खुट्टा ढोगाएर कम्युनिस्ट रहिन्न कमरेड !

खुट्टा ढोगाएर कम्युनिस्ट रहिन्न कमरेड !

हामीमा सामन्ती संस्कार अझै छ र त्यो जबर्जस्त छ भन्ने कुरा दुई वटा कुराबाट मैले थाहा पाएँ, यो पटकको चुनावको समयमा । त्यसकारण मैले यो निर्क्यौल निकालें कि हामीबाट न्याय पनि हुन्न,हामी समान पनि छैनौ,हामी कम्युनिस्ट पनि होइनौं र हामीले समाजवाद पनि ल्याउने छैनौं ।

पहिलो : पुण्य गौतम एमालेमा प्रवेश गर्ने कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी ओलीको खुट्टा छोए। ओलीको निम्ति त्यो अप्रत्यासित क्षण हुनसक्छ । पुण्य गौतमले रिझाउने मनशाय राखेर त्यसो गरेको हुनसक्छ । तर यहाँ अध्यक्ष कमरेडले खुट्टा पछि हटाएर वा पुण्य गौतमलाई दुई हातले कुममा समातेर उठाएर यस्तो गर्नुहुन्न भनेर सम्झाएको देखिएन। यस्तो नगर्नुको मनोविज्ञान के हो भने हामीमा मान सम्मानको चाह तीब्ररुपमा छ।विभिन्न सामाजिक, राजनीतिक कारणलेगर्दा मात्रै हामीले त्यसको ग्रहण सार्बजनिक स्थानमा नगरेका हौं ।

दोस्रो : यो पङ्तिकारले पनि ठ्याक्कै अध्यक्षसंग मिल्ने जस्तै घटनाको सामना गर्यो। तर मैले त्यसमा आफू अलि पर हटेर गल लगाएँ उनलाई ।उनी उम्मेदवार हुन्,भोट माग्ने क्रममा यस्तो भयो । मेेरो र उनको बिचारधारा पनि र पार्टी पनि फरक फरक हो ।तर इमानदारीपूर्वक भनेको छु मैले उनलाई नै भोट दिएँ फरक बिचार र फरक पार्टीका बावजुद पनि । मैले मनमनै यो सोंचे कि मसंग बिचारधारा मिल्ने उम्मेदवार पनि र आफू आवद्ध भएको दलको उम्मेदवार कोही पनि भोट माग्न आएनन् ।

“मैले यो निर्क्यौल निकालें कि हामीबाट न्याय हुन्न,हामी समान छैनौ,हामी कम्युनिस्ट होइनौं र हामीले समाजवाद पनि ल्याउने छैनौं ।”

मेरो मनमा के पर्यो भने, पहिलो,अरुले मेरो एकभोटको अवमूल्यन गरे, अपमान गरे । र दोस्रो,म जत्तिकै पढेको उम्मेदवारले यसरी मेरो एकभोटको सम्मान गर्छ, मलाई मान्छ भने उसलाई मैले किन भोट नदिने भनेर भोट उसैलाई दिएँ। मैले जतिसुकै न्याय, समानता, बिचारको कुरा गरे पनि म आफूले बोकेको सिद्धान्त ,बिचारधाराबाट पछि हटेर मलाई छुट्टै मानसम्मान दिने (यद्यपि त्यो उनको चुनावी मान थियोे ) लाई नै रोजें।यो घटनाले म आफैलाई के थाहा भयो भने म अझै पनि सामन्ती चरित्र र संस्कार बोकेर हिँडिरहेको रहेछु। मभित्र सामन्ती संस्कार अझैसम्म पनि विद्यमान रहेछ।

मैले आफ्नो बसाइँसराई गरेर मतदान गर्ने स्थान परिवर्तन गरें यसपटक ।तर पुरानो पालिकाको मतदाता नामावलीबाट मेरो नाम हटेको रहेनछ। पहिलेको पालिकाबाट साथीहरूले मेरो मतदाता नामावलीमा नाम सोही स्थानमा छ भन्दै मतदान गर्न आउन पटकपटक फोन गरे।तर मैले परिवर्तन गरेर सारेको स्थानबाट मतदान गरें। यो कुराले के देखायो भने हामीले अझैसम्म पनि सहि तरिकाले मतदाता नामावली बनाउन सकेका छैनौं , दुरुस्त छैन । म जस्तै अरु धेरैले पनि बसाइँसराइ गरे होलान् यो समयमा र तिनीहरुको पनि दुबै ठाउँमा नाम भएको हुनुपर्छ ।

स्थानीय तहको भएर हो कि मान्छेहरुमा उत्सुकता र उत्साह खासै देखिएन यो चुनावमा। जेजति निस्किए चुनाव प्रचारप्रसारमा तिनीहरु सबैले नै बाजागाजा र नाचगान गरेर र गीतबाट भोट मागे।यो चुनावमा स्थानीय मुद्दा, जनताका समस्याहरु चुनावी अजेण्डाको रुपमा उठेन। कुनै पनि उम्मेदवारले राजनीतिक , आर्थिक , सामाजिक , लैङ्गकि वा बिकास संबन्धि बिषयमा एउटा पनि बहस छलफल गरेनन् , गराएनन्। तराईमा भोजपुरी र पहाडमा लोकभाकाको गीत घन्काएरै भोट मागे ।

अधिकांश उम्मेदवारहरुको मनोबिज्ञान कस्तो देखियो भने पालिकमा यति बजेट हुन्छ, वडामा यति बजेट हुन्छ र त्यसबाट कमाई हुन्छ भन्ने देखियो । संविधानले समाजवाद उन्मुख बाटो बनाउने परिकल्पना गरेको छ। तर अधिकांशले संविधानको अध्ययननै नगरेको जस्तो देखियो ।ग्रामीण/सहरी समाजवाद तिर जाने कसरी भन्ने कुरामा सामान्य ज्ञान समेत नभएको स्थिति देखिन्छ। राजनीतिक दलहरुले पनि धन भएको , चुनाव जित्न सक्छ भन्ने जस्तालाई पार्टीमा हुल्दै टिकट दिने काम गरे। तर रोचक के देखियो भने नेताले जबर्जस्ती टिकट दिलाएका त्यस्ता धेरैले चुनाव हारे।यस्तो जबर्जस्ती टिकट दिँदा धेरै ठाउँमा स्वतन्त्र तथा युवा भनिनेले फाइदा पाए।बेखुसी भोट तिनैलाई खनियो।

हुन त जनताको इच्छा नै प्रमुख हो ।तर पनि एक किसिमको नैतिकता भने हुन जरुरी छ दलको सदस्य भएको नाताले सबैजनामा। अहिलेको चुनावमा गठबन्धन आफ्नो अनुकुलता अनुसार सबैले सबैसंग गरे भन्दा फरक पर्दैन ।तर यो गठबन्धनमा नेपाली काङ्ग्रेसले इमानदारीता प्रदर्शनगर्न सकेन। काङ्ग्रेसको बेइमानीले धेरै ठाउँमा गठबन्धनकै उम्मेदवारहरु पराजित भए । यसले के कुरा दर्शाउँछ भने हामीमा सहकार्य गर्ने, साझेदारीमा काम गर्ने, बिश्वासमा काम गर्ने संस्कृतिको विकास हुन बाँकी नै छ। यो कुरा व्यापार ब्यवसायतिर पनि देखिन्छ।

अन्त्यमा,
धेरैले पाँच बर्षलाई अब ढुक्क भयो भनेका छन् । यस्तो भनेर उनीहरुले गल्ती गर्दैछन् । खासमा पाँच बर्षलाई दु:ख र चिन्ता थपिएको छ भनेर कामगर्नुपर्छ। कामगर्न नसक्दा वा नगर्दा एक, पार्टीले टिकट नदिन सक्छ र दुई , काम नगर्दा जनताले भोट नदिएर हराइदिन्छन् भन्नेकुरा काठमाडौं लगायत देशका विभिन्न पालिकाका बहालवाला प्रमुखको टिकट खोसिएको र कतिपयले हारेको घटनाबाट पनि प्रष्ट हुन्छ। अबको समय भनेको रिपोर्ट कार्डको आधारमा जनसमर्थन प्राप्त गर्ने समय हो अर्थात मिहिनेतका साथ काम गर्ने र जनताको मन जित्ने समय हो,ढुक्क भएर दिन कटाउने समय होइन ।

टिप्पणीहरू