विभिन्न देशका राजदूत भेटेर अमेरिकी उप विदेशमन्त्री शरणार्थी शिविरमा

विभिन्न देशका राजदूत भेटेर अमेरिकी उप विदेशमन्त्री शरणार्थी शिविरमा

नेपालको तीन दिने भ्रमणमा हिजो काठमाडौं आउनुभएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जिया केहीबेर अघि तिब्बती शरणार्थीहरुसँग भेटघाट गर्न जावलाखेलस्थित क्याम्प पुग्नुभएको छ । नयाँ दिल्ली ओर्लिएर दलाई लामालाई भेट्न धर्मशाला पुग्नुभएकी उहाँ बिहानदेखिको ब्यस्त कार्यक्रमकै निरन्तरतास्वरुप दिउँसो शरणार्थी शिविर पुग्नुभएको हो ।

११ बजे क्याम्प पुग्ने कार्यतालिका नौ बजेदेखि दूतावासमा शुरु भएको बेलायती,फ्रेन्च,अस्ट्रेलियन,स्वीस,फिनिस,दक्षिण कोरियाली,नर्वेजियन राजदूतहरु र युएनडिपीका मिसन प्रमुखसङ्गको भेटघाट लम्बिएपछि १२:४० मा सरेको थियो । भारतको हिमाञ्चल प्रदेशस्थित दलाई लामाको धर्मशाला र आज ललितपुरको शरणार्थी शिविर पुग्दा उहाँको पोशाक यौटै देखिन्छ ।नेपालको औपचारिक भ्रमणमा आउनुभएकी अमेरिकी उपविदेशमन्त्रीले २४ घण्टासम्म नेपाली अधिकारीहरुसँग औपचारिक भेटघाट गर्नुभएको छैन । हिजो साँझ कमलादीस्थित अमेरिकी राजदूतको निवास कमलकुन्ज र पछि महाराजगन्जको दूतावासमा आयोजित कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती,प्रधानमन्त्री पत्नी तथा काँग्रेस नेतृ आरजु राणा,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

भोलि साँझ स्वदेश फर्किने कार्यक्रम सूची रहेको अमेरिकी प्रतिनिधिमण्डलले दिउँसो प्रधानमन्त्रीसहित गृह र परराष्ट्र मन्त्रीलाई भेट्ने बताइएको छ । भारत र नेपाल भ्रमणमा आएको अमेरिकी टोलीको मुख्य उध्देश्य तिब्बती शरणार्थी र दलाई लामासँग भेटघाट गर्नु रहेको स्पष्ट छ ।

जिया तिब्बतसम्बन्धी अमेरिकी विशेष संयोजक पनि हुनुहुन्छ ।

टिप्पणीहरू