एकै दिन बालुवाटार, कोेटेश्वर र खुमलटार : बैठक तारन्तार

एकै दिन बालुवाटार, कोेटेश्वर र खुमलटार : बैठक तारन्तार

हिजो बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा भेटघाटको लागि एकाबिहानै नेता मातृका यादव पुग्नुभएको थियो । उहाँहरुबीच बिहान पौने ७ बजेदेखि साढे ७ बजेसम्म कुराकानी भयो ।

त्यसपछि अध्यक्ष दाहालसँग भेटघाटको निम्ति शिक्षामन्त्री देवेन्द्र पौडेल र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ पुग्नुभयो । बिहान पौने ८ बजेदेखि अध्यक्षसँग मन्त्रीद्वयले करिब २० मीनेट छलफल गर्नुभएको थियो ।

खुमलटारस्थित दाहाल निवासमा अध्यक्षसँग भेटघाटको लागि लगत्तै गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दी (शर्मा कोइराला) जानुभएको थियो । उहाँहरुबीच सवा ८ बजेदेखि पौने ९ बजेसम्म कुराकानी भएको हो । उक्त भेटमा नागरिकता विधेयकबारे छलफल भएको बुुझिएको छ ।

उता भक्तपुरको बालकोटस्थित निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र घरपरिवारसङ्ग पार्टीका विदेश विभाग प्रमुख राजन भट्टराईले झण्डै तीन घण्टा यताउता गरेर बिताउनुभयो ।

उहाँ बिहान ८ बजेदेखि ११ बजेको हाराहारीसम्म त्यहाँबाट ननिस्केको बालकोट स्रोतले पुष्टि गरेको छ । त्यही भेटपछि भट्टराईले आफ्नो पार्टीमाथि चौतर्फी घेरावन्दी गरिएको र त्यसरी आएको चुनावी नतिजालाई एमालेले खारेज गर्ने अन्तर्वार्ता दिन थाल्नुभएको हो ।

अन्यत्र झैैैं हिजो कोटेश्वरस्थित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पार्टीका सम्मानित नेता झलनाथ खनाल बिहान एक घण्टा रहनुभयो । उहाँहरुबीच बिहान ८ बजेदेखि ९ बजेसम्म भेटवार्ता भएको हो ।

त्यसपछि अध्यक्ष नेपालसँग भेटघाट गर्न कानुनमन्त्री त्यहिँ पुग्नुभएको थियो । नेपाल निवासमा नेता खनालसँगै अध्यक्ष नेपालले कानुन मन्त्री गोविन्द बन्दी (शर्मा कोइराला) सँग सवा ९ बजेदेखि झण्डै आधा घण्टा कुराकानी गर्नुभएको थियो ।

लगत्तै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहान १० बजेदेखि ११ बजेसम्म भेटवार्ता भएको स्रोतले दाबी गरेको छ ।

त्यहिबेला उता कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ताको निम्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नुभएको थियो । उहाँहरुबीच बिहान पौने ११ बजेदेखि झण्डै ४५ मीनेट कुराकानी भएको बताइन्छ ।

बालकोटमा अध्यक्ष ओलीसँग कुराकानी गर्न माओवादीबाट एमाले पसेका नेता प्रभु साह बिहान साढे ११ बजे पुग्नुभयो । उहाँहरुले मधेसमा आफ्नो सोचेजति नतिजा नआउनु र माधवकुमार नेपालले रौतहटमा एक्लै उठेर ३ नगरपालिका जित्नुको कारणवारे समीक्षा गर्नुभएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए ।

साह र ओली बेलाबखत राजन भट्टराईसहित विभिन्न नेता आउँदै जाँदै गर्दा एक छिन ब्रेक गर्दै ४ घण्टा छलफलमा जुट्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो साढे ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण,नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा,उपसभापति पूर्णबहादुर खड्काबीच झण्डै दुई घण्टा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।

टिप्पणीहरू