अदालतले साथ दिएन,जनताले मेयरमा जिताएर देखाइदिए

अदालतले साथ दिएन,जनताले मेयरमा जिताएर देखाइदिए

वैशाख ३० को स्थानीय चुनावको मिति सार्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका महोत्तरीको भँगाहा नगरपालिकाका निवर्तमान मेयर सञ्जीवकुमार साह दोहोरिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार साहले कांग्रेसका विजय मण्डललाई पराजित गर्दै मेयर जितेका हुन्।

सञ्जीवले ५ हजार ६१७ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी रहेका मण्डलले ५ हजार ३५४ मत ल्याए ।

उपप्रमुखमा भने कांग्रेसकी शान्तिकुमारी सिंह विजयी भएकी छन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाइन् ।

नवनिर्वाचित मेयर सञ्जीवकुमार सरकारले असंवैधानिक तवरले चुनावको मिति घोषणा गरेको भन्दै त्यसविरुद्ध कानुनी लडाईका लागि सर्वोच्च गएका थिए । अघिल्लो स्थानीय तहको चुनाव तीन चरणमा भएको र वैशाख ३० गते सबै ठाउँको निर्वाचन गर्दा दोस्रो र तेस्रो चरणमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पूरा नहुने मागदाबीसहित उनले सर्वोच्चमा मुद्दा दर्ता गराएका थिए । तर, अदालतले उनको माग बमोजिम अन्तरिम आदेश दिन नमानेपछि चुनावको बाटो खुलेको हो । मुद्धा अहिले पनि विचाराधीन छ ।

टिप्पणीहरू