२५ वर्षपछि बुटवलमा काँग्रेसको उदय

२५ वर्षपछि बुटवलमा काँग्रेसको उदय

-ऋषि भट्टराई

२०४९ सालको स्थानीय निर्वाचनमा सूर्य प्रधान जितेबाहेक लगातार एमालेले जित्दै आएको बुटवल उपमहागरपालिकामा २५ वर्षपछि नेपाली काँग्रेसका नेता खेलराज पाण्डे विजयी भएका छन् । बुटवल उपमहानगरपालिकाको प्रमुखमा फराकिलो मतान्तरले काँग्रेस उम्मेदवार पाण्डे विजयी भएपछि बुटवलमा काँग्रेसको पुनरोदय भएको हो ।

उप प्रमुखमा भने नेकपा एमालेकी सावित्रीदेवी अर्याल विजय भएकी छन् । उनले गठबन्धनका चीजबहादुर गुरुङलाई पराजित गरेकी हुन् । यसअघि २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित पाण्डे यसपटक अघिल्लो पटकभन्दा तेब्बर बढी मतान्तरले विजयी भएका हुन् ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेसँगै बुटवलमा काँग्रेसले बहुमत वडामा जीत हासिल गरेको छ । एमाले पहिलेको तुलनामा निकै खुम्चिएको छ ।

बुटवलका १९ मध्ये नेपाली काँग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नम्बर १०, १४, १८ ,११र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

बुटवलमा नेपाली काँग्रेस दुई दशकभन्दा बढी समयमा नेतृत्व फर्काउन सफल भएको छ । यसअघि बुटवलमा २०४९ को स्थानीय चुनावमा काँग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ मा उनै प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए ।

टिप्पणीहरू