर्ने गरेको छ र नेपाली मनलाई पटक पटक दुखाएको छ । जवाहरलाल नेहरूद्वारा लिखित एक जीवनीमूलक पुस्तकमा पनि बुद्धको जन्म उतै भएको लेखिएको पाइएको छ । भारतसँग त्यत्रो विश्वगौरव हुँदो हो त भौतिक रूपमै विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख वा अन्य कुनै विशिष्ट व्यक्तित्वलाई विश्वले नै देख्ने गरी, सुन्ने गरी सो स्थलमा स्वागत–सत्कार गर्दाे हो, नेपालका पनि विशिष्ट व्यक्तित्वलाई सो ठाउँ भ्रमण गर्न लगाउँदो, तर त्यस्तो त केही देखिँदैन । त्यसैले लुम्बिनीलाई विवादमा ल्याउने र भ्रम फैलाउनेहरूलाई भारत सरकारले पनि निरुत्साहन गर्न र सजाय दिलाउनुपर्ने हो, त्यो पनि पाइँदैन ।

पछिल्लो पटक भारत सरकारका प्रमुख पदाधिकारी विदेश मामिलामन्त्री डा. सुब्रह्मण्यम जयशंकरले वि.सं. २०७७ साउन २४ गते एक भर्चुअल कार्यक्रममा बुद्ध भारतीय हुन् भनी बोलेको कुरामा खण्डन गर्दै नेपालको परराष्ट्र मन्त्रालयले भोलिपल्टै साउन २५ गते विज्ञप्ति नै जारी गर्नुपरेको थियो । त्यसमा मोदीको नेपाली संसद्मा व्यक्त भनाइ स्मरण गराउँदै ‘यस विषयमा कुनै शङ्का र विवाद छैन, त्यसैले यो बहसको विषय हुन सक्दैन । सम्पूर्ण अन्तरराष्ट्रिय समुदायलाई यसबारे थाहा छ’ भनी नेपालद्वारा जोड दिइएको थियो ।

मोदी प्रधानमन्त्रीकै हैसियतमा यसअघि नेपालका प्रसिद्ध धार्मिक–आध्यात्मिकस्थल पशुपतिनाथ, जनकपुर र मुक्तिनाथ पुगिसकेका छन् र यसपालि प्रसिद्ध धार्मिक तीर्थस्थल लुम्बिनी (रुमिनदेही, लुंमिनगाम) मा बुद्धजयन्तीकै अवसरमा आए र आफ्नो धोको पूरा गरे । मोदीको यस भौतिक तीर्थाटनले भने शाक्यमुनि बुद्धको जन्मभूमिबारेको तथाकथित विवाद अब सधैँका लागि निमिट्यान्न पार्नुपर्ने हो । घर फर्केपछि फेरि के बोल्लान्, हेर्न, सुन्न बाँकी नै छ । खासगरी दुई वर्ष बितिसक्दा पनि इपिजी प्रतिवेदन ग्रहण गर्न हिच्किचाइरहेको भारत सीमा विवाद पनि सल्टाउन चाहँदैन र नेपाललाई कुनै भाउ दिन चाहन्न भन्ने कुरा नेपाली जनमानसलाई स्पष्ट नै छ ।

यस्तै धार्मिक आवरणबाट नेपालले खास रूपमा उठाउनुपर्ने विषयलाई भारत र उसका सरकार छोपिदिन्छन् र नेपाल सरकार र नेपाली टुलुटुलु हेरिरहन बाध्य हुन्छन् । द्विपक्षीय सम्बन्धको मूल जरो छाडेर करीब डेढ महिनाअघि भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको सपत्नी –समन्त्री बनारस भ्रमणले नै बढी चर्चा पायो । रुस र अमेरिकासँग उत्तिकै रणनीतिक सम्बन्ध गाँसिरहेको र क्षेत्रीय शक्तिबाट विश्वशक्तिमा उक्लिरहेको भारतलाई नेपालजस्ता साना मुलुकलाई रिझाउनु पनि छैन । छिमेकीको यस्तो मिचाहापनलाई बाध्य भएर सहनुपर्ने नेपाल र नेपालीको स्थिति छ । मोदीको यो पाँचौँ नेपाल भ्रमण द्विदेशीय सम्बन्धको राजनीतिक पक्षका लागि एक प्रतिशत पनि कारगर नहुने स्पष्ट छ ।

सिद्धार्थ गौतम जन्मस्थल नेपाल भए पनि पटक–पटक भारतीय नेता र पत्रपत्रिकाले भारत नै भनी दावी गरिरहनुको ठूलो अर्थ छ । सिद्धार्थले बोधिज्ञान पाएको, धेरै समय बसेको र निर्वाण प्राप्त गरेको स्थान भारतका बोधगया, सारनाथ र कुशीनगर रहे पनि पृथ्वीमा अवतरण गरेको महत्त्वपूर्ण दिन भने नेपालको लुम्बिनीमा पर्दा विशाल भारतीय समाजलाई असन्तुष्टि हुनु स्वाभाविक नै हो । सत्ययुगका अनेकौँ पौराणिक कथाका आधारभूमि तथा त्रेतायुगका राम र द्वापरयुगका कृष्ण आदिका क्रीडास्थल एवं कयौँ ऋषिमुनिको तपोभूमि आफू भएकामा गौरव गरिरहेको भारतसँग विश्वको एक प्रमुख धर्म बौद्ध वा पूर्वीयदर्शनका प्रणेताको जन्म लुम्बिनी आफूमा नहुनुमा रिक्तता पनि लाग्दो हो । अझ खास भन्ने हो भने सिद्धार्थमा बुद्धत्वको प्रारम्भिक बीउ कपिलवस्तु छँदा नै टुसाएको र बाल्यकालमै उनी शान्त वातावरण मन पराउने भई रुख आदिमुनि बसी ध्यान गर्ने गरेको कुरा केही साहित्य पनि पढ्न पाइन्छ । बालकालमै मानिसका रोगी, मृतक र भिक्षु रूप देखिसकेका उनी आफ्नै ज्ञानको तिर्खाले छट्पटिएको र त्यसको कारण खोज्दै जाँदा हालको बोधगयाको बोधिवृक्षमा मानिसको दुःखको कारण पत्ता लाग्नु संयोग मात्र मान्न सकिन्छ ।

‘एशियाका प्रकाश’ भनिए पनि विश्वकै गौरव उनको जन्मस्थलको धार्मिक–सांस्कृतिक–पर्यटकीय–आर्थिक महत्त्व छँदै छ । इसाई, इस्लाम र हिन्दूपछि चौथो बढी सङ्ख्यामा रहेका विश्वका करिब ५० करोड ७० लाख बौद्ध धर्मावलम्बी (वल्र्डपोपुलेशनरिभ्यु डटकम) को पवित्र र पुग्नैपर्ने स्थल लुम्बिनी अन्य धर्मावलम्बीका लागि पनि गन्तव्यभूमि रहिआएको छ । त्यसमाथि संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा वैशाख पूर्णिमालाई त्रिसंयोग मानी ‘वैशाख दिवस’ लाई मान्यता दिएपछि सो दिन राष्ट्र सङ्घ मुख्यालय र अन्य नियोगमा हरेक वर्ष बुद्धजयन्ती मनाइँदै आएपछि त बुद्ध र लुम्बिनी झनै फैलँदै गए । यसबाट बुद्ध एशियाबाट फैलेर विश्वकै ज्योति भएको प्रमाणित भएको छ र उनको दर्शनले विश्वलाई सदैव प्रेरित गरिरहेको बुझ्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त (म्यान्मा) को पहल र करीब ४० वर्षअघि प्रा. केञ्जो टाँगे (जापान) ले बनाइएको गुरुयोजनापछि लुम्बिनी अझ चम्केर गयो र यसको विकासमा विभिन्न मित्र राष्ट्रले आ–आफ्ना देशका विहार आदि निर्माण गरी सघाउँदै गए । अहिले लुम्बिनी बुद्धले जन्मनासाथ सात पाइला टेकेको भनिएको पाषाण (पदचिह्न शिला) ले झनै गरिमामय भएको छ भने निर्माण सम्पन्न दोस्रो गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले संसारसँग जोडिन पाएको छ । मोदीको यस भ्रमणपछि जनकपुर–अयोध्यालगायत जोड्ने रामायण परिपथ जस्तै बुद्धसँग सम्बन्धित स्थलहरू समेटेर अन्तरराष्ट्रिय बौद्ध परिपथ निर्माण गर्ने योजना ल्याउन सकेमा भने लुम्बिनी र समग्र नेपालकै प्रतिष्ठा बढ्ने निश्चित छ ।

सबै नेपालीलाई आफ्नै भूमिमा सिर्जित बौद्धदर्शनको औपचारिक शिक्षा दिन सकेमा यसको प्रचारप्रसार अझ व्यापक हुने थियो । सांसारिक विषय भोग्ने तृष्णा नै सबै दुःखको कारण भएको र यसप्रति अनाशक्त भएमा सुख प्राप्त हुने ज्ञान नहुँदा र दिन नसक्दा विश्वले अपराध, हत्या, हिंसा, झैझगडा, युद्ध, माटकार तथा अशान्ति भोगिरहेको यथार्थ धर्मगुरुहरूले जनसमाजमा संस्थागत ढङ्गले व्यापक रूपले दिन सक्नुपर्छ । बुद्ध सन्देशलाई संस्थागत ढङ्गले प्रचारप्रसार तथा अध्ययनअध्यापन एवं खोजीअनुसन्धान गर्न भारतले नेपाललाई अलिकति सहयोग गरे मात्र मोदीको भ्रमणलाई सफल मान्नुपर्छ ।

टिप्पणीहरू