मेयर जिते पनि विराटनगरमा काँग्रेसको शक्ति खस्क्यो, माओवादी शून्य

मेयर जिते पनि विराटनगरमा काँग्रेसको शक्ति खस्क्यो, माओवादी शून्य

आफनो गढ ठान्दै तल्तिर कुनै तालमेल नगरी विराटनगरमा एक्लै चुनावी प्रतिस्पर्धा गरेको नेपाली काँग्रेस मेयर पदमा विजयी भए पनि अन्यत्र खस्केको छ । मेयर र उपमेयर जितेका काँग्रेस र जसपा वडाहरुमा खुम्चिएका छन् ।

काँग्रेसका नागेश कोइराला विराटनगरको प्रमुखमा विजयी भएका छन् । १९ वटा वडा रहेको विराटनगरमा एमालेले नौ,काँग्रेसले छ र जसपाले दुई वटा वडा जितेका छन् । राप्रपा र स्वतन्त्रले एक एक वटा वडा जित्दा माओवादी केन्द्र भर्ने ‘क्लिन स्विप’ भएको छ । उसले विराटनगरका कुनै पनि वडामा एक जना सदस्यसमेत जित्न सकेको छैन ।

यस पटकको निर्वाचनमा विराटनगरमा सबैभन्दा धेरै घाटा जसपालाई भएको छ । उसले पहिले जितेका सात वटा वडाबाट दुई वटा वडामा खुम्चिन मात्र परेन गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका अमरेन्द्र यादवले हार व्यहोरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई एमालेकी शिल्पा कार्कीले पराजित गरेकी हुन् । समावेशी पदमा गैरसमावेशी उम्मेदवार उठाएको भन्दै गठबन्धन भए पनि काँग्रेसीजनले एमालेकी शिल्पा कार्कीलाई मत खन्याएका थिए ।

काँग्रेसको मत पाउने आशमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी केन्द्र विराटनगरकी सचिव नमिता न्यौपानेलाई काँग्रेसीजनले पत्याएको देखिएन ।

विराटनगरमा आज बिहान सबै वडाको मतगणना सम्पन्न भइसकेको छ । केन्द्रीय भागबण्डाअनुसार काँग्रेसलाई मेयर र जसपालाई उपमेयर गएको थियो । तर वडा तहमा भने कुनै तालमेल भएको थिएन । पाँच वर्ष अघिको मत परिणामलाई आधार मानेर काँग्रेसले मेयर,उपमेयरसहित सबै वडा जित्ने दाबी गरेको थियो । त्यसको नेतृत्व विराटनगर घर भएका नेता डा. शेखर कोइरालाले गरेका थिए ।

तर केन्द्रको दबाबका कारण उनी पछि हटे र गठबन्धनको पक्षमा गए । गठबन्धनबाट काँग्रेसले मेयर,जसपाले उपमेयर पाएपछि दुबै मिलेमात्र सहजै जीत हासिल गर्ने उनीहरुले एकोहोरो हिसाब गरेका थिए । त्यहि कारण उनीहरुले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कुनै वास्ता नै गरेनन् ।

तर गठबन्धनको मत काँग्रेसका नागेशले पाए पनि अमरेन्द्रले अपेक्षाकृत मत पाएनन् । पहिले १० वडा जितेको काँग्रेस र सात वडा जितेको जसपाले माओवादी र एकीकृत समाजवादीसँग वडा तहमा तालमेल नै गर्न चाहेनन् । यसैले चर्चा शुरु भएको छ ‘विराटनगरमा जे हुनु थियो त्यहि भएरै छाड्यो ।’

टिप्पणीहरू