को हुन् हेटौंडा उपमहानगरपालिकामा विजयी मीना लामा ?

को हुन् हेटौंडा उपमहानगरपालिकामा विजयी मीना लामा ?

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमार लामा विजयी भएकी छन् । उनले एमाले उम्मेदवार अनन्त पौडेललाई पराजित गरेकी हुन् ।

उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाँ विजयी भएका छन् । उनले एमालेकी सुमित्रा काफ्लेलाई पराजित हराए । मीनाकुमारी लामा हेटौंडा-१ स्थित चाइनाक्वार्टर निवासी हुन् । पति सुनकुमार र मीनाका एक छोरा सुमित र छोरी स्वेच्छा छन् ।

मीनाका पिता शुक्रवीर हुनुहुन्छ भने माता सीतादेवी । ४५ वर्षे लामाले एसएलसी त्रिभुवन मावि हेटौंडाबाट र स्नातकोत्तर समाजशास्त्रमा मकवानपुर बहुमुखी क्याम्पसबाट गरेकी हुन् ।

उनले हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबीसमेत गरेकी छन् । सामाजिक क्षेत्रमा बालबालिकाको हकहितको निम्ति एक दशक काम गरेको अनुभव पनि छ । किशोरी अवस्थामै २०४६ सालदेखि राजनीतिक यात्रामा लागेर २०५२ मा अनेरास्ववियु मकवानपुरको कोषाध्यक्ष बनिन् ।

त्यसपछि २०७१ मा नेकपा एमाले मकवानपुरको उपसचिव र २०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य बनिन् । त्यतिबेला उनी आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष बनेकी थिइन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपमेयर बनेकी लामा २०७५ मा नेकपा मकवानपुरको उपसचिव भइन् । २०७८ मा नेकपा एकीकृत समाजवादी मकवानपुरको उपाध्यक्ष बनेकी उनले आफ्नो पदीय जिम्मेवारी पूरा गर्ने क्रममा छिमेकी मित्रराष्ट्रहरु चीन,भारत र कोरियाको समेत भ्रमण गर्न भ्याएकी छन् ।

अहिले उनी उपमहानगरपालिकाको पहिलो महिला मेयर बनेकी छन् । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट उपमहानगरपालिकामा निर्वाचित पहिलो र महिला मेयर समेत बनेकी हुन् ।

टिप्पणीहरू