झापामा कत्ति पनि देखिएन कलमको असर

झापामा कत्ति पनि देखिएन कलमको असर

 -दिपक धमला

एमालेका पूर्वकेन्द्रीय सदस्य भाष्कर काफ्ले अहिले नेकपा एकीकृत समाजवादीको माथिल्लो जिम्मेवारीमा छन् । एमाले फुटेर नयाँ पार्टी बन्दासम्म उनी समाजवादीतिर लागेका थिएनन् । तर,एमालेको महाधिवेशन सकिएलगत्तै समाजवादी प्रवेश गरेका हुन् । एमालेमा छँदा ताप्लेजुङ जिल्ला इञ्चार्जसमेत रहिसकेका उनलाई नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य बनाएको छ ।

भाष्करको बसोबास अहिले झापाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । समाजवादीमा प्रवेश गरेलगत्तै मिडियामा अन्तरवार्ता दिँदै उनले आउँदो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने घोषणा गरेका थिए । ‘झापामा केपी ओलीले जुन क्षेत्रबाट चुनाव लडे पनि उनीविरुद्ध उभिने संकल्प गरेको छु,’ उनले भनेको वाक्य यही हो, ‘ओलीसँग भिड्न झापा–५ जाने तयारीमा थिएँ । तर, यसपटक झापा–२ मा आउँदैछन् अरे,मलाई झनै सजिलो हुने भयो,झापामा ओलीलाई मै चुनाव हराउँछु ।’ भाष्करले त स्थानीय चुनावमा पनि एमाले पत्तासाफ हुने बताइरहेका थिए ।

यिनै भाष्करले यसपटक स्थानीय चुनावमा आफ्नी पत्नी इन्दिरा दंगाल काफ्लेलाई नेकपा एसबाट आफ्नो गाउँमा वडाध्यक्षको उम्मेदवार बनाए । आफ्नो पक्षमा कत्तिको जनमत छ भनेर बुझ्न पनि उनले वडामा श्रीमतीलाई अघि सारेको बुझिन्छ । श्रीमतीका लागि भोट माग्न उनी केही दिन गाउँ डुलेको देख्नेहरु पनि छन् । तर, अर्जुनधारा नगरपालिका–७ बाट वडाध्यक्षमा उठेकी कलम चुनाव चिन्हकी इन्दिराले सात मत मात्र प्राप्त गरेको निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ ।

बरु अर्जुनधाराकै वडा नम्बर ३ को वडा सदस्यमा उठेका लक्ष्मीराम शर्मा तिम्सिना पराजित भए पनि एक हजार ८३ मत ल्याउन सफल भए । ५ नम्बर वडा सदस्यमा हारेका दिपेन्द्र थारुले ४४ मत ल्याए । ६ नम्बर वडा सदस्यमा पराजित मोतिलाल दनुवारले ५५ मत पाए । अर्जुनधारा नगरपालिकामा उठेका समाजवादीका उम्मेदवारहरुमा सबैभन्दा कम मत प्राप्त गर्नेमा इन्दिरा नै परिन् । दोहोरो अंकको मत नपाउने उनी मात्र हुन् । ‘ओलीलाई चुनावमा हराउँछु भन्नेकी श्रीमतीले ७ भोट ल्याइन्’ भन्दै एमाले कार्यकर्ताले अहिले सामाजिक सञ्जालमा भाष्करको खिल्ली उडाइरहेका छन् ।

कमल गाउँपालिकामा भने एकीकृत समाजवादीले वडाध्यक्ष जित्न सफल भएको छ । कलम चुनाव चिन्हका अशोक सुब्बाले एमालेका धनबहादुर बस्नेतलाई ८ सय २३ मतान्तरले पराजित गरे । यो वडामा नेकपा एसको प्यानल नै विजयी बन्यो । झापामा एस पार्टीको सुखद जीत यही नै हो ।

यसबाहेक अन्य पालिकामा कलम चिन्हले सम्झनलायक मत ल्याउन सकेन । भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकामा नेकपा एसकी केन्द्रीय सदस्य शारदा शर्मा घिमिरे उठिन् । झापाकै सबैभन्दा बढी मतदाता रहेको यस पालिकामा १५ वडा छन् ।

१५ मध्ये आठ वटा वडाको मत गनिसक्दा शारदालाई जम्मा ११५ मत आयो । शारदाका छोरा अशेष घिमिरे पनि पार्टीका केन्द्रीय सदस्य नै हुन् । केन्द्रीय यदस्य आमा–छोरा नै गाउँ डुलेर भोट माग्दा पनि उपमेयरका उम्मेदवारहरुको सूचीमा शारदा अहिले अन्तिमबाट दोस्रो नम्बरमा छिन् ।

नेकपा एकीकृत समाजवादीबाट बुद्धशान्ति गाउँपालिकाको उपाध्यक्ष उठेका पुजन कोइरालाले उक्त पदमा उठेकाहरुमध्ये सबैभन्दा कम १७२ मत ल्याए । बरु पराजित भए पनि सोही पार्टीबाट बुद्धशान्ति–३ को वडाध्यक्ष उठेका चेतन आचार्यले ३ सय ५४ मत ल्याएर तेस्रो बने ।

बिर्तामोड बसेर अढाई दशकभन्दा बढी पत्रकारिता गरेका तीर्थ सिग्देलले एकीकृत समाजवादीबाट बिर्तामोड नगरपालिकाको उपमेयर हुने रहर गरे । अन्तिम मतपरिणामअनुसार उनी २ सय १ मत ल्याउँदै सातौँ नम्बरमा परे । बिर्तामोडमा विभिन्न पदमा चुनाव लडेका नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको तुलनामा सिग्देलले पाएको यो मत नै सर्वाधिक हो । बिर्तामोडमा एकीकृत समाजवादीका अन्य उम्मेदवारहरुले एक सय मत पनि कटाएनन् ।

दमक नगरपालिकामा उपप्रमुख हुन खोज्ने महेश घिमिरेले एक सय ६० ल्याएर चौथो स्थान प्राप्त गरे । दमक–२ बाट वडाध्यक्ष उठेका टिकाराम प्रसाईंले ३० मत पाएका छन् । ५ नम्बर वडाध्यक्षमा लड्दा हरिप्रसाद लम्सालले ५२ मतमा चित्त बुझाए । दमक–१० को वडाध्यक्ष उठ्दा रामप्रसाद लुइटेलले जेनतेन पाँच भोट जोडे ।

टिप्पणीहरू