हामीलाई हराउनसक्ने मत उहाँहरुसँग छ

हामीलाई हराउनसक्ने मत उहाँहरुसँग छ

– रमेश महर्जन, निवर्तमान मेयर

वामपन्थीको लालकिल्लाका रूपमा हेरिएको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको छ । एमालेको गढ भत्काउँदै कांग्रेसले मेयर र जसपाले उपमेयर जितेको छ । ०५४ सालदेखि नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो पटक मेयर, उपमेयरसहित ७ वटा वडामा जित हासिल गरेको एमालेले यसपटक मेयरका रूपमा केशरत्न बज्राचार्यलाई मैदानमा उतारेको थियो । हिजो एमालेलाई हराउन सक्रिय रहेका र पार्टी अध्यक्ष केपी ओलीका पिए राजेशको नातेदारसमेत रहेका उनलाई बालकोटको ठाडो दबाबमा टिकट दिइएसँगै कीर्तिपुर नगरपालिका गुमाउनुपरेको कतिपय नेताहरू बताउँछन् । मेयरमा दोहो¥याएर आकांक्षी थिए रमेश महर्जन, ०३६ सालदेखि राजनीतिमा होमिएका । वामपन्थी आन्दोलनको केन्द्र थियो परोपकार स्कुल, त्यहीं अध्ययनरत रहँदैदेखि आन्दोलनमा होमिएर ०४० सालमा शंकरदेव क्याम्पस विशेष प्रारम्भिक कमिटीमा अनेरास्ववियुको सहसचिव हुँदै राजनीतिक यात्रा अघि बढाएका । अघिल्लो पटक लोकप्रिय काम गरेका महर्जन र उपमेयर सरस्वती खड्का दुबैले टिकट पाएनन् । नेतृत्वले ‘लौरो’लाई उठाए पनि जितिन्छ भनेर खेलाँची सोच्दा एमालेले लालकिल्ला गुमाएको छ । रमेशहरूले टिकट नपाउनुको खास कारणचाहिँ पार्र्टी विभाजनपछि वामदेव गौतमको एकता अभियानमा लाग्नुलाई मानिएको छ तर रमेश यो कुरा स्वीकार्न तयार छैनन् ।

कुनै समयको लालकिल्ला मानिएको कीर्तिपुर नगरपालिका यसपटक एमालेले गुमाउँदा कस्तो महसुस गरिरहनुभएको छ ?

– स्वाभाविकै हो जस्तो लाग्छ तर सर्वसाधारण मतदाताले स्वीकार्न गाह्रो मानिरहेको अवस्था छ ।

सर्वसाधारणलाई चाहिँ किन गाह्रो ?

– एमाले उम्मेदवारलाई ३५ सय ३६ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार जितेका छन् । हिजो सातवटा वडासहित मेयर र उपमेयर जितेको कीर्तिपुरमा १० मध्ये ९ वडाध्यक्ष कांग्रेसका उम्मेदवार विजयी हुनु स्वाभाविक हुँदै हैन । यस्तो नहुनुपर्ने । कम्तीमा तीनदेखि चारवटा वडा एमालेले जित्छ भन्ने सर्वसाधारणको अनुमान थियो ।

कीर्तिपुर नगरपालिकाबाट यहाँ आफैं मेयरको आकांक्षी हुनुहुन्थ्यो, किन र कसरी खोसियो टिकट ?

– त्यसको मूल्यांकन आगामी दिनमा होला । पार्र्टीले युवालाई उठाउने भन्ने सोचेको होला । पार्र्टीको उम्मेदवारलाई कीर्तिपुरका सर्वसाधारण जनताले अप्रत्यासित मानेका थिए । किन यस्तो भयो भनेर केन्द्रीय तहमा बसेर हामीले कुरा गरेका छैनौं । हामी इमान्दार कार्यकर्ता हौं । पार्र्टीले जे–जसो लगायो, त्यही गर्ने हो । दिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै आइएको हो तर अहिले जुन परिणाम आयो, यो सुखद रहेन ।

एमालेले बालकोटको ठाडो आदेशमा केशररत्न बज्राचार्यलाई उम्मेदवार त बनायो तर लालकिल्ला जोगाउन सकेन । किन यस्तो परिणाम आयो ? आन्तरिक घातप्रतिघात पनि कारक हो ?

– हामीले कम्तीमा पाँच–सात वडा त जित्छौं होला भन्ने अपेक्षा राखेका थियौं । माओवादीलाई दुई सयदेखि दुई सय पचाससम्म मत सातै छाप गएको देखिएको छ । केही आन्तरिक समस्याका कारण त्यस्तो परिणाम आएको हुन सक्छ ।

५ वर्षअघि नयाँ शक्तिबाट आएका, हिजो एमालेलाई हराउनका लागि वडाध्यक्ष उठेका, यस्तै प्रदेश सभामा उठेर एमालेलाई हराउन लागिपरेका, विवादास्पद छविका अयोग्य व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता के रहेछ नेतृत्वलाई ?

– यो विषय मलाई भन्दा पनि सम्बन्धित ठाउँमा सोध्दा राम्रो होला ।

तर, एमालेलाई घाटा लाग्यो नि !

– परिणामले त त्यही देखाउँछ तर त्यही मात्र प्रधान कारण नहोला ।

तपाईंहरूले एक कार्यकाल हाँकिसकेको पालिका हो कीर्तिपुर तपाईंहरूले काम गर्न नसकेर अहिले यस्तो परिणाम आएको त हैन ?

– हामीले सबैलाई खुशी पार्न सकेनौं होला तर अन्य पालिकाको तुलनामा हाम्रो काम गराइबाट यहाँका जनता खुशी नै छन् भन्ने लाग्छ ।

गठबन्धन मात्र हारको कारण हो वा टिकट वितरणमा नेतृत्वको स्वेच्छाचारिता पनि ?

– जनतालाई चित्त नबुझेको एउटा कारण त्यो पनि हो । जनताले एक जना उम्मेदवारको अपेक्षा गरेको हुन्छ । उम्मेदवार अर्कै हुँदा गुनासो रहन सक्छ ।

लठ्ठी उठाए पनि जितिन्छ भन्ने नेतृत्वको खेलाँचीको शिकार भएको हो उसो भए ?

– जसले पठाइदिनुभयो । उहाँलाई नै सोध्दा होला । पार्र्टीले जसलाई उठाए पनि हामीले बोक्नेसम्म न हो !

काठमाडौं उपत्यकामा जम्मा ५२ प्रतिशत मात्र मत खसेको देखियो । ०७४ सालमा जत्तिको मत पनि खसेन । जनतामा मतदानप्रति किन अनिच्छा भएको होला ?

– कीर्तिपुरमा अघिल्लो पटक र अहिले पनि ८० प्रतिशतकै हाराहारीमा मत खसेको छ । काठमाडौं महानगरपालिकाको कुरा गर्ने हो यहाँ १५ देखि २० प्रतिशत माइग्रेटेड जनसंख्या छ । मलाई लाग्छ, उहाँहरूको दुबैतिर मतदाता नामावली छ ।

०७४ सालमा तीन चरणमा निर्वाचन भएको थियो । पहिलो चरण काठमाडौंलगायत स्थानमा, दोस्रो चरण सुदूरपश्चिमका स्थानीय तह र तेश्रो मधेश प्रदेशमा तर अहिले एकै चरणमा निर्वाचन भयो । प्रायःजसो गाउँतिर लाग्नुभयो भन्ने मेरो अनुमान छ । त्यही कारण काठमाडौंमा खस्नुपर्ने जति मत हुनुपर्छ ।

कम मत खस्नुमा दलीय विभाजन र गुटको असर पो हो कि ?

– दलीय विभाजनले त झन् धेरै मत खस्नुपर्ने हो । विभाजित भएर जानुभएकाहरूको मुख्य उद्देश्य एमालेलाई हराउने भएकोले झन् धेरै मत खस्नुपर्ने हो ।

काठमाडौंका दशवटा पालिकामध्ये ४ स्थान छाडेर अरुमा एमालेले उम्मेदवार दोहो¥याएको देखियो । तपाईहरूलाई मात्रै किन छुटाइएको होला ?

– जुन तहले उम्मेदवार बनाएन, त्यही तहमा सोधपुछ गर्दा राम्रो होला । हामीले टिकट किन पाएनौं भनेर माथिल्लो निकायसँग कुराकानी भएको छैन । चाहे कीर्तिपुर होस् वा काठमाडौं महानगरपालिकाकै हकमा होस् । परिणाम त सुखद देखिरहेको छैन । पार्र्टी यो स्थितिमा पुग्नुको विभिन्न कारणहरूको समीक्षा भोलि पार्र्टी, नगर, जिल्ला र केन्द्रीय कमिटीले गर्लान् ।

हिजो नेकपा विभाजनपछि केही समय प्रचण्ड, माधव नेपाल समूह हुँदै केही समय वामदेवको एकता अभियानमा पनि लाग्नुभयो । तपाईंहरूले टिकट नपाउनुको कारण यही त हैन ?

– माधव नेपालपट्टि त म लागेको होइन । पार्र्टी दुई वटा फ्याक्टमा गएपछि त्यतातिर लाग्नु हुँदैन भनेर दुई–तीन महिना वामदेव गौतमको अभियानमा लागेका हौं । त्यसपछि पुरानै घरमा फर्कियौं । त्यतिखेर कीर्तिपुर नगरपालिकाका एक जनाबाहेक सबै जनप्रतिनिधि संस्थापन पक्षतिर फर्किएका हौं ।

अहिलेका नवनिर्वाचित उम्मेदवारबाट के अपेक्षा राख्नुहुन्छ ?

– विकास निर्माण निरन्तर चल्ने प्रक्रिया हो । सम्पदाको क्षेत्रमा उल्लेखनीय काम गरेका छौं, शिक्षाका क्षेत्रमा स्थानीय पाठ्यक्रम निर्माण गरेका छौं । स्थानीय भाषामै विभिन्न विद्यालयका पाठ्यक्रम बनाएर लागू गरेका छौं । व्यवस्थित बसोबासका लागि जग्गा एकीकरणको काम शुरु गर्न सकेनौं डिपिआरका कारण । खानेपानीको सवालमा मेलम्ची आइसकेपछि अहिले खासै समस्या छैन ।

ढल निकास सबै बन्ने क्रममा छ । वर्षा रोकिएपछि सबै सडक पिच हुनेछ । सुख्खा बन्दरगाह फुल फेजमा चल्ने, दोश्रो चक्रपथ कीर्तिपुर सुरु गर्ने भन्ने थियो त्यो गर्न सकेनौं । जग्गाधनीको झगडाका कारण ६० जनाले लालपुर्जा पाउनुभएको छैन । त्यसलाई प्राथमिकतामा राखेर काम गर्नुहोला भन्ने लाग्छ । यस अलावा समस्त कीर्तिपुरको उत्थानमा लाग्न सक्नुहोस् भन्ने शुभकामना छ ।

विगतमा एउटै पार्र्टीबाट मेयर र उपमेयर भएका पालिकामा झनै बढी खटपट देखिन्थ्यो । कीर्तिपुरमा तादात्म्यता कसरी मिलेको थियो ?

– हामी टिम वर्कमा विश्वास गथ्र्याैं । कुनै काम गर्नुपूर्व उपमेयर, वडाध्यक्षसँग औपचारिक र अनौपचारिक सरसल्लाह हुन्थ्यो । टिमवर्कमा काम गरेका कारण कहीँ–कतै त्यस्तो टसल देखा पर्न दिएनौं । कतिपय स्थानमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर जाँदा विवाद निस्कने हो, हाम्रोमा त्यस्तो रहेन ।

एमालेले अहिलेसम्म प्राप्त गरेको मत परिणामलाई यहाँले कसरी लिनुभएको छ ?

– पार्र्टीभित्र विभाजन आएको छ । नेकपा एसको नाममा विभाजनमा जानुभएका साथीहरूको नीति जसरी पनि एमालेलाई हराउनुपर्छ भन्ने छ । त्यसले पनि ठूलो असर गरेको छ । अर्काेतिर गठबन्धन थुप्रै ठाउँमा भएका छन् । हामीकहाँ तीन वटा ठूला दल छन् । दोश्रो र तेश्रो दल मिलेपछि हामीलाई हराउन सक्ने मत उहाँहरूसँग छ । त्यही कारण पहिले जितेका थुप्रै ठाउँमा हामी दोश्रो स्थानमा छौं ।

कीर्तिपुरकै हकमा पनि हामी पहिलो बनेका थियौं विगतमा । अहिले दोश्रो र तेश्रो दल मिलेर हराउने आधार बनेको छ । कुनै १२, कुनै ०३६ मतले जितेको स्थानमा अहिले उहाँहरूको अघोषित गठबन्धन भएपछि हार्नु स्वाभाविक हो । अहिले जुन खालको मत परिणाम एमालेले पाएको छ त्यसको गम्भीर सिंहावलोकन गरेर अगाडि बढ्नुको विकल्प छैन । कमजोरी जानेर वा नजानेर जसरी भएको भए पनि आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ ।

काठमाडौंका माननीय रामवीर मानन्धर पनि मेयरका आकांक्षी हुनुहुन्थ्यो । उहाँले टिकट नपाएकै कारण केशव स्थापितलाई हराउन लाग्नुभयो भन्ने चर्चा पनि छ । वास्तविकता के हो ?

– चुनावको समयमा हामी कीर्तिपुरमा व्यस्त रह्यौं । त्यताको थाहा भएन ।

अब एमाले कसरी अगाडि बढ्नुपर्छ ?

– अबको पाँच ६ महिनामै प्रदेश र संघको चुनाव आउँदै छ । यहीअनुसार जनताको असन्तुष्टि, कार्यकर्ता पंक्तिको असन्तुष्टिलाई पालिकादेखि केन्द्रीय कमिटीसम्मले गम्भीरतापूर्वक लिएर अहिले भएका कमजोरी सुधार्नु जरुरी छ ।

टिप्पणीहरू