बलात्कारको विरोधमा आज तीनतिर आवाज

बलात्कारको विरोधमा आज तीनतिर आवाज

आठ वर्षअघि भएको सुन्दरी किशोरी बलात्कारमा संलग्न अभियुक्तलाई कारवाही गर्न सर्वत्र माग बढेको छ । हिजो साँझ स्वयम्भूबाट पक्राउ परेका मनोज पाण्डे र उनका मतियारलाई हदैसम्म कारवाही गर्न उनीहरुले आवाज बुलन्द पारेका हुन् ।

अस्ति र हिजो राजधानीको सडक तताएका प्रदर्शनकारीहरुले आज पनि उस्तै कार्यक्रम गर्ने जनाएका छन् । स्वतन्त्र युवाहरुले बलात्कारीलाई कारवाहीको माग राख्दै आज माइतीघर मण्डलामा दिउँसो ४ बजे कार्यक्रम राखेका छन् ।

उता नेपाल विद्यार्थी संघले मुलुकको फौजदारी संहिता २०७४ मा संशोधनको माग राखेको छ । संघले संहितामा रहेको बलात्कारसम्बन्धी व्यवस्थामा बलात्कारविरुद्ध मुद्दा दर्ता गर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा र प्रमाण संकलनमा सुधारको माग गरेको हो ।

सोही माग कार्यान्वयन गर्न आज बिहान साढे १० बजे नेविसंघले कानुन,न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीलाई मन्त्री क्वार्टरमा ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ ।

उता बलात्कार पीडित युवतीको समर्थनमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले दिउँसो ४ बजे कीर्तिपुरमा विरोध प्रदर्शनको आयोजना गर्दैछन् । उनीहरुले विश्वविद्यालय परिसरमा रहेको घडी भवनको अघिल्तिर कार्यक्रम राखिएको बताएका छन् ।

टिप्पणीहरू